close

पालिका खबर प्रभाव : एकजना रहेको दुर्गा स्कुलको विद्यार्थी संख्या १५ जना पुग्यो

पालिका खबर प्रभाव : एकजना रहेको दुर्गा स्कुलको विद्यार्थी संख्या १५ जना पुग्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । संघीयता सेवा प्रवाहका दृष्टिले ढोकामा निर्णय गरेर हातमा रिजल्ट दिने व्यवस्था हो । जुन मुख्यतयाः स्थानीय तहमा कार्यान्वयन हुन्छ । जुन कुरा लुम्बिनी प्रदेशको अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा कार्यान्वयन भएको छ । 

सोही नगरपालिका वडा नम्बर ३ मा रहेको दुर्गा आधारभूत विद्यालय खारेजीको अन्तिम चरणमा पुगेको थियो । २०७६ सालको आसपासमा लगभग ४५ जना विद्यार्थी रहेको सो विद्यालयमा १ जना विद्यार्थी मात्रै अध्ययनरत थिए । एक जना विद्यार्थीलाई पठाउन कार्यरत शिक्षक तथा कर्मचारी कार्यालय (विद्यालय) आउने र जाने औपचारिकता निभाउन बाध्य थिए ।

२०७८ वैशाख १५ गते सन्धिखर्क नगरपालिका शिक्षा शाखाले विद्यालय अन्य विद्यालयसँग मर्ज हुने भनी चिठी काटेकाले उनीहरूले विद्यार्थी भर्नाका लागि सक्रियता पनि देखाएनन् । 

त्यतिमात्रै नभएर स्थानीय सरकारले सबै शिक्षक दरबन्दी खारेज गरेर एकजना दरबन्दी मात्रै कायम गरेको थियो । त्यसको अर्थ हुन्थ्यो विद्यालय मर्ज हुँदै छ । 

जसका कारण कतिपय अभिभावकले निजी विद्यालय पठाए । कतिपयले नजिकै रहेको अर्को  विद्यालयमा पठाए । 

वैशाख ३० को स्थानीय तहको निर्वाचनपछि जमसेर मियाँ वडा नम्बर ३ को वडाध्यक्ष पदमा निर्वाचित भए । यतिकैमा एक विद्यार्थी बराबर ५ शिक्षक भनी समाचार प्रकाशित भएको कुरा वडाध्यक्षले पनि थाहा पाए । 

आफूले मिडियामा देखेपछि उनले आफैँ विद्यालय गएर अवलोकन गरेको पालिका खबरलाई बताए । विद्यालयबारे विद्यालय प्रशासनसँग बुझेर विद्यालय टिकाउने अभियानमा उनी लागे । 

लगभग अन्तिम अवस्थामा पुगेको विद्यालय अहिले उनकै पहलामा करिब एक हप्तामै १ विद्यार्थी भएको ठाउँमा १५ जना विद्यार्थी पुगेका छन् । यद्यपि विद्यालयलाई चाहिने साधन र स्रोतको ग्यारेन्टी भइनसके पनि विद्यालय टिकाउन आफूहरू लागिपरेको उनले बताए । 

‘विद्यालयमा कुरा गर्दा विद्यालय मर्चको क्रममा भन्ने थाहा पाए । विद्यालय यहीँ टिकाउने हो भने प्रक्रिया अघि बढाउनूस् भन्ने कुरा आयो । त्यसपछि हामीले प्रक्रिया अघि बढाएका छौँ ।’

नगरपालिकाबाट २०–२५ जना विद्यार्थी पुर्‍याए विद्यालय रहने भनेपछि आफूहरू विद्यालय बचाउन लागि परेको उनले बताए । विद्यालय टिकाउन भौतिक संरचनाले मात्रै नहुने बताउँदै उनले अन्य सुविधाको पनि व्यस्था गर्न लागिपरेकाे  जानकारी दिए ।  

‘कम्तीमा तिनलाई स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्छ र सफा ठाउँमा बस्नुपर्छ भनेर हामीले भौतिक(माकुराका जाला) संरचना ट्वाइलेट सफा गर्‍यो,’ विद्यालयको सबै भौतिक संरचना विग्रिसकेकाले सरसफाइ गरी बस्नयोग्य बनाएको बताउँदै उनले भने, ‘माकुराका जाला फ्याकेर, डेक्स बेन्च सर्लक्क पुछेर बस्नयोग्य बनायौँ । ३ वटा फिल्टर, हिलटेकलगायत आवश्यक वस्तुको व्यवस्था गर्‍यौँ । विद्यार्थीलाई खाजा खुवाउने व्यवस्था गर्‍यौँ । अहिले विद्यार्थीलाई दिन बिराएर फरक–फरक खाजा खुवाउने व्यवस्था मिलाइएको छ ।’

त्यसैगरी,स्थानीय तहकै जनप्रतिनिधिले पनि कक्षा लिएका छन् । विद्यालय बचाउनका हामी सबै लागेको बताउँदै उनले आगामी दिनमा विद्यालय अझ राम्रो हुने विश्वास व्यक्त गरे । 

विगतमा विद्यालय क्वालिटीयुक्त भएको बताउँदै उनले विद्यालयमा अध्ययन गरेका विद्यार्थी अहिले राज्यका विभिन्न ओहोदा र स्थानमा कार्यरत रहेको बताए ।