close

पोखरा महानगर माहुरीका घार वितरण गर्दै

पोखरा महानगर माहुरीका घार वितरण गर्दै

Trulli
ADVERTISEMENT

कास्की। पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा माहुरीका घार वितरण गर्न थालेको छ । ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत महानगरपालिकाले घार वितरण गर्न लागेको हो । 

पोखरा–१६, २०, २८ र ३० वडालाई माहुरी पकेट क्षेत्रका रुपमा अघि बढाउँदै ५० प्रतिशत अनुदानमा माहुरीका घार वितरण गर्न लागिएको कृषि महाशाखाप्रमुख मनोहर कडरियाले जानकारी दिए। कृषकलाई करिब रु एक करोड बराबरको माहुरीका घार ५० प्रतिशत अनुदानमा कृषकलाई उपलब्ध गराइने र त्योसँगै सूर्यमुखी फूलको बीउ, टोपी, स्टेन्ड आदि पनि वितरण गरिने उनले बताए।    

यसैबीच, पोखरा–२० को कार्यालयले ६४ किसानलाई माहुरीको घार वितरण गरेको छ । पोखरा–२० भलाममा आयोजित एक कार्यक्रमबीच वडा अध्यक्ष गङ्गाबहादुर केसी र पोखरा महानगरपालिका कृषि शाखा प्रमुख मनोहर कडरियाले संयुक्त रुपमा किसानलाई माहुरीको घार वितरण गरेका हुन्।

वडाअध्यक्ष केसीले किसानलाई समस्या परेमा तत्काल प्राविधिक सहयोग उपलब्ध गराइने उल्लेख गर्दै उत्पादित महको बजार व्यवस्थापनको जिम्मा वडा कार्यालयले लिने विश्वास व्यक्त गरे।

कृषि महाशाखाप्रमुख कडरियाले दुई–चार पैसाको लोभमा बाहिरी जिल्लाबाट ल्याइएका माहुरी खरीद नगर्न अनुरोध गर्दै त्यसरी खरीद गरिएका माहुरीको हावापानी नमिल्ने भएको हुँदा माहुरी मारेर क्षति हुनसक्ने बताए। पोखराको हावापानी सुहाउँदो माहुरी पाल्न सजिलो होस् भनेर कृषि महाशाखाले पोखराकै किसानद्वारा उत्पादित माहुरी घार वितरणमा जोड दिएको छ ।