close

पालिका खबर आजदेखि तपाईंको

पालिका खबर आजदेखि तपाईंको

Trulli
ADVERTISEMENT

गत १५ भदौमा पालिका खबरको लोगो सार्वजनिक गरेसँगै उठेका प्रश्न, कौतूहल, सुझाव, गुनासो, चिन्ता, चेतावनी सबै हाम्रा लागि प्रिय र स्वीकार्य छन् । अधिकांश प्रतिक्रियाले हामीलाई उत्साहित बनाए । कतिपय निराश र विचलित बनाउने खालका प्रतिक्रियाहरूले हाम्रा पाइला थप दह्रो पार्नुपर्ने चुनौती खडा गरिदिएका छन् । 

 

पालिका खबर लहडमा जन्मिएको होइन । विकेन्द्रित स्थानीय ‘निकाय’ हुँदै संघीय संरचनाको ‘तह’ सम्म आइपुग्दा सँगै हिँडेको दुई दशकको हाम्रो अनुभवले जन्माएको हो, पालिका खबर । विगतदेखि नै स्थानीय सरकारलाई नजिकबाट महसुस गरेको समूह आफैंले यस खालको सञ्चार अभियान सुरु गर्नुपर्ने अवसर पहिलो पटक प्राप्त भएकामा हामी सगौरव स्वीकार्दै उदाएका हौं । 
 

पालिका खबरले वर्तमान समय उपर्युक्त हो कि होइन भन्ने विषयलाई महत्व दिएन । देश कोभिड–१९ सँग लडिरहेका बेला हाम्रो दायित्व झन् बढेको महसुस गरेका छौं । प्रियजनले भनिरहनुभएको छ, ‘यो साहस होइन, दुस्साहस हो ।’ हामीले यसलाई माया हो भनेर बुझेका छौं । साँच्चै, अवस्था सजिलो हुन्थ्यो भने हामी किन चाहिन्थ्यो र !

 

खबर उही हो, सञ्चार माध्यम उस्तै हुन्, काम गर्ने जनशक्ति पनि उही हो, तर पनि हामी फरक छौं । हामी केही फरक गरेर देखाउन आएका छौं । 

 

केन्द्रबाट स्थानीय तहलाई हेर्ने पुरातन एकात्मक संरचनाबाट आधुनिक संघीयतामा प्रवेश त ग¥यौं तर हाम्रा सोच र व्यवहार त्यसअनुरूप हुन सकेनन् । त्यसबाट हाम्रो पत्रकारिता पनि अलग रहन सकेन । केन्द्रबाट निर्देशित पत्रकारिता होइन, अब तल्लो तह अर्थात् गाउँ, टोल, वडा, पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रलाई खबरदारी गर्ने पत्रकारिताको प्रारम्भ हो, पालिका खबर । 

 

सरकार तब मात्र जनउत्तरदायी हुन्छ, जब जनता आत्मनिर्भर, स्वविकेकी र निडर हुन्छन् । त्यसैले, हाम्रा सबै प्रयास यसैमा केन्द्रित हुनेछन् ।

 

जनअपेक्षासँगै स्थानीय सरकारका नीति, नेतृत्व र व्यवहारलाई हामी नजिकबाट नियाल्छौं । सधैं धारे हात लगाएर गाली मात्रै गर्ने संस्कृतिलाई बदल्दै यसो गरौं भनेर सुझाव दिन हामी आएका हौं । 
 

स्थानीय तहमा एकातिर कानुनले दिएका अधिकार प्रयोगमा जटिलता छन् भने अर्काेतर्फ अधिकार बुझाइमा अस्पष्टता छ । त्यसैले, स्थानीय आँखाबाट केन्द्र र प्रदेश सरकारका नीति तथा व्यवहारमा पनि हाम्री हस्तक्षेप गर्नेछौं ।

 

स्थानीय सरकारलाई सहयोग, सुझावबाटै सचेत बनाएर जनअपेक्षाको सम्बोधनमा सहयोगी बन्ने यो अभियानमा हामी सँगै हुनेछौं । यसका लागि श्रव्य, दृश्य एवं फोटोसहितका समाचार र समाचारमूलक सामग्री हाम्रा ‘हतियार’ हुन् ।

