close

नेपालमा १२ वर्षमा बाघको संख्या तेब्बर

नेपालमा १२ वर्षमा बाघको संख्या तेब्बर

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृतिको विशिष्ट र दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघ आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताएका छन् । 

विश्व बाघ दिवसका अवसरमा  राष्ट्रिय बाघ संरक्षण समिति नेपालद्वारा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले  बाघको संरक्षणबाट वातावरण स्वच्छ हुने भएकाले यसको संरक्षणमा जुट्न आह्वान गरे । बाघ पाइने विश्वका सीमित देशमध्ये नेपाल पनि एक भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले बाघको संरक्षणबाट पर्यटकीय क्रियाकलाप गरी आर्थिक उपार्जन बढ्ने बताए । 

“बाघको संरक्षण वृद्धि सुखद, नेपालले सन् २०१० रुसको सेन्ट पिटर्सवर्गमा गरिएको सम्मेलनको महत्वाकाङ्क्षी योजनाअनुसार लक्ष्य पूरा गर्न योगदान गर्ने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु, बाघका लागि पर्याप्त आहार र विचरण क्षेत्र नहुँदा मानवबस्तीमा पसेर दुःखद् घटना हुने गरेकाले यसबाट सचेत हुनुपर्ने समय आएको छ,' उनले भने । 

बाघको बासस्थान व्यवस्थापन गरेर  स्थानीयवासीको जीविकोपार्जन सुधार गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताए । बाघको छला, हड्डीलगायतका कारण चोरी सिकारी हुनसक्ने भएकाले संरक्षणका चुनौती सामना गर्ने गरी तयारी गर्न मन्त्रालयलगायत सरोकार  निकायलाई उनले निर्देशन दिए । 

हालै सरकारले वन्यजन्तु मैत्री पूर्वाधार निर्देशिका जारी गरेकाले त्यसअनुसार काम हुने विश्वास प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभयो । समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बाघको संरक्षणका लागि मन्त्रालय र यसअन्तर्गतका निकायलाई आग्रह गरे । 

 सो अवसरमा हाल नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको जानकारी गराइएको थियो । सन् २०१० अघि १२१ बाघमात्र नेपालमा थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक रामचन्द्र कँडेलले सन् २०१० मा बाघको सङ्ख्या घटेकामा हाल उल्लेखनीयरुपमा बढेको बताए ।  विश्वका १३ देशले गरेको प्रतिबद्धताअनुसार नेपालले तेब्बर बनाउन सफल भएको जानकारी पनि उनले दिए । बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित भएको छ ।