close

फर्ममै बर्ड फ्लु भेटिएपछि ८ सय बढी कुखुरा नष्ट

फर्ममै बर्ड फ्लु भेटिएपछि ८ सय बढी कुखुरा नष्ट

Trulli
ADVERTISEMENT

धरान–सुनसरीको दुहबीस्थित एक कुखुरा फर्ममा बर्ड फ्लु देखिएपछि ८ सय बढी कुखुरा नष्ट गरिएको छ । दुहबी नगरपालिका वडा नम्बर ३ स्थित सन्देश कृषि फर्ममा रहेका ८०० बढी कुखुरा मारेर नष्ट गरिएको हो । फर्ममा रहेका कुखुरामा बर्ड फ्लुको पुष्टि भएपछि बर्ड फ्लु नियन्त्रण समिति सुनसरीको बैठकले नष्ट गर्ने निर्णय लिएको थियो । 

 

निर्णयअनुसार फर्ममा रहेका ८०० बढी कुखुरा नष्ट गरिएको दुहबी नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख शिवहरि अधिकारीले बताए । 
अधिकारीका अनुसार फर्ममा रहेका ८२० वटा बोइलर र १५ लोकल कुखुरा मारेर खाल्डोमा जलाइएको थियो । त्यस्तै, एक क्रेट अन्डा, ७ बोरा कुखुरालाई खुवाउने दाना पनि गाडिएको छ । फर्मलाई स्यानिटाइज गरेर सिल गरिएको उनले बताए । स्यानिटाइज गरिएको फर्मलाई ४२ दिनसम्म सिल गरिनेछ ।

 

बर्ड फ्लु नियन्त्रण समितिले फर्मलाई केन्द्र मानेर पूर्वमा सोनापुरदेखि कदमगाछी जाने कच्ची सडकको सिमाना, पश्चिममा बाँसघारी र सानो खोल्सीको सिमाना, उत्तरमा बाँसघारी र दक्षिणमा दुर्गा, पचु खानको घर र बासघारीसम्म चार दिशा कायम गरेको छ । त्यस क्षेत्रभित्र अन्य फर्म तथा खोर भेटिए त्यहाँ भएका कुखुरा, हाँसलगायत सबै नष्ट गरिने अधिकारीले बताए ।