close

खाजा कार्यक्रममा अनियमितताको आरोप

खाजा कार्यक्रममा अनियमितताको आरोप

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीको महादेवा गाउँपालिका वडा न. १ स्थित जनचेतना राष्ट्रिय प्राथमिक विद्यालय बल्थीमा खाजा कार्यक्रममा व्यापक अनियमितता भएको आरोप लगाइएको छ ।

विद्यालयका प्रधानाध्यापक मो.गुलजार उदीनले कोरोना महामारीको पहिलो लहर सुरु भएदेखि नै विद्यालयमा अध्ययनरत १ सय ३० जना विद्यार्थीलाई खाजा उपलब्ध नगराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदकुमार यादवले बताए ।

सो विद्यालयको बाल विकासमा १० जना, कक्षा १ का ३० जना,  कक्षा २ मा २५ जना, कक्षा ३ मा २३ जना,  कक्षा ४ मा २४ जना,  कक्षा ५ मा १८ जना विद्यार्थी अध्ययनरत छन् । प्रति विद्यार्थी १५ रुपैयाँको दरमा सामग्री खरिद गरिने गरेको व्यवस्थापन समितिका सदस्य सुमित्रादेवी सदाले बताइन् ।

केही दिन अधि खाजा कार्यक्रमको लागी २२ हजार रुपैयाँ बराबरको खाद्य सामग्री राजविराजबाट खरिद गरेर ल्याइए पनि विद्यालय प्रशासनको मिलेमतोमा चोरी भएको व्यवस्थापन समितिकी सदस्य अमलादेवी सदाको आरोप छ । उनले आफ्नै पहलमा ती सामग्री ल्याएको बताइन् ।

स्थानीय अभिभावक मोहम्मद दाउदका अनुसार विद्यालयको पाठ्यपुस्तक खरिदमा समेत अनियमितता तथा भ्रष्टाचार भएको छ । नयाँ शैक्षिक सत्र सुरु भए पनि सप्तरीमा अझै पाठ्यपुस्तकको अभाव छ ।  समयमै पाठ्यपुस्तक नपाउँदा सप्तरी जिल्लाका १ लाख भन्दा बढी विद्यार्थीको पठन पाठन प्रभावित भएको छ ।

जिल्लामा ५ सय १३ सामुदायिक तथा १ सय ७७ निजी विद्यालय छन् । सामुदायिक तर्फ १ देखि १० कक्षासम्म १ लाख ७ सय ६ तथा निजी विद्यालय तर्फ ३४ हजार ६ सय २९ विद्यार्थी अध्ययनरत छन् ।