close

दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तित

दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तित

Trulli
ADVERTISEMENT

भोजपुर । उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढे पनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि दूधको मूल्य भने विगत १० वर्षदेखि मूल्य समान रहेको किसानको गुनासो छ ।

बजार मूल्य वृद्धिका आधारमा दूधको मूल्य पनि बढाउनुपर्ने भोजपुर नगरपालिका–४ शिद्धेश्वरमा व्यावसायिक रुपमा पशुपालन गरिरहेका स्थानीय गणेश विष्टले बताए । पशुलाई खुवाउनुपर्ने दानाको भाउको मूल्य वृद्धि भए पनि दूध भने दशवर्ष अघिकै मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

२४ वर्षीय किसान विष्टले पाँच वर्षदेखि व्यावसायिक रुपमा गाईपालन गर्दै आएको छ । उनले भने,‘‘अन्य वस्तुको बजार मूल्य धेरै बढेको छ । गाईबस्तुलाई खुवाउने दानामा २५ देखि ३० प्रतिशतसम्म मूल्य बढेको छ । तर दूध भने पहिलाकै मूल्यमा बिक्री गर्दै आएको छु । यसको कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था छ ।’’बजारमा दूधको मूल्य ७० देखि १०० सम्म भए पनि आफूले भने ४५ देखि ५५ सम्म मात्र पाउने गरेको उनको भनाइ छ ।

सरोकारवाला पक्षले दूधको मूल्य वृद्धि ध्यान नदिए पनि दुग्धजन्य वस्तुको मूल्यमा वृद्धि गर्न भने लागि परेको उनको भनाइ छ । खाने तेल, घ्यु, पनिर, छुर्पीको मूल्य दोब्बरले वृद्धि हुँदा किसानले पाउने मूल्य भने समान रहेको विष्टको भनाइ छ । 

केही किसानले दूध उत्पादनको लक्ष्य लिएर व्यावसायिक रुपमा पशुपालन गरिरहेका छन् । तर ती किसान पनि लगानी तथा मेहनत अनुसारको आम्दानी लिन नसकेको गुसानो गर्छन् । उनीहरुलाई उत्पादित दूध सहजरुपमा बजारसम्म जैलाने वातावरण छैन् । सदरमुकाम आसपासमा पर्ने बोखिम, दावा, पोखरे, खुरिला, ढुङ्गेलगायत ठाउँका मानिस पराम्परागत रुपमा भए पनि पशुपालन व्यवसाय गरिरहेका छन् । तर उनीहरुमध्ये बजारमा ल्याएर दूध बिक्री गर्न कमै मात्र उत्सुक देखिन्छन् ।

ग्रामीण भेगमा प्रशस्त मात्रामा दूधको उत्पादन भए पनि सडक तथा अन्य विविध कारणले किसानले बिक्री गर्न असम्भव छ । बजारमा लैजान समस्या हुने भएपछि ती भेगका मानिस खास व्यावसायिक रुपमा दूध उत्पादनमा लागेका छैनन् । स्थानीय सरकारले उपयुक्त वातावरण मिलाई दिए व्यावसायिक रुपमा लाग्ने किसान बताउँछन् । 

बजारसम्म दूध ल्याएर बेच्न किसानलाई सडकको समस्या छ । केही समय बजारमा ल्याएर दूध बेच्न थालेका किसान पछिल्लो समयमा आएर बेच्न छाडेको अनुभव सुनाउँछन् । एकदेखि डेढ घण्टा लगाएर बिक्री गरेको दूधको खास आम्दानी नहुने भोजपुर नगरपालिका–५ बोखिमका किसान रुपनारायण फूँयालले बताए । 

व्यावसायिक रुपमा दुग्ध व्यवसाय सञ्चालन गरेकाले दही, घ्यु, पनिर, छुर्पीलगायत मूल्य बर्सेनि बढाए पनि दूधको मूल्य बढाएर दिन नमान्ने समस्याले पनि दूध बिक्री गर्न छाडेको स्थानीय किसान थापा धनबहादुर थापाको भनाइ छ ।