close

किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम

किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम

Trulli
ADVERTISEMENT

गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिएको छ । गाउँपालिकाले वडा नम्बर ६ स्थित डाँडाथोकमा किसानलाई जैविक मल बनाउने तालिम दिएको गाउँपालिका कृषि शाखाका प्रमुख रोजिना मग्रातीले जानकारी दिए ।

'सहकारी संस्थामा आबद्ध रहेका ४० जना किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने सिकाइएको हो', उनले भने, 'रासायनिक मलको अत्यधिक प्रयोग माटो बिग्रने भएकाले किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्नका लागि पनि तालिम प्रभावकारी भएको छ ।'

प्राङ्गारिक तथा जैविक मलको प्रयोगबाट उत्पादन हुने खाद्य वस्तुले मानिसको स्वास्थ्यमा समेत हानी नपुग्ने भएकाले गाउँपालिकाभित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा जोड दिँदै आएको मग्रातीले बताए । गाउँपालिकाले ‘रासायनिक मललाई नियन्त्रण गरौ, जैविक र प्राङ्गारिक मलको प्रयोग गराैँ स्वास्थ्य बनौँ’, भन्ने नारासहित वडावडामा पुगेर किसानलाई तालिम दिँदै आएको हो ।

चालु आर्थिक वर्षभित्रमा गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम प्रदान गरिसकेको उहाँले जानकारी दिए । सहभागीलाई  सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराउने गरिएकाले किसानका लागि तालिम प्रभावकारी भएको मग्रातीको भनाइ छ ।

रासायनिक मलको अभाव भोग्दै आएका किसान टोलटोलमा पुगेर गाउँपालिकाले प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिएपछि खुसी भएका छन् ।