close

उदयपुरका १०९ घरपरिवारले पाए रोजगारी

उदयपुरका १०९ घरपरिवारले पाए रोजगारी

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १०९ घरपरिवारलाई रोजगारी दिइएको छ । कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७८/७९ को बजेटमा आधारित वडा नम्बर १६ का चार सडक योजनामार्फत सो क्षेत्रका १०९ घरपरिवारलाई रोजगारी दिइएको नगरपालिकाले बताएको छ ।


चार सडक निर्माण योजनाको नगर प्रमुख देवीकुमारी चौधरीले शिलान्यास गरेपछि यस क्षेत्रका १०९ घरपरिवारलाई रोजगारीसहित परिचालन गरिएको वडा नम्बर १६ का वडाध्यक्ष मानबहादुर राईले बताए । अध्यक्ष राईका अनुसार सिम्ले रातापानी सडक, गोरेपा रातमाटे तथा सिम्ले, सिमलपानी खरीटार, तीनधारे आँपडाँडा सडक र सिमले रातापानी सडक निर्माण सुरु गरिएको हो । 

 

गोरेपा रातमाटे २ किमि ५०० मिटरको लम्बाइ रहेको सडक निर्माणका लागि यस क्षेत्रका २० स्थानीयलाई रोजगारीमा खटाइएको अध्यक्ष राईले बताए ।

 

यस्तै, सिमले रातापानी सडकअन्तर्गत २ किमि लम्बाइ सडक निर्माण गर्न २० जना स्थानीय मजदुरलाई प्रयोग गरिन लागेको नगरपालिकाले जनाएको छ । 

 

१ हजार ७५० मिटरको लम्बाइको खरिटार तीनधारे सडक खण्डमा २५ मजदुरलाई रोजगारीमा लगाइएको छ भने रातापानी आँपडाँडा सडकअन्तर्गत २ हजार ५०० मिटर लम्बाइको सडक निर्माणका लागि २७ मजदुर प्रयोग गरिएका छन् ।

 

यस क्षेत्रका महिला, दलित र जनजाति तथा पिछडा र विपन्न वर्गका युवा तथा महिलालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पहिलो पटक रोजगारी प्रदान गरिएको नगरपालिकाकी अधिकृत निशा घलेले बताइन् ।


सडक निर्माणका इन्जिनियर चन्द्र ढुंगानाका अनुसार पहिला स्थानीय मजदुरलाई एक दिने आधारभूत तालिम दिइने र त्यसपछि काममा सहभागी गराउने तयारी छ ।