close

७३ दिनपछि अमृताको अन्त्येष्टि

७३ दिनपछि अमृताको अन्त्येष्टि

Trulli
ADVERTISEMENT

रुपन्देही । शङ्कास्पद मृत्यु भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगरकी अमृता खत्री टण्डनको ७३ दिनपछि शुक्रबार अन्त्येष्टि गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको रहेको शवलाई माइती पक्षले घरमा ल्याएर तिलोत्तमा–३ स्थित मगरघाटमा दाहसंस्कार गरेका हुन् ।

मृतकका दाजु पुष्पक खड्काले बहिनीको मृत्यु भएको साढे दुई महिनापछि अन्त्येष्टि गर्ने सहमति भएको बताएका छन् । माइती र घर पक्षको सहमति अनुसार घरले अमृताको नाममा अक्षयकोष स्थापना गर्ने तथा छोराको शिक्षा दीक्षाको लागि १४ लाख रुपैयाँ उनकै नाममा बैंकमा जम्मा गरिदिने सहमति भएको छ ।

अमृताको गएको चैत ३० गते राति शङ्कास्पद मृत्यु भएपछि माइती पक्ष आन्दोलनमा उत्रिएका थिए । नजिकै रहेको माइतीबाट घर गएको आधा घण्टामै उनको मृत्यु भएको भनिएको थियो । तर, माइती पक्षले उनको हत्या गरिएको भन्दै घरका सदस्यलाई कारबाही गर्न माग गर्दै आएका थिए । 

माइती पक्षले अमृताको मृत्यु शङ्कास्पद रहेको भन्दै श्रीमान् प्रेम टण्डन, उनका बुवा टहलसिंह टण्डन र आमा दीपा टण्डनलाई ज्यान मार्ने उद्योगमा जाहेरी दिएर सडक आन्दोलनमा उत्रिएका थिए ।

अमृताका माइती पक्षले दिएको जाहेरी अनुसार जिल्ला अदालत रुपन्देहीले श्रीमान् प्रेम टण्डनलाई पुर्पक्षको लागि थुनामा पठाए पनि सासू–ससुरा दुवैलाई भने प्रमाण नपुगेको भन्दै यसअघि नै रिहा गरिसकेको छ ।

त्यसपछि पनि असन्तुष्ट रहेका माइती पक्षले घटनाको सत्य तथ्य सार्वजनिक गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने भन्दै अन्त्येष्टि गर्न अस्वीकार गर्दै आएका थिए । यसअघि पोष्टमर्टमका लागि पनि रुपन्देही प्रशासनले निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएपछि मात्रै माइती पक्ष अन्त्येष्टि गर्न सहमत भएका हुन् ।