 

असीमित अपेक्षा भएका जनता, अनवरत प्रयत्नशील जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, विकास साझेदार संघसंस्था हाम्रा खबरका मूल पात्र हुन् । यिनै पात्रका प्रवृत्तिका कारण हुने असल र खराब दुवै घटना र विषयवस्तु हाम्रा लागि खबर हुन्   । जबर्जस्त कथिएका परिभाषाबाट बनेको स्थानीय सरकारप्रतिको दृष्टिकोण अब उघ्रनु जरुरी छ । सही र गलत जनता आफैंले खुट्याउन पाउनुपर्छ । 
 

पत्रकारिता निष्पक्ष हुनै सक्दैन । हामी ती खास जनताको पक्षमा छौं, जसले करिब दुई दशकपछि निर्वाचित जनप्रतिनिधिसँग असीम अपेक्षा गर्दै मतदान गरेका थिए । उनै जनताका भावनालाई अक्षर, दृश्य, फोटो र आवाजमा बुन्दै खबरदारी गर्नेछौं ।

 

मुलुक संघीय संरचनामा प्रवेश गरेपछि काठमाडौंले निर्देशित गर्ने पत्रकारिता होइन, अब गाउँ र बस्तीले निर्देशित गर्ने पत्रकारिता सुरु गर्ने जमर्काे हो, पालिका खबर । यस अर्थमा संघीयताको असली अभ्यास र कार्यान्वयनमा हामी सत्तिसाल बनेर उभिनेछौं । 

 

पालिका खबरमा रहेको ‘मेरो पालिका’ मार्फत तपाईंका पालिकाको मात्रै गतिविधि सीधै हेर्न सकिने व्यवस्था मिलाएका छौं । सम्भवतः यति धेरै पेज भएको पहिलो अनलाइन मिडिया बनेका छौं । विभिन्न ‘कोलम’ मार्फत सबै वर्ग, क्षेत्र र समुदायलाई प्रतिनिधित्व गर्ने प्रयास गरेका छौं । 

 

पालिका खबरलाई प्रकाशित गर्ने आइसीआइडी अनुभवी ऊर्जाशील युवा सम्पादकहरू, पालिका, जिल्ला र केन्द्रका मिहिनेती खबरदाताहरू, कर्मचारी सबैमा एउटै सोच र लक्ष्य छ । त्यो सोच र लक्ष्य हो, जनताको अनुहारमा दिगो खुसी । 

 

हामी हाम्रो लक्ष्यमा कहिल्यै विचलित हुने छैनौं । काम गर्दै जाँदा गल्ती, कमी–कमजोरी हुन सक्लान् । हामीलाई आफ्नाको तालीभन्दा गाली मिठो लाग्छ । यो पनि तपाईं पाठक, दर्शक, श्रोताहरूसँग अपेक्षा छ । 

 

अनलाइनसँगै हामी टेलिभिजन, रेडियो र छापामाध्यममार्फत पनि आएका छौं । हरेक दिन बेलुकी ६ देखि ७ बजेसम्म न्यूज २४ बाट पालिका खबर टेलिभिजन समाचार बुलेटिन प्रसारण हुनेछ । ७७ वटै जिल्लाका रेडियो स्टेनसबाट एकैसाथ पालिका खबर समाचार बुलेटिन प्रसारण हुनेछ । पालिकाहरूसँगै जोडिएर हाम्रो मासिक पत्रिका ‘पालिका खबर’ पनि पाठकको हातमा पुग्नेछ । 
 

पालिका खबरको भविष्य तपाईंले दिने माया र विश्वासमा  अडिएको छ  । पालिकाखबरडटकम ११ बजे अगाडिसम्म हाम्रो थियो, अब हाम्रो रहेन । पालिका खबर अब तपाईंको  ।

 

शिव अधिकारी

कार्यकारी निर्देशक, आइसिआइडी