close

शैक्षिक सुधारका लागि बालबालिकासँगै अभिभावक पनि विद्यालयमा

शैक्षिक सुधारका लागि बालबालिकासँगै अभिभावक पनि विद्यालयमा

Trulli
ADVERTISEMENT

दैलेख ।  गुराँस गाउँपालिका ५ की पुर्णकुमारी रावल वली  आफ्नो सन्तानसँगै दैनिक विद्यालय पुग्छिन् ।  २५ वर्ष टेकेकी वलीको दुई छोरा र एक छोरी घर नजिकैको सिद्ध मालिका प्राथमिक विद्यालयमा अध्ययन गर्छन् । विद्यालयको शैक्षिक गतिविधिबारे जानकारी लिन आफू छोराछोरीसँगै विद्यालय जाने गरेको उनी सुनाउँछिन् ।

छोराछोरीलाई विद्यालयमा पठाएसँगै घरधन्दामा व्यस्त हुने उनी आजभोलि आफ्नाे दैनिकी नै फेरिएको बताउँछिन् । 
'पहिला छोराछोरीलाई विद्यालय पठाएपछि घरधन्दाकै काममा व्यस्त हुन्थें,' उनले भनिन्।  विद्यालयमा सेभ द चिल्ड्रेनको सहयोगमा विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजना (सलम) को सुरुवात भएसँगै  छोराछोरीको अध्ययनसंगै पढाईकाे अवस्था बुझ्न विद्यालय जाने गरेको उनी सुनाउँछिन् । 

आफूसँगै अन्य अभिभावक पनि सन्तानको पढाई र शैक्षिक गतिविधि बुझ्न विद्यालय जाने गरेको उनले बताइन् । विद्यालयमा सलमको सुरुवात भएसँगै आफ्ना बालबालिकाको पढाइप्रति अभिभावकले चासो दिन थालेका उनले बताइन् ।

सन २०१९ बाट दैलेखको गुराँस गाउँपालिकाका  १४ वटा विद्यालयमा नमूना परियोजनाको रुपमा सो कार्यक्रम सञ्चालन हुँदै आएको छ । कार्यक्रम सञ्चालनका विद्यालयमा  नियमित अभिभावक बैठक गर्दै आएको उनले बताइन् । 

'बैठकमा विद्यालय सुधार र विद्यार्थीहरुको सिकाई उपलब्धी कसरी वृद्धि गर्न सकिन्छ भनेर छलफल हुन्छ । गुणस्तरीय शिक्षाको लागि अभिभावकको भूमिका के रहन्छ भन्ने बारेमा पनि शिक्षक अभिभावक र विद्यालय व्यवस्थापन समितिका सदस्यबीच छलफल हुन्छ,' उनले भनिन्, 'बैठकले छोराछोरीको सिकाई उपलब्धी बढाउन  अभिभावकको पनि सक्रिय संलग्नता हुनु पर्ने अनुभूति भएको छ ।'

पहिले छोराछोरीलाई विद्यालय पठाएपछि आफ्नो  जिम्मेवारी पुरा हुने मानसिकता रहेकाे उनी सुनाउँछिन् । तर त्यसाे नहुने रहेछ । 'सन्तानकाे पढाई थाहा पाउन विद्यालय जानु पर्ने रहेछ,' उनले सुनाइन् ।

सक्रिय सहभागिता 
विद्यालयमा हुने शिक्षक अभिभावक बैठकबाट सिकेका कुरालाई सार्थक बनाउन विद्यालयका हरेक गतिविधिमा पूर्ण कुमारीले सक्रिय सहभागिता जनाउन थालेकी छिन्  ।  सेभ द चिल्ड्रेनको सहयोगमा विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजना (सलम) लागू भएपछि विद्यालयमा धेरै परिवर्तन आएको बताइन्  ।

'हामी अभिभावक मिलेर विद्यालयमा शैक्षिक सामग्री निर्माणमा सघाउँछौ,’ उनले भनिन्, ‘विद्यालयमा शिक्षकले बालबालिकालाई राम्रोसँंग अध्यापन गरे न गरेको जानकारी पनि लिन्छौं ।’   परियोजना लागू भएपछि महिनामा एक पटक अनिवार्य अभिभावक शिक्षक बैठक बस्ने गरेको र आवश्यकता अनुसार व्यक्तिगत रुपमा शिक्षक अभिभावकको मात्र बैठक पनि हुने उनी बताउँछन्  ।  

'बैठकले आफ्नो बालबालिकाको पढाई अवस्थाको बारेमा आवश्यक जानकारी लिन र सुधार गर्न पर्ने कमजोरीहरु थाहा भएको छ,’ उनले भनिन्, ‘पहिला हामीले यस्तो कुरा थाहा थिएन ।  त्यती चासो पनि राखेको थिएनौं । तर अहिले हामीलाई महशुस भएको छ कि यो त हामीले चासो राख्न पर्ने महत्वपूर्ण कुरा रहेछ ।’

विद्यालय सुधारका बालबालिकाकाे अभिभावकहरु बैठकमा नियमित रुपमा आउने र छलफलमा सक्रिय सहभागिता जनाउँने गरेको सिद्धमालिका प्राथमिक  विद्यालयकी प्रधानाध्यपक गौरी शाही  बताउँछिन् ।  उनका अनुसार अभिभावकहरु बैठकमा नियमित रुपमा आउने र छलफलमा हुने सक्रिय सहभागिताले विद्यार्थीको सिकाइलाई सहजिकरण गर्ने दायित्वबोध गर्नेक्रम उल्लेख्य रुपमा बढेको छ ।  

'अभिभावकको संलग्नताले गर्दा विद्यालयमा धेरै कुरामा परिवर्तन आउन थालेकोमा खुसी व्यक्त गर्दछु,’ उनले भनिन्, ‘सबैभन्दा ठूलो परिवर्तन भनेकै हाम्रो विद्यालयको सिकाइ उपलब्धी हो ।  विद्यालयको सिकाई उपलब्धी २०७७ मा ७१ प्रतिशतमा थियो ।  २०७८सालमा ८५ प्रतिशत पुगेको छ । यस आर्थिक वर्षको लक्ष्य ९० प्रतिशत पु¥याउने लक्ष्य रहेको छ ।’

२९ जना बालबालिका अध्ययरत विद्यालयमा अप्रत्यासित रुपमा सिकाई उपलब्धी बढ्नुको मुख्य कारण विद्यालयमा अभिभावकको सक्रिय सहभागिता भएको प्रधानध्यपक शाहीको दावी छ । 'अहिले त  २/४ दिन विदा बस्नु पर्दा पनि अभिभावकलाई जानकारी गराउनै पर्छ,’ उनले भनिन्, ‘ एक दिन मात्रै पनि विद्यालयमा हामी शिक्षक विदा बसे फोन नै गरेर आज किन विद्यालय नआउनु भएको हो ? भनेर अभिभावकले सोधखोज गर्नुहुन्छ ।'

विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजनाको सहयोगमा गरिएका सुधारका प्रयासहरुबाट यो परिवर्तन संभव भएको उनको भनाई छ ।  अभिभावकको यो सक्रियताले गर्दा विद्यालयलाई पनि काम गर्न सजिलो भएको  अन्य वडाबाट समेत अभिभावकहरुले आफ्ना बालबालिकालाई यस विद्यालयमा भर्ना गर्ने क्रम बढेको उनले बताइन् ।