close

हामी बोल्ने छौँ तल्लो तप्काको बोली

हामी बोल्ने छौँ तल्लो तप्काको बोली

Trulli
ADVERTISEMENT

बैभन्दा पहिले, नेपाल संघीय गणतन्त्रमा रूपान्तरित भएपछि दोस्रो पटक सम्पन्न स्थानीय तह निर्वाचनमा जित हासिल गर्ने समस्त जनप्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना ।

निर्वाचन कहिल्यै एक्लै लडिँदैन । प्रतिस्पर्धी बिनाको निर्वाचन न सुन्दर हुन्छ, नत लोकतान्त्रिक नै । प्रतिस्पर्धा बिना लोकतन्त्रले कहिल्यै स्थायित्व ग्रहण गर्न सक्दैन । त्यसैले स्थानीय तह निर्वाचनमा उठेर हार व्यहोरेकालाई पनि बधाई ! अनि नवनिर्वाचित जनप्रतिनिधिहरूलाई जितको उन्माद त्याग्न आग्रह पनि । हारेकाले पनि पाँच वर्षसम्म आफ्नो गाउँ र नगरलाई समृद्धिको मार्गमा हिँडाउन निरन्तर सकारात्मक खबरदारी गर्न सकुन्, यो पनि कामना !

पालिका खबर मिडिया हाउसको समाचार टिमको नेतृत्व गर्न पाउनु आफैँमा सुखद पक्ष हो । त्यसमाथि समाजको अगाडि बोल्न नसक्ने वा बोल्न नै नदिइने तल्लो वर्गको आवाजलाई माथिल्लो तप्कासम्म पुर्‍याउने उद्देश्यबाट सञ्चालित सञ्चार माध्यमसँग आबद्ध हुँदा थप जिम्मेवारी बोध अनि रोमाञ्चक हुनु स्वाभाविकै पनि होला ।

केही दिन अघि फेरि एक पटक मनाइएको गणतन्त्र अब शिशु छैन । ताते ताते गरेर हिँड्ने बालक रहेन । क्रमशः यो युवा बन्दै छ । भन्ने हो भने अब हाम्रो गणतन्त्र त्यस्तो अवस्थामा पुगेको छ, तातेर सेलाउन ठिक्क परेको मैन जस्तै । अब यसलाई कस्तो आकार दिने ? सही या गलत कस्तो मार्गमा हिँडाउने ? यो सबै हाम्रो हातमा छ ।

निकै लामो समय व्यथित भइसक्यो, नेपालमा राजनीतिक स्थिरता आउन नसकेको । अझ भनौँ, अहिलेको युवा पुस्ता त अस्थिर राजनीति भोग्दा भोग्दै बिरक्तिएका छन् । स्थानीय तह निर्वाचनमा हर्क सम्पाङ, बालेन साह, गोपाल हमालको जितबाटै उनीहरूको मनोभाव बुझ्न सकिन्छ । अस्थिरताका कारण अनेकौँ छन् । त्यसमध्ये एउटा हाम्रो राजनीतिज्ञमा रहेको सत्ताको चरम लोभ पनि हो । सत्तामा पुर्‍याउने जनताले सडकमा नांगेझार पनि बनाउन सक्छन् भन्ने उदाहरण अहिले ठुला सहर बाहेक अन्य केही पालिकाका मतदाताले पनि देखाएका छन् । आफ्नो विवेकलाई बन्धक नराखी मतदान गर्ने मतदातालाई पनि बधाई !

पत्रकारिताको धर्म खबरदारी गर्नुका साथै राम्रोलाई राम्रो अनि नराम्रोलाई नराम्रो भन्न सक्नु पनि हो । तर, अहिले हाम्रो पत्रकारिता नै मार्गबाट विचलित बने झैँ भएको छ । राजनीतिक दलको छायाँ झैँ बनेको छ । 

पत्रकारिता कै माध्यमबाट समाजका तल्लो तप्काको चेतना स्तरमा सुधार त ल्याउन सकिन्छ । तर, मानिसको मस्तिष्कमा जमेर रहेको स्वार्थ र दम्भलाई सफा गर्न सकिँदैन । 

हुनत म र मेरो टिम पनि निष्पक्ष छैनौँ । हामी सधैँ जनताको पक्षमा उभिन्छौँ । जनताको बोली बोल्छौँ । राज्य संचालन गर्ने तल्लोदेखि माथिल्लो तहसम्मलाई शिष्ट र मिठो भाषामा खबरदारी गरी रहन्छौँ । 

हो जनताको सुख दुख सतहमा ल्याउँदा हामी निष्पक्ष बन्ने छैनौँ । हामीले जनताको आवाज बाहिर ल्याउँदा कतिपयका गाला रातो पनि बन्लान् । हामी केही शासकको विरोधी पनि देखिन सक्छौँ । तर, त्यसमा हामीलाई दुख लाग्ने छैन ।  

पत्रकारिता कै माध्यमबाट समाजका तल्लो तप्काको चेतना स्तरमा सुधार त ल्याउन सकिन्छ । तर, मानिसको मस्तिष्कमा जमेर रहेको स्वार्थ र दम्भलाई सफा गर्न सकिँदैन । 

उदाहरण हाम्रै सामु छर्लङ्ग छ । हुनत हाम्रा पूर्वज र समकालीनले कलम कै माध्यमबाट व्यवस्था परिवर्तनको आँधी चलाए । सफलता पाए । तर, राजनीतिक दलका केही नेतामा सामन्तको अवशेषका रुपमा जरा गाडेर बसेको सोचमा परिवर्तन ल्याउन सकिएन । त्यसैले कलमबाट मात्रै मानिसको मस्तिष्कमा जमेर रहेको कपटको जालो हटाउन सकिँदैन भन्नु अनर्थ नहोला । तर, त्यस्ता नवसामन्तहरूलाई खबरदारी गर्दा कहिल्यै थाक्ने छैनौँ ।

बस्, यहाँहरूको साथको अपेक्षा छ ।

धन्यवाद !

चेतन पाण्डे

प्रधान सम्पादक