close

स्याम्पु किन्दा एक अर्ब ८ करोड बाहिरियो

स्याम्पु किन्दा एक अर्ब ८ करोड बाहिरियो

Trulli
ADVERTISEMENT

विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रूपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलो मात्रामा रकम खर्च गरेको पाइएको छ । 

देशभित्र विदेशी मुद्राको सञ्चिति घट्दै गइरहेको विवरण हरेक दिनजसो चर्चाको केन्द्रमा छ । संसददेखि नागरिक स्तरमा पनि यसबारेमा नियमित चर्चा भइरहेको छ । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने आर्थिक विवरणमा समेत विदेशी मुद्राको सञ्चिति घटेको देखाइन्छ । तर राम्रो देखिनका लागि आयात गरिएको सौन्दर्यका सामग्रीको मात्रा हरेक महिना वृद्धि भएको पाइएको छ । 

ती सामानको आयातमा मात्रै अर्बाैँ रुपैयाँ विदेशिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार ओठको शृङ्गारका सामग्रीको आयातमा मात्रै ३० करोड ८३ लाख ५१ हजार रुपैयाँ बाहिरिएको छ । 

विशेष गरी महिलाले प्रयोग गर्ने 'लिपस्टिक' लगायतका सामग्रीको आयातमा याे परिमाणको रकम बाहिरिएको हो । स्वास्थ्यका दृष्टिले लिपस्टिकको प्रयोगलाई राम्रो मानिँदैन । चालु आवको जेठ मसान्तसम्म दुई लाख ३७ हजार चार सय २९ केजी बराबरको ओठ राम्रो बनाउने सौन्दर्यका सामग्री आयात भएको छ । ती सामग्रीको आयात गर्दा सरकारले ११ करोड ३७ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । भारतबाट मात्रै १२ करोड ५९ लाख ५३ हजार मूल्य बराबरको झन्डै ४० हजार सात सय ६३ केजी लिपस्टिकलगायतका सामग्री आयात भएको छ । 

त्यस्तै चीनबाट एक लाख ९० हजार ६ सय ८७ केजी बराबरको सामग्री ११ करोड ६० लाख ४८ हजार रुपैयाँमा आयात भएको छ । 

यस्तै आँखाको शृङ्गारमा प्रयोग हुने सामानको आयातका लागि समेत निकै रकम खर्च भएको छ । ती सामानको आयातका लागि २२ करोड रुपैयाँभन्दा बढी रकम विदेशिएको छ । चालु आवको ११ महिनामा ९६ हजार ५३ केजी बराबरको त्यस्ता वस्तु आयात भएका छन् । जसका लागि २२ करोड ८१ लाख ९७ हजार रुपैयाँ बाहिरिएको छ । यसबाट सरकारले आठ करोड ६४ लाख ६५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आँखा सजावटका सामान भारतबाट मात्रै १० करोड ५६ लाख २६ हजार रुपैयाँ बराबरको ६ हजार ६ सय २९ केजी परिमाणमा आयात भएको छ । 

त्यस्तै चीनबाट ६ करोड ९९ लाख २७ हजार रुपैयाँमा ७८ हजार तीन सय ५३ केजी आयात भएका छन् । त्यस्ता वस्तु इटाली, कोरिया, लक्जम्बर्ग, अमेरिका, पोल्यान्डलगायत देशबाट आयात हुने गरेको विभागले सार्वजनिक गरेको विवरणमा छ । 

त्यस्तै मेकअपका अर्काे सामानका रूपमा रहेको क्रिम पाउडरको आयातमा समेत करोडौँ रुपैयाँ खर्च हुने गरेको छ । विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा ९३ करोड ४९ लाख ९६ हजार रुपैयाँका क्रिम पाउडर आयात भएको छ जसबाट सरकारले ३५ करोड २९ लाख ८० हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ । 

यस अवधिमा विभिन्न देशबाट चार लाख १७ हजार दुई केजी पाउडर खरिदका लागि २८ करोड ६६ लाख ४२ हजार रुपैयाँ विदेशिएको छ । यो अवधिमा अनुहारमा लगाउने क्रिममात्रै ६४ करोड ८३ लाख ५५ हजार रुपैयाँमा दुई लाख ६२ हजार सात २५ केजी नेपालमा भित्रिएको छ ।

विभागका अनुसार यस अवधिमा २४ हजार चार सय १८ लिटर नङमा लगाउने 'नेलपोलिस' आयात भएको छ । एघार महिनामा नेपालीले पाँच करोड नौ लाख २३ हजार रुपैयाँ खर्च गरेर नेलपोलिस आयात गरेका छन् । मुख्यगरी त्यस्ता पोलिस चीन, भारत, कोरिया, क्यानडालगायतका देशबाट आयात हुने गरेको पाइएको छ । यस अवधिमा चीनबाट दुई करोड ५८ लाख ४१ हजार र भारतबाट दुई करोड ३९ लाख १८ हजार रुपैयाँ बराबरको नेलपोलिस आयात भएको छ ।