close

सप्तकोसी बाढी अपडेट : डुबानमा परेकालाई सुरक्षित स्थानमा सारिँदै

सप्तकोसी बाढी अपडेट : डुबानमा परेकालाई सुरक्षित स्थानमा सारिँदै

Trulli
ADVERTISEMENT

उदयपुर । कोसी नदीको बाढीबाट उच्च जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ । 

जिल्ला प्रशासन कार्यालय, उदयपुरका अनुसार स्थानीय संघ संस्था, नेपाल रेडक्रस सोसाइटी तथा नगरपालिकाको पहलमा बाढीको जोखिममा रहेको परिवारलाई स्थानान्तरण गराइएको हो । 

लगातार वर्षाको कारण सुरुमा नगरपालिका-८ को डुम्रेमा कोसी नदीको बाढी पसेको थियो । सो बाढीबाट वडा नम्बर १, २, ३, र ९ का उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले पालिकाखबरलाई जानकारी दिएका छन् ।

उनले सो क्षेत्रका स्थानीयलाई सामुदायिक भवन, विद्यालय तथा बाढी नपस्ने स्थानमा सार्ने काम भइरहेको बताए । बाढी पीडितका लागि आवश्यक सामग्रीको व्यवस्थापन समेत भइरहेको यादवले पालिकाखबरलाई बताए । 

यादवका अनुसार हाल सो क्षेत्रमा पानी रोकिएको छ । तरपनि नदीको बहाव घटेको छैन । बाढीबाट सप्तरीमा समेत जोखिम बढ्न सक्ने उनको आशंका छ । 

सप्तरीको नयाँ भंगालो जोखिममा

कोसी नदीको बाढीबाट सप्तरीको सप्तकोसी नगरपालिका ६ मा बनेको नयाँ भंगालो क्षेत्र जोखिममा पर्ने सक्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पालिकाखबरसँग बताए । 

टेलिफोनमार्फत सम्पर्कमा आएका गौतमले भने, ‘हामी उदयपुरको बेलका नगरपालिकामा अवलोकन गरेर फर्केका छौँ । सो बाढीको बहाव सप्तकोसी नगरपालिकामा पसेको छ ।’

सप्तकोसीको बाढी सामान्य नभएकोले अहिलेसम्म डुबानको जोखिमबाट सप्तरी समेत मुक्त नरहेको उनले बताए । निरन्तर पानी परेको खण्डमा बाढीको जोखिम रहेको उनले सुनाए ।

‘बाढीबाट बचाउनका लागि सो क्षेत्रमा पानी कटानको कार्य भइरहेको छ’, उनले भने । साथै जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित क्षेत्रमा सार्नको लागि नगरपालिकाले योजना बनाइरहेको र आवश्यक परे बस्ती सार्ने उनले बताए ।