close

लोकदोहोरीका नवप्रतिभा जन्माउँदै जुम्ला

लोकदोहोरीका नवप्रतिभा जन्माउँदै जुम्ला

Trulli
ADVERTISEMENT

जुम्ला । लोक सस्कृतिमार्फत् जुम्लालाई राष्ट्रियस्तरमा चिनाउने तत्कालीन कार्तिकस्वामी गाविस–२ हाल चन्दननाथ नगरपालिका–१० बोहोरागाउँका महाशंकर देवकोटा हुन् । 

देउडा नाचमा गाइने गीतलाई पनि दोहोरी पनि भनिन्छ । नाचसँगै ठिटाठिटीले देउडा गीत गाउँछन्, यो गीतमा बाजा बजाउने चलन छैन । देउडा गीत सुदूरपश्चिमको प्रसिद्ध लोकसंस्कृति हो । 

प्रथम गायकका रूपमा परिचित देवकोटा देउडा गीत बिरामीका लागि औषधिजस्तै हुन्छ भन्ने गर्दथे । दिनभरि काम गरेर थाकेको शरीर साथीसँग बसेर देउडा गीत गाएर खेल खेल्दा थकाइ पनि मेटिने र विचार आदानप्रदान हुने उनको भनाइ थियो ।

उनका अनुसार ‘खेल्दा खुट्टा बाङ्गा गरेर चलाउने तथा देब्रेखुट्टा अगाडि बढाउने र दौडिएर खेल्दै गाइने भएकाले’ यसको नामांकरण देउडा गीत भएको हो । 

लोक संस्कृतिमार्फत् चिनाउने देउडा गायक देवकोटा अहिले हामी माँझ छैनन् । तर, उनले गाएका गीत अझै कानमा गुञ्जिएको आभास हुन्छ ।

सामबेदबाट उत्पति भएको देउडा गायन प्राचीनकालमा देवताले गाएर नाच्ने गर्दथे भन्ने मान्यता छ । जुन गीतबाट पनि प्रस्ट हुन्छ । 

समय क्रममा देवकोटाले सुरुवाती गरेको देउडा गीतले सुन्नेको पीर,मर्का पीडा मात्रै भुलाइदिएन । राष्ट्रिय स्तरमा देउवा गीतलाई परिचयात्मक र केही अनुयायीहरू पनि उत्पादन गर्न सफल भए । 

पछिल्लो समय लोकदोहोरी गायक क्षेत्रमा देखिएका विमला शाही, कर्ण बुढ्थापा, छत्र शाही पनि जुम्लाका हुन् । 

हिमा गाउँपालिका–७ जुम्लाका छत्र शाही अहिले सुप्रसिद्ध लोकदोहोरी गीत संगीतको धरोहर इन्द्रेणीमा आबद्ध छन् । उनले पनि गीत संगीतको माध्यमबाट जुