close

मेरो इमान र निष्ठा नै जितको आधार हो : भण्डारी (अन्तर्वार्ता)

मेरो इमान र निष्ठा नै जितको आधार हो : भण्डारी (अन्तर्वार्ता)

Trulli
ADVERTISEMENT

गुल्मी । नेपाल विद्यार्थी संघको राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेर रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीको स्ववियु सभापति, नेपाल विद्यार्थी संघ गुल्मीको सभापति हुँदै नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष भएका महेन्द्रप्रसाद भण्डारी नेपाली कांग्रेसको १०औँ महाधिवेशनबाट निरन्तर महाधिवेशन र महासमिति सदस्यमा निर्वाचित नेता हुन् ।

 

राजनीतिको माध्यमबाट समाजसेवा गरिरहेका भण्डारी २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धुर्काेट गाउँपालिकाको अध्यक्ष पदमा उम्मेद्वारी बनेका छन् । प्रस्तुत छ, भण्डारीसँग पालिका खबरका चन्द्रकान्त खनालले गरेको कुराकानी सम्पादित अंश : 

 

अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको छ । के छन् एजेन्डा ?

 

धुर्कोटको आवश्यकतामा आधारित दिगो विकास नै मेरो मुख्य एजेन्डा हो । सर्वसाधारण जनताको प्रतिव्यक्ति आयमा वृद्धि, जनताको जीवनस्तरमा समतामूलक विकास मेरो कर्म हो ।

 

धुर्कोट गाउँपालिकाका सातै वडामा शिक्षा, स्वास्थ्य, पर्यटन , कृषि, रोजगार , सडक र खानेपानीलाई केन्द्रबिन्दुमा राखी समग्र धुर्कोटको समानुपातिक विकास मेरा एजेन्डा हुन् । 

 

के–के छन्, तपाईंले जित्ने आधार ?

 

धुर्कोटको समानुपातिक विकासको मुख्य एजेन्डा लिएर इमान, निष्ठासहित जनतामाझ आउँदै छु । ममाथि पालिकाबासीको विश्वास छ । यो नै विजयको आधार हो ।

 

समृद्ध धुर्कोट बनाउन यहाँका एजेन्डा के–के छन् ?

 

आवश्यकतामा आधारित दीगो विकास मेरो मुख्य मन्त्र हो । 

पूर्वाधार विकास, कृषि तथा पशु समस्या समाधान, उत्पादनमा आधारित अनुसन्धानात्मक कार्ययोजना, युवालक्षित कृषि कार्यक्रम, शिक्षामा सुधार, पयर्टन विकास, खानेपानी सुविधा उपलब्ध गराउने र खेलकुदको विकासलगायत मेरा मुख्य एजेन्डा हुन् । 

 

अघिल्लो कार्यकालमा तपाईं र माओवादीबीच भएको सहकार्य किन कार्यान्वयनमा नआएको हो ? 

 

पूर्वसांसद तथा स्वर्गीय रुद्रमणि भण्डारी, पूर्वसांसद टंक पोख्रेललगायत दुई पार्टीका नेताबीच अध्यक्षमा माओवादीलाई दिने र अर्को अर्थात् यसपटक अध्यक्ष पद कांग्रेसले पाउने सहमति भएको थियो । 

 

तर, भुपाल पोख्रेलले विगतमा भएको सहमति वास्ता नगरी उहाँ अन्य पार्टीको आडमा सत्तामा रहिरहने चेष्टामा लाग्नुभयो । जसका कारण यसअघि गरिएको सहमति कार्यान्वयनमा आउन नसकेको हो । 

 

केन्द्रमा कांग्रेस, माओवादीलगायत पाँच दलीय गठबन्धन छ । तर, तपाईं एमाले–माओवादी गठबन्धनविरुद्ध उम्मेद्वार बन्नुभएको छ । जित्छु भन्नेमा कतिको ढुक्क हुनुहुन्छ ?

 

मतदान भनेको गोप्य रूपमा विवेक प्रयोग गर्ने कुरा हो । आधाभन्दा बढी जीवन राजनीतिमा बिताएको छु । इमान र निष्ठाका आधारमा मतदाताले महेन्द्र भण्डारीलाई राम्रै मतान्तरले विजय गराउनुहुन्छ भन्नेमा विश्वस्त छु ।