close

'सुप समावेशी’ विद्यालय पाएसँगै अशक्त विद्यार्थी मख्ख

'सुप समावेशी’ विद्यालय पाएसँगै अशक्त विद्यार्थी मख्ख

Trulli
ADVERTISEMENT

कैलाली। कैलालीको गोदावरी नगरपालिकामा शारीरिक रुपमा अशक्त भएका बालबालिकाको लागि आवाससहितको सुप समावेशी आधारभूत विद्यालयको स्थापना भएको छ। नगरपालिकाकोे वडा नम्बर २ मा स्थापित सो विद्यालय अशक्त बालबालिका अध्ययन गर्न सक्ने छन्। 

शारीरिक रुपमा अशक्त भएका विद्यार्थीको लागि विद्यालयको अभावले गर्दा विगत एक दशकसम्म राम्रोसँग पढ्न पाएका थिएनन्। विद्यालय स्थापना भएसँगै सुदुरपश्चिमका सबै विद्यार्थीलाई पढ्न सहज समेत भएको छ। 

कैलालीकै बौनियाबाट उक्त विद्यालयमा पढ्न आएकी छात्रा चित्रकला विकले अन्य विद्यालयको तुलनामा सुप समावेशीमा पढाइ सहज भएको बताइन्।

'बौनियामा कक्षा २ सम्म पढेँ, त्यसपछि यहाँ आएकी हुँ', उनले भनिन्, 'त्यहाँको र यहाँको शैक्षिक वातावरण विलकुलै फरक छ, साथीहरूको व्यवहार पनि फरक छ, शैक्षिक गतिविधि पनि फरक छ।' उनले सुप समावेशीमा अपाङ्गता भएका बालबालिका नै रहेकाले कसैलाई पनि आफू कमजोर भएको महसुस नहुने बताइन्। कक्षा ७ मा पढ्दै गरेकी उनले सुप समावेशीलाई उच्च शिक्षासम्मको अनुमति पाए अझै राहत हुने सुनाइन्।

'कक्षा ७ मा पढ्दै छु, यो वर्ष अन्तिम हो, त्यसपछि फेरि बाहिर जानुपर्छ', उनले भनिन् 'बाहिरको वातावरण प्रायःजसो अपाङ्गता भएका व्यक्तिका लागि उपयुक्त हुँदैन, त्यस्तो अवस्था शिक्षा आर्जन गर्न पनि गाह्रो हुन्छ ।' उनले सुप समावेशीलाई नै उच्च तहसम्म अनुमति दिई सरकारले शिक्षकलाई अध्यापनका लागि पठाए आफूजस्ता अपाङ्गता भएका बालबालिकाले सहजरूपमा आवाससहितको शिक्षा पाउने बताइन्। आफू शारीरिक रुपमा अशक्त भएकाले नै अन्य विद्यालयमा सोचेजस्तो सहज रुपमा अध्ययन गर्न नसकेको अनुभव उनको छ। 

कैलालीकै टीकापुरबाट सो विद्यालयमा अध्यापन गर्न आएका गौतम विकले विद्यालयमा पारिवारिक वातावरण पाएकोमा  मख्ख छन्।  'अपाङ्गता भएका साथी छन्, परिवारको जस्तो वातावरण छ', उनले भने, 'शिक्षक–शिक्षिकाले पनि राम्रो व्यवहार गर्नुहुन्छ, यहाँ हामीजस्ता बालबालिकालाई शिक्षाआर्जन गर्न सहज भएको छ।' कक्षा ७ मा पढिरहेका उनले पनि सुप समावेशीको स्तरोन्नतिको माग गरे। 'हामी यो वर्ष अन्तिम हो यहाँ पढ्ने, त्यसपछि अन्य विद्यालयमा जानुपर्छ’ उनले भने, 'अन्य विद्यालयमा आफू अनुकूलको वातावरण भए पढ्न सकिन्छ, नभए पढाइ छोड्नुपर्ने बाध्यता आउँछ।' सुप समावेशीलाई उच्च तहसम्मको अध्यापन गर्ने अनुमति दिए आफूजस्ता बालबालिकालाई पढाइमा सहज हुने विक बताउँछन्। 

