close

तीन वर्षभित्र सबै विद्यालयका पूर्वाधार निर्माण : शिक्षामन्त्री पौडेल

तीन वर्षभित्र सबै विद्यालयका पूर्वाधार निर्माण : शिक्षामन्त्री पौडेल

Trulli
ADVERTISEMENT

काठमाडौं–शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी ३ वर्षभित्र सबै सार्वजनिक विद्यालयका भौतिक पूर्वाधार बनिसक्ने बताएका छन् । शान्तिशिक्षा मन्दिर माध्यमिक विद्यालय काठमाडौं महानगरपालिका वडा नम्बर १७ ठहिटीको भवन उद्घाटन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भवन बनाइने दाबी गरेका हुन् ।


‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत करिब १९ सय विद्यालय बनेका छन्,’ मन्त्री पौडेलले भने, ‘देशभरका विद्यालयमा के आवश्यकता छ, त्यसको आधारमा अब पूर्वाधार बन्छन् ।’ मन्त्री पौडेलले विद्यालय भवनले मात्रै नहुने भन्दै शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थी लाग्नुपर्नेमा जोड दिए । 


पूर्वाधार निर्माणसँगै ‘पढ्दै कमाउँदै’ कार्यक्रम अघि बढेकाले केही दिनभित्र अर्थ मन्त्रालयबाट बजेट स्वीकृत गरी निवेदन दिएका विद्यालयमा सोही कार्यक्रम जाने उनले जानकारी दिए । वैशाखबाटै शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयले निर्णय गरेको बताउँदै १ जेठबाट कक्षा सञ्चालन हुने उनको भनाइ छ ।


शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन विद्यालयमा ल्याब, आइसीटी ल्याब व्यवस्था गरिएको र शिक्षक दरबन्दी र १८ वर्षदेखि रोकिएको आन्तरिक बढुवाको काम अघि बढेको उनले बताए । संघीय शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन, उच्च शिक्षा ऐनको काम मन्त्रालयले सकेर अर्थ र कानुनमा पठाएको उनले जनाए । 


१२ वैशाख ०७२ को भूकम्पबाट क्षतिग्रस्त भई सरकार र एसियालीविकास बैंकको आर्थिक सहयोगबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) को विपद् उत्थानशील विद्यालय परियोजनमार्फत ४ करोड १७ लाख रुपैयाँमा २२ कोठे भवन बनेको हो । 

 

अर्थमन्त्रीसँग छलफल

मन्त्री पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने विषयमा अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरेका छन् । सरकारले आर्थिक वर्ष ०७८÷७९ को बजेटमा स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखी कर्जा दिने कार्यक्रम समेटेको थियो ।  बजेटमा सहुलियतपूर्ण ब्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने उल्लेख छ ।