close

समयमै मल पाउँदा दंग छन् किसान

समयमै मल पाउँदा दंग छन् किसान

Trulli
ADVERTISEMENT

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ की रमा श्रेष्ठले गत वर्ष मल अभावमै जेनतेन खेतबारी गोड्मेल गर्न भ्याइन् । मलका लागि ठाउँ–ठाउँमा पुग्दा पनि कतै भेट्याउन सकिनन् । 

 

तर, यो वर्ष समयमै मल पाएर खेतबारी गोडमेल गरी भ्याएकी छन् । ‘गत वर्ष मलका लागि यताउता भौतारिएँ तर पाइनँ’, उनले भनिन्, ‘यो वर्ष समयमै मल पाएर खेतबारी गोडमेल गरेपछि उत्पादन राम्रै होला भन्ने विश्वास छ ।’

 

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ का पूर्णलाल चौधरीको पनि गत वर्ष मल आउला र खतबारी गोडमेल गरौँला भन्दाभन्दै साउन बितेको थियो । मल नपाउँदा सोचेजति उत्पादन लिन नसकिएको उनी सुनाउँछन् ।

 

‘गत वर्ष मल कुर्दा–कुर्दा साउन सकिनै लागेको थियो,’ उनले भने, ‘पछि अन्तिममा कता–कताबाट महँगो मूल्य तिरेर खेतबारी गोडमेल गरेँ । अहिले समयमै मल आउँदा खुसी छु ।’

 

गत वर्ष रासायनिक मल नपाएर भौतारिएका किसान यो वर्ष समयमै पाएपछि बाली सप्रिने आशमा छन् । किसानलाई कृषि सामग्री लिमिटेड सुर्खेतले यो वर्ष समयमै मल उपलब्ध गराएको हो । यो वर्ष समयमै मल पाएपछि खेतबारी गोडमेल गर्न सकिएको वडा नम्बर २ की रमा उपाध्याय सुनाउँछिन् ।

 

गत वर्ष मल अभावले पिरोलेको थियो । यो वर्ष भने खासै दुःख भएन । खेतबारीमा राख्न चाहेजति मल पायौँ’, उनले भनिन्, ‘समयमै खेतबारीमा मल छर्दा उत्पादन बढ्ने आश छ ।’

 

साउनमा मात्र कर्णालीमा ६ सय मेट्रिक टन मल भित्रिएको छ । यसमा ४ सय ८८ मेट्रिक टन युरिया, ९७ मेट्रिक टन डिएपी र २१ मेट्रिक टन पोटास गरी ६ सय मेट्रिक टन कृषि सामग्री कम्पनीमा आइपुगेको सूचना अधिकारी सुन्दर केसीले बताए । 

 

उनले भने, ‘गत वर्ष व्यवस्थापनको पाटो नमिल्दा मल वितरणमा समस्या भएको थियो । तर, यो वर्ष पर्याप्त मात्रामा मल आइसकेको छ । वितरण पनि सहज रूपमा भइरहेको छ ।’ यो वर्षको बर्खामा किसानले मागेजति मल वितरण भइरहेको उनले जानकारी दिए ।