close

तिहरमा भाइमसला महँगिँदा उपभोक्ता मारमा (भिडियो सामग्रीसहित)

तिहरमा भाइमसला महँगिँदा उपभोक्ता मारमा (भिडियो सामग्रीसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । अहिले सारा नेपाल तिहारको रंगमा रंगिएको छ । फूल र बत्तीले सिगारिँदा सहर सहर निकै आकर्षक छन् । यस्तै, झिलीमिलीका सहरमा किनमेल गर्नेको पनि भीडभाडा बढेको छ । तर, आकासिएको महँगीका कारण उपभोक्ता मारमा परेका छन् ।

तिहारमा मुख्यतयाः फूल,बत्ती परम्परागत खानेकुरा र भाइमसला अर्थात् काजु, पेस्ता, बदाम, नरिवल दाखलगायत ड्राइ फुडको मिश्रणको किनमेल हुने गर्छ । तर, भाइमसलाको मूल्य भने मूल्य दिन दुई गुणा, रात चौ गुणाका दरले बढेको छ । 

गत वर्षभन्दा यसपालिको तिहारमा भाइमसलाका मूल्य झन्डै दोब्बर भएको छ । सरकारले आयातमा लगाएको प्रतिबन्धसमेत महँगी बढ्नुको कारण हो । तर, न्यून आय भएका नागरिकले यो वर्ष भाइमसला खरिद गर्नु आकाशको फल झैँ बनेको छ । जेनतेन खरिद गर्न सक्नेहरूको पनि महंगीले ढाड भाँचिएको छ । परम्परा निभाउन समेत महँगो मूल्य तिरेर भाइमसला किन्न बाध्य हुनुपरेको उपभोक्ताको गुनासो छ । 

भाइमसलामा काजु, पेस्ता, बदाम, नरिवल, दाख, कलेट, छोगडालगायत ड्राइ फ्रुटको मिश्रण हुन्छ । भाइमसलामा प्रयोग हुने ड्राइफुट भारतलगायत तेस्रो मुलुकबाट आयात हुने गर्छ । तर, सरकारले अतिआवश्यक वस्तुबाहेक आयातमा प्रतिबन्ध लगाएको कारण यो वर्ष ती सामग्री मगाउन नसकिएको हुँदा भाइमसलाको मूल्यमा वृद्धि भएको व्यापारीको भनाइ छ ।  
बजारमा भाइ मसलाको लागि चाहिने छोगडा, काजु, बदामको अभाव भएकोले मूल्य वृद्धि भएको उनीहरू बताउँछन् । 

भाइमसलाको तौलका आधारमा मूल्य निर्धारण हुँदै आएको छ । विगतको वर्षमा भाइमसलाको प्याकेट २० रुपैयाँभन्दा बढी थियो । यो वर्ष त्यही २० रुपैयाँ पर्ने प्याकेटको ५० रुपैयाँमा कारोबार भइरहेको छ । भाइमसलाको मूल्य वृद्धि भए पनि ग्राहकको संख्या नघटेको व्यापारी बताउँछन् ।

नेवार समुदायमा दाजुभाइको पूजा गरेपछि मसिपोका अर्थात् मसलाको पोको दिने प्रचलन छ । अन्य समुदायमा भाइटिका लगाएर दाजुभाइलाई उपहारका रुपमा भाइमसला दिइन्छ । दाबीअनुसार, मसिपोको प्रयोग अन्य समुदायले पनि अनुसरण गर्दै जाँदा भाइमसलाको प्रचलन सुरु भएको मानिन्छ ।