close

माइतीको खेतमा रमाएका चेलीकाे कथा

माइतीको खेतमा रमाएका चेलीकाे कथा

Trulli
ADVERTISEMENT

भक्तपुर । पुलसँगैको खेतमा केही महिलाको चहलपहल छ । 

तीमध्ये केही काटेको धान ओसार्दै छन्, केही ढुंगामाथि धानका बाला बजारेर धान झार्दै छन्, केही परालको कुनिउँ लगाउँदै छन् त केही बताउँदै/केलाउँदै छन् । भक्तपुरको नगरपालिका बाराही पुलनजिकै देखिने यो दृश्यले जोकोहीलाई पनि लोभ्याउँछ ।

दृश्यमा देखिएका महिला सबै एकै परिवारका सदस्य हुन् । त्यसमा पनि माइतीको धान भित्र्याउन जम्मा भएका चेलीबेटीको संख्या अधिक छ । त्यसैमध्येकी एक चेली हुन् पञ्चलक्ष्मी चौगुठी । 

घरका सबै छोरा मान्छे जागिर खान जाने भएकाले महिलामात्रै जम्मा भएर धान भित्र्याएको पञ्चलक्ष्मी चौगुठीले बताइन् । ‘यो हाम्रो माइतीको खेत हो ।उनले भनिन्, ‘हामी सबै विवाह गरेर गए पनि माइतीको धान काट्न जम्मा भएका छौँ । बुहारीहरु पनि आएका छन् ।’ उनको यो भनाइको पछाडि अर्को रहस्य छ। जसले कर्मघर गएका यी चेली हरेक वर्ष माइत आएर यसैगरी धान भित्र्याउँछन् । 

काकाले कब्जामा लिएको खेत आफूहरुले स‌ंघर्ष गरेर फिर्ता ल्याएकाले आफूहरु हरेक वर्ष यसरी धान भित्र्याउन आउने गरेकाे उनले जानकारी दिइन् । पहिले परिवारका सदस्य थोरै र खेत धेरै हुने भएकाले टोलका मान्छे जम्मा भएर धान काट्ने गरे बताउँदै अहिले थोरै जग्गा भएकाले परिवारको सदस्य मात्रै जम्मा भएर काम गर्ने गरेको उनको भनाइ छ । 

तर, समय आधुनिक आए जनशक्ति अभावका कारण आफूहरुले पुरानै शैलीमा धान छिटेकाे उनले बताइन् । 

विगत सम्झिँदै उनले भनिन्, ‘पहिले केटी मान्छेले धान काट्थ्ये । धान सफा गर्थे। केटा मान्छेले धानको अँगालो बोक्ने, चुट्ने र ओसार्ने गर्दथे,’ उनले भनिन्, ‘तर,अहिले खेतमा काम गर्ने मान्छे पाइँदैनन् ।’

ढुंगामा चुटेर निकालिन्थ्यो धानको बिउ

पछिल्लो समय धान काट्न र चुट्नका लागि विभिन्नखाले मेसिन प्रयोग भए पनि सुरुमा ढुंगामा धान चुट्ने प्रचलन रहेको कान्छी शिल्पकारले बताइन् । उनका अनुसार किसानले पहिले पहिले ढुंगामा चुटेर धानको बिउ निकालिन्थ्यो । तर, पछिल्लो समय बोटमा काटेर बिउ निकालिन्छ । ‘बिउका लागि ढुंगामा एक पटक चुट्दा जति झ¥यो, त्यसलाई बिउको रुपमा प्रयोग गरिन्थ्यो,’ उनले भनिन् । 

यसरी झारिएको धानको बिउ अर्को साल राम्रोसँग फल्ने गरेको उनको भनाइ छ । 

हराउँदै रैथाने धानको बिउ 

पछिल्लो समय धानको बोटमै बिउ काट्दा राम्रो बिउ नआउने गरेको सरस्वती चौगुठीले पालिकाखबरलाई सुनाइन् । हाइब्रिड बिउले स्थानीय धान जोगाउन नै मुस्किल भएको सरस्वती चौगुठीले बताइन् । 
‘पहिले धेरै खेत हुन्थ्यो । ताइचिन, मन्सुलीलगायत धानको रोपिन्थ्यो,’ विगत स्मरण गर्दै उनले भनिन्, ‘अहिले खेत घटेकाले धेरै उत्पादनका लागि हाइब्रिड बिउँ रोपिन्छ ।’
हाइब्रिड बिउबाट धेरै उत्पादन हुने भए पनि गुणस्तरीयता भने नहुने उनको भनाइ छ । 

हाइब्रिडका लागि युरिया मल धेरै चाहिने उनको अनुभव छ । यस वर्ष समयमै मल  नआएको र बिउ पनि नक्कली परेकाले उत्पादन घटेको उनले बताइन् । 
५÷६ वर्षदेखि हाइब्रिड धान मात्रै रोप्ने गरेकाले रैथाने धानको बिउ हराउँदै गएको राममाया तसिजुले बताइन् । 

रोप्न र गोडमेल गर्न सजिलो हुने, मान्छे थोरै कम लाग्ने भएकाले आफूहरूले हाइब्रिड लगाउने गरेको उनले बताइन् । तर, चिउरा बनाउनका लागि मात्रै ताइचिन धान लगाउने गरेको उनले जानकारी दिइन् । मन्सुली धानको बिउ हराइसकेको बताउँदै उनले भनिन् ‘अहिले मन्सुली धान कसैले पनि रोप्दैनन् । बिउ पनि हराइसक्यो ।’