close

तुलसीपुर उपमहानगरले बनायो विद्यालय सञ्चालन मोडालिटी

तुलसीपुर उपमहानगरले बनायो विद्यालय सञ्चालन मोडालिटी

Trulli
ADVERTISEMENT

दाङ- दाङको तुलसीपुर उपमहानगरले विद्यालय सञ्चालनको मोडालिटी तयार पारेर सञ्चालनको तयारी सुरु गरेको छ  । कोरोना महामारीका कारण पूर्ण रुपमा ठप्प भएको शैक्षिक सत्रलाई क्रियाशील बनाउन उपमहानगरले मोडालिटी तयार गरेको हो ।


शिक्षा मन्त्रालयले चालू शैक्षिक सत्रको पाठ्यक्रम समायोजन ढाँचा सार्वजनिक गरिसकेपछि स्थानीय तहामा विद्यालय सञ्चालन गरिनेछ । शैक्षिक सत्रको ५ महिना बितिसक्दा पनि विद्यालय सञ्चालनको औपचारिकता नआएपछि उपमहानगरको शिक्षा शाखाले विद्यालयका प्रधानाध्यापक र सरोकारवालाहरूसँग विद्यालय सञ्चालनको मोडालिटीमा छलफल गरेको छ ।


उपमहानगरले हालसम्म विद्यालयले गरेका अभ्यास र अबगर्न सकिने नयाँ स्वरुपबारे विद्यार्थी सिकाइ कार्ययोजना तयार गरेर सार्वजनिक गरेको शिक्षा शाखा अधिकृत चक्रबहादुर भण्डारीले जानकारी दिए । नगरभित्र सञ्चालन भएका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र शिक्षा सरोकारवालाको सुझावमा रहेर कार्ययोजना तयार पारिएकाले अब प्रभावकारी रुपमा कार्यान्वयन गरिने भण्डारीले बताए । 

 


तुलसीपुरले विद्यालय कक्षाकोठामा बढीमा २० जनालाई एक पटकमा पढाउनुपर्ने, बाहिरभित्र गर्दा अनुमति कार्डको व्यवस्था गरिने, साबुनपानीले हातधुने र स्यानिटाइजर प्रयोगलाई बढावा दिइने , प्रत्येक दिन कम्तीमा ४ घन्टा अनिवार्य पढाउनुपर्ने आदि नीति समावेश गरेर कार्यायोजना सार्वजनिक गरिएको छ । त्यस्तै, २ सयभन्दा बढी विद्यार्थी हुने विद्यालय क्षेत्रभित्र सिकाइ केन्द्र स्थापना गरेर कक्षा सञ्चालन गर्न सक्ने र सम्पर्क तथा खुला शिक्षाको अवधारणालाई कायम गर्ने नीति अघि सारेको भण्डारीले बताए ।

 


कार्ययोजनाबारे प्रधानाध्यापकहरूसँग शाखाले बुधबार छलफलसमेत गरेको छ । भर्चुअल रुपमा भएको छलफलमा प्रधानाध्यापकहरूले कार्यायोजनाअनुसार काम गर्न सकिने बताएका थिए । उनीहरूले अहिले पनि विद्यालय स्तरमा त्यस्ता प्रयास भएको जानकारी दिएका थिए ।
कालाखोला माविका प्रधानाध्यापक राजीव ओझाले विद्यालयबाट यो बीचमा शिक्षकको विषयगत समूह गठन गरेर विद्यार्थीको सिकाइ बढाउने काम भएको, घरदैलो अभियान पनि सञ्चालन गरेको जनाए ।

 


गुरुजुर मावि रक्षाचौरका प्रधानाध्यापक विष्णुकुमारी केसीले शैक्षिक गतिविधिहरू बढाइराखेको बताइन् । विद्यालयमा १ हजार ३ सय विद्यार्थी भर्ना भइसकेको र तिनलाई कुनै न कुनै माध्यमबाट सिकाइ भइरहेको उनको भनाइ छ ।