'यहाँ हामीजस्ता बालबालिकालाई एकदमै राम्रो शैक्षिक वातावरण छ, हामीले यहाँबाट अपाङ्गता भएका बालबालिकाले पनि जीवनमा केही गर्न सक्छन् भन्ने कुरा सिकेका छाैँ', उनले भने, 'धेरै अपाङ्गता भएका व्यक्तिको जीवनीबाट हामीलाई प्रेरणा दिने काम सर–म्याडमहरूले गर्नुहुन्छ, बीच–बीचमा हाम्रो स्वास्थ्य अवस्थाका बारेमा पनि जाँच भइरहेको हुन्छ।' 

विद्यालयमा आउनुअघि हिँडडुलसमेत गर्न नसक्ने उनी अहिले भने हिँड्नुहुन्छ, अलि–अलि दौडिनु पनि हुन्छ। विद्यालयले समय–समयमा बालबालिकालाई मनोवैज्ञानिक परामर्श दिने, फिजियोथेरापी गर्नेलगायतका काम गर्दै आएको छ। जसले गर्दा बालबालिकामा शारीरिक र मानसिक दुवै किसिमबाट सुधार भइरहेको विद्यालयका संस्थापक अध्यक्ष मानबहादुर साउदले बताए ।उनका अनुसार २०६७ मा अपाङ्गता भएका बालबालिकाको शैक्षिक अवस्थालाई मध्यनजर गर्दै विद्यालयको स्थापना गरिएको हो।

 'विद्यालयको पहुँचभन्दा बाहिर रहेका शारीरिकरूपमा अपाङ्गता भएका बालबालिकालाई शिक्षाको दायरामा ल्याउन विद्यालयको स्थापना गरेका हौँ', उनले भने, 'त्यतिबेला बालबालिका विद्यालय आउन नमान्ने र अभिभावकले पनि छोरीछोरी पठाउन नमान्ने अवस्था थियो, अहिले त्यस्तो अवस्था छैन ।'

उनले १० विद्यार्थीबाट सुरु गरिएको विद्यालयमा अहिले ७२ अपाङ्गता भएका बालबालिका अध्ययन गरिरहेको बताए। विद्यालयमा आएसँगै बालबालिकामा अपाङ्गता भएका व्यक्तिले केही पनि गर्न सक्दैनन् भन्ने मानसिकता हटेको बताउँदै उनले पढेपछि जीवनमा केही गर्न सकिन्छ भन्ने सकारात्मक परिपक्वकता बालबालिकामा मौलाएको बताए। उनका अनुसार विगतको तुलनामा अभिभावकको मानसिकतामा समेत परिवर्तन आएको छ। 

एक जनामात्रै सरकारी दरबन्दीमा शिक्षक रहे पनि अन्य सबै लगाएर अहिले १२ कर्मचारीले विद्यालयमा काम गरिरहेका छन्। दुर्गालक्ष्मी सामुदायिक वनसँग जमिन मागेर विद्यार्थीलाई अध्यापन गराउनका लागि कच्ची संरचनाबाट सुरु गरिएको उक्त विद्यालयका पाँचवटा पक्की भवन निर्माण भइसकेका छन्। विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्दै जाँदा भौतिक संरचनाको भने अभाव हुन थालेको उनले बताए।

उनले विद्यार्थीलाई आवासीय व्यवस्थापन र पढ्ने कक्षाकोठाको पनि व्यवस्थापन गर्नुपर्ने भएकाले विद्यालयसँग रहेका भौतिक संरचना अपर्याप्त भएको बताए। विद्यालयमा बालबालिकालाई न्युट्रेसन सर्पोटका लागि एउटा गाई पालिएको छ।  गाई पाल्दा बालबालिकालाई न्युट्रेशन सर्पोट मिल्नुका साथै कृषि कार्यप्रति उनीहरूको सिकाइ पनि बढ्ने साउदले बताए। उनले त्यसैका लागि विद्यालयमा तरकारी खेती र कुखुरापालन पनि गरिएको बताए। उनका अनुसार विगतको तुलनामा विद्यालयको व्यवस्थापनमा सहजता आएको र आगामी दिनमा विद्यालयलाई नमूनाका रूपमा अगाडि बढाउने प्रयास भइरहेको छ।