close

लुम्बिनीमा साना हतियारका ठूला खेल

प्रदेशकै सुरक्षामा चुनौति बन्दै अवैध हतियार

लुम्बिनीमा साना हतियारका ठूला खेल

प्रदेशकै सुरक्षामा चुनौति बन्दै अवैध हतियार

Trulli
तस्बिर सौजन्य : आइएनएस-स्वतन्त्र समाचार
ADVERTISEMENT

रुपन्देही । भारतसँग सीमा जोडिएको जिल्ला रुपन्देहीमा साना हतियारको त्रास बढेर गएको छ ।

साना हतियार लिएर हिँड्नेहरूलाई प्रहरीले बारम्बार पक्राउ गर्ने गरे पनि नियन्त्रण नै हुन भने सकेको छैन।

यसैबीच गत आइतबार राति लुम्बिनी क्षेत्रबाट साना हतियार बोकेर हिँडेका तीन जना भारतीय नागरिक पक्राउ परे । त्योसँगै रुपन्देहीमा फेरि एक पटक साना हतियार र जनताको सुरक्षाको विषय बहसमा आएको छ ।

रुपन्देही प्रहरी प्रमुख रवीन्द्र रेग्मीका अनुसार लुम्बिनीको बसपार्क क्षेत्रमा प्रहरीले शंका लागेर रोकेर खानतलासी गर्दा आइतबार हतियार भेटिएको हो । एसपी रेग्मी भन्छन्, 'भारतीय नम्बर प्लेटको युपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकलमा सवारहरूको चेकजाँच गर्दा हतियार भेटिएको हो।'

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला बस्ने  ३४ वर्षको चिनक भनिने मेदी हुसेन, सोही ठाउँ बस्ने ५१ बर्षिय अकबर खान र ५५ बर्षिय आसिक अलि रहेका छन् ।

उनीहरू प्रहरीलाई देखेपछि भाग्ने क्रममा सडकमा बसेका गोरुसँग ठोक्किँदा सामान्य घाइते समेत भएका छन् । पक्राउ परेकाहरू मध्ये मोटरसाइकल चालक मेदी हुसेनले कम्मरमा बाँधेर राखेको अवस्थामा हतियार बरामद भएको हो । प्रहरीले एक थान कटुवा पेस्तोल, केएफ एमएम लेखेको २ राउन्ड गोली, एक थान चक्कु समेत बरामद गरेको छ ।

उनीहरू कालीदह नाकाबाट नेपाल भित्रिएका थिए । कालीदह लुम्बिनीबाट दक्षिण तर्फ पर्छ । उक्त  नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको अलग अलग सुरक्षा फौज तैनाथ छ ।

 

साना हतियारबाट कति भए क्षति?

रुपन्देहीमा २०७६ भदौ २९ गते रोहिणी गाउँपालिका वडा नम्बर २ धकधई सडक खण्डकै वैकुण्ठपुरमा बैंकबाट पैसा निकालेर घरतर्फ जाँदै गरेका ३५ बर्षिय महेन्द्र कुर्मीको हत्या भएको थियो ।

२०७३ पुस ४ गते देवदहमा युवा सङ्घका तत्कालीन अध्यक्ष समेत रहेका व्यवसायी दुर्गा तिवारीको पनि गोली हानी हत्या गरियो ।

२०७४ पुस २१ गते देवदहकै बलु पौडेलको गोली हानी हत्या गरियो । दुर्गा र बलुको हत्या मनोज पुनले साना हतियार प्रयोग गरी गरेका थिए । 

यसैगरी ०७५ चैत्र १३ गते मैनाबगर बुटवलमा फिरोज खानको गोली हानी हत्या गरियो ।

त्यस यता भैरहवामा उद्योगी कुल प्रसाद न्यौपाने, व्यवसायी हरिस सेठियामाथि पनि गोली प्रहारको प्रयास भएको छ । यी सबै घटनामा साना हतियारको प्रयोग भएको देखिन्छ ।

यस्ता हतियार सीमापारि भारतीय बजारमा सहजै खरिद गर्न पाइन्छ । सीमा पारीको क्षेत्रका बजारमा थोरै मूल्यमै यस्ता हातहतियार किन्न पाइन्छन् ।

 

कति छन् हतियार?

लुम्बिनी प्रदेशमा अहिले पनि लुकाएर राखिएका हातहतियारहरू भेटिने क्रम जारी छ ।

प्रहरीको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा २०५९ साल यता १ सय ८७ स्थानबाट करिब २ सय ३ वटा हातहतियारहरू बरामद भएका छन् ।

खासगरी सीमावर्ती जिल्लामा इजाजतवाला भन्दा अवैध हतियार चिन्ताको विषय बन्दै आएको छ । भारतबाट भित्रिने यस्ता अवैध हतियारसँगै नेपालमै उत्पादित साना घरेलु हतियार सुरक्षा चुनौती बन्दै गएको छ ।

विभिन्न स्थानमा भएको आपराधिक क्रियाकलापमा साना हतियार र त्यसमा पनि कटुवा पेस्तोल बढी मात्रामा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ । धम्क्याउन, चोरी सिकार गर्नका लागि अवैध हतियार भित्र्याउने गरिएको छ ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७४–७५ को तथ्याङ्क अनुसार दाङमा २० , नवलपरासीमा  २, बर्दियामा ४ गरी जम्मा २६ थान हातहतियार बरामद भएका छन् । आर्थिक वर्ष २०७५–०७६ मा अर्घाखाँचीमा २, पूर्वी रुकुममा १३ , दाङमा  ३०, पूर्वी रुकुममा १६ गरी कुल ६१ वटा हतियार बरामद गरिएका छन् ।

आर्थिक वर्ष २०७६-०७७  मा पूर्वी रुकुममा ९, बर्दियामा १२, प्युठानमा  १ गरी जम्मा २२ वटा हातहतियार बरामद भए ।

यस्तै आर्थिक वर्ष ०७७/०७८ मा  प्युठानमा २०, बाँकेमा ८, पूर्वी रुकुममा २, दाङ जिल्लामा ५ वटा, गुल्मी जिल्लामा ४, कपिलवस्तु जिल्लामा ६,  रुपन्देहीमा २, अर्घाखाँचीमा ३ बर्दियामा १ गरी कुल ५१ वटा हतियार प्रहरीले बरामद गरेको छ ।

पछिल्लो समय खुला सीमाको फाइदा उठाउँदै अवैध हतियारको प्रयोग र ओसारपसार बढ्दा प्रदेशमा सुरक्षा चुनौती थपिएको छ । सुरक्षा निकायले पटक पटक अवैध हतियार बरामद गर्नु र गोली प्रहारको घटना बढ्नुले पनि यसको पुष्टि गर्छ ।

पेस्तोलबाट गोली प्रहारको घटना भारतीय सीमावर्ती तराईका जिल्लामा पहिला पनि हुँदै आएको थियो । साना हतियार प्रयोग गरी व्यक्ति हत्या, लुटपाट, चोरी, डकैतीका घटनाहरू निकै हुने गर्थे । अपराधमा संलग्नहरू लुक्नका लागि वारिपारि आउने जाने गर्थे ।

रुपन्देहीको ५९ दशमलव ५ किलोमिटर सीमा भारतसँग जोडिएको छ । जहाँबाट सहजै हातहतियार नेपाल भित्रिने गर्छन् । जिल्लाको दक्षिणमा भारतको उत्तर प्रदेशको महाराजगन्ज र सिद्धार्थनगर जिल्लाका मुख्य नाकाहरू बेलहिया, भगवानपुर, मनहरापुर, अमवा,सेमरपानी, कदमहवा, खैराघाट, ठोटरी, चण्डीघाट, दुबेथुमुवा, हडवड, कालीदह रहेका छन् । यी नाकाबाट सहजै हतियार भित्रिने अहिलेसम्मको घटना र अनुसन्धानबाट देखिन आएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार