close

भटमास खेतीबाट मनग्य आम्दानी

भटमास खेतीबाट मनग्य आम्दानी

Trulli
ADVERTISEMENT

दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरे भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आएका छन्।  गत वर्ष उनले दुई विघा जग्गामा भटमास खेती गर्दा करिव डेढ लाख रुपैयाँ आम्दानी गरेका थिए। यस वर्ष उनले भटमास खेतीबाटै तीन लाख ५० हजार रुपैयाँ आम्दानी गरे । 

थोरै मिहिनेतमा धेरै आम्दानी हुने भएकाले भटमास खेतीलाई निरन्तरता दिदै आएको घिमिरे बताउँछन् । भारतको पन्तनगरबाट भटमासको बीउ ल्याएर यस क्षेत्रका किसानले भटमास खेती गर्दै आएका छन् ।

 “भटमास खेतीका लागि माटो उयुक्त छ” अर्का किसान महेश घिमिरे भन्छन्, “आधुनिक तरिकाले भटमास खेती गर्नका लागि किसानलाई तालिमको आवश्यकता छ, किसानको क्षमता वृद्धि भए उत्पादन बढाउन सकिन्छ ।”

 उनका अनुसार दोधारा चाँदनी भटमास खेतीको हवका रुपमा विकसित भैरहेको छ । यहाँ उत्पादन हुने भटमास नेपालगञ्ज र धनगढीका व्यापारीले खरिद गरेर लैजाने गरेका छन् । भटमास खेतीमा संलग्न किसान दीपक सापकोटाका अनुसार यो  खेती गर्दा त्यतिधेरै  सिचाईको आवश्यकता पर्दैन । 

 “गाईबस्तुले भटमासका विरुवा खादैनन्” उनले भने, “छाडा चौपायाले खाने समस्या हुदैन, थोरै गोडमेलले पुग्छ, थोरै परिश्रममा धेरै उत्पादन हुनाका साथै  मनग्य आम्दानी पनि यस खेतीबाट लिन सकिन्छ ।” तीन वर्षदेखि भटमास खेती गर्दै आएका दुई लाख रुपैयाँभन्दा बढी भटमास बचेर आम्दानी गर्दै आएका छन् । 

“भटमास खेती पहाडी क्षेत्रमा मात्रै हुने गरेको थियो” दोधाराकै किसान हरिनारायण तिवारीले भने, “निकटबर्ती क्षेत्रका भारतीयहरुले भटमास खेती गरेको देख्यौँं र  त्यसकै अनुसरण गर्दै परीक्षणका रुपमा खेती गर्न लाग्यौँ, उत्पादन राम्रो भएपछि यसलाई निरन्तरता दिदै आएका छौँ।”
 दोधारा चाँदनीमा करिव सय बिघा जग्गामा भटमास खेती हुने गरेको छ । भटमास काट्न र चुटनका लागि स्थानीय किसानले उपकरणको  प्रयोग गर्ने गरेका छन् । 

फल र पातमा रोग किराको प्रकोप देखिने भएकाले तीनदेखि चार पटकसम्म विषादी छर्कनु पर्ने अवस्था रहेको किसान तिवारीले बताए । रोग तथा  किरा रोकथामका लागि  सल्लाह र सुझाव लिन भारतीय प्राविधिकको भर पर्नुपर्ने उनको भनाइ थियो  । 

भटमासबाट तेल र सोयाविन बन्ने गरेको छ । भटमास प्रतिकिलो रु एक सयका दरले बिक्री हुने गरेको छ । भटमास खेतीमा सम्लग्न किसानले सुदूरपश्चिम क्षेत्रमै भटमासबाट सोयाविन र तेल निकाल्ने उद्योगको माग गर्दै आएका छन् ।
 

भटमासलाई बहुउपयोगी कोशेवालीका रुपमा लिइने गरिन्छ । घरमा भटमासको गेडा भुटेर, अचार बनाएर, उसिनेर खाने गर्नाका साथै दालका रुपमा प्रयोग गरिँदै आइएको छ ।
 

कृषि प्राविधिक करन सिंह बुढाऐरका अनुसार भटमासबाली काटिसकेपछि गहुँ बाली लगाउदा युरिया मलको मात्रा कमै मात्र प्रयोग गर्दा हुन्छ ।

भटमासको जरामा नाइट्रोजन प्रर्याप्त मात्रामा हुने भएकाले रासायनिक मलको मात्रा कम गरे पुग्ने उनले बताए ।
 “मकैसँंगै भटमास खेतीगर्दा छुट्टै मल आवश्यक पर्दैन” प्राविधिक बुढाएरले भने, “एक्लो बालीका रुपमा लगाउँदा भने मल प्रयाग गर्नुपर्दछ।” 

भटमास खेतीका लागि पानी नजम्ने दोमट किसिमको माटो आवश्यक पर्दछ । समुन्द्री सतहको पााच सय मिटरदेखि दुई हजार मिटरको उचाईसम्म भटमास खेती गर्न सकिन्छ ।