close

फूल खेल्ने बेलामा अविरल वर्षाका कारण धानमा लागेन दाना

फूल खेल्ने बेलामा अविरल वर्षाका कारण धानमा लागेन दाना

Trulli
ADVERTISEMENT

स्याङजा । पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसानहरू चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका-१४ को हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो ।

स्थानीय बजारका एग्रोभेट पसलहरूबाट ‘युएस ३१२’ जातको हाईब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताए । 

बिगत २–३ वर्षदेखि यही जातको धान लगाउँदै आए पनि अरुबेला उत्पादन राम्रो भएको तर यसपटक धानमा दानानै नलागेको हो ।

‘बिगतमा पनि यही धान लगाउँदै आएको थिएँ यसपटक पनि यही धानको बिउ ल्याएर ब्याड राखी असार ३१ गते धान रोपेको हुँ’ उनले भने, ‘यसपटक त के भयो–भयो, पराल हरियै छ तर धान पसाएर नुग्ने बेलामा नुग्दै नुगेन ।’

यस ठाउँमा डुम्रेको सात रोपनी र अन्य तीन जना कृषकको दश रोपनी गरी कूल १७ रोपनी क्षेत्रफलमा लगाइएको धानमा दाना नलागेको वालिङ नगरपालिकाका कृषि प्राविधिक केशबहादुर थापाले बताए।

कृषकले धानमा दाना नलागेको भन्ने खबर गरेपछि सम्बन्धित खेतमै पुगेर अनुगमन तथा निरीक्षण गरेर फर्किएको उनले बताए । ‘यो ठाउँमा अन्य कृषकहरूले लगाउनुभएको उही जातको धान राम्रो फलेको छ तर चार जना कृषकहरूको खेतमा लगाईएको धानमा दाना नै छैन’ उनले भने । 

‘युएस ३१२’ जातको हाईब्रिड धान यस ठाउँका लागि उपयुक्त भए पनि ढिलो रोपेकाले पनि समस्या देखिएको उनको दावी छ । केही दिन अघि रोपिएको खेतमा धान राम्रो भएको तर ढिलो रोपिएको साथै फूल खेल्ने बेलामा ४/५ दिनको अविरल वर्षा मुख्य कारण भएको उनी बताउँछन् ।