close

विदेशबाट फर्केर रेन्बो ट्राउट माछापालन

विदेशबाट फर्केर रेन्बो ट्राउट माछापालन

Trulli
ADVERTISEMENT

म्याग्दी । मालिका गाउँपालिका–३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा विदेशबाट फर्केका तीन  युवाले गरेको रेन्बो ट्राउट माछापालन यस क्षेत्रकै नमूना माछापालन व्यवसाय बनेको छ ।

दश वर्ष कतार र मलेसियामा बिताएका पूर्णबहादुर रोका, बहराइनबाट फर्किएका तेजेन्द्र बुढा र कतारबाट दुई वर्ष पसिना बगाएर गाउँ फर्केका हरिबहादुर रोकाले संयुक्त लगानीमा गरेको माछापालन यस क्षेत्रकै नमूना माछापालन बनेको हो ।

टिमुरेखोला नजिकै बनाइएको पोखरीमा पाँच हजार माछाका भुरा हुर्किएपछि उत्साहित युवाहरू थप पोखरी निर्माणमा जुटेका छन् । विदेशमा बगाएको पसिनाबाट सन्तुष्ट हुन नसकेपछि गाउँघरमै खेर गएको जमिनको सदुपयोग गर्ने गरी फर्किएर माछापालन सुरू गरेको हरिबहादुरले बताए । 

“माछाका अण्डा ल्याएर व्यवसाय सुरु गरेका थियौँ, अहिले निकै राम्रो भएपछि थप संरचना थप्दैछौँ”, उनले भने । उनले दूधजस्तै सङ्लो र सफा अनि चिसो पानी भएकाले उत्पादन राम्रो भएको जानकारी दिए । खाडीमा बगाएको पसिनाभन्दा गाउँघरकै हावापानीमा व्यवसाय गर्ने पहिलो प्रयास सफल भएपछि तीनैजना युवा उत्साहित छन् । 

उनले माछापालन, रेष्टुरेन्टसहित अन्य कृषिजन्य उत्पादनको सोचसमेत बनाए । हालसम्म सात लाख लगानी भएको छ भने थप २० लाख लगानी थप्ने योजना रहेको उनले बताए । ट्राउट माछा लोकप्रिय र सबैको रोजाइ रहने माछा हो । खानमा स्वादिलो, बीचबाहेक काँडा नहुने र प्रोटिनयुक्त पोषिलो माछाका रूपमा ट्राउटलाई लिने गरिएकाले गाउँघरका साथै दरबाङ र बेनीबजारमा समेत उच्च माग छ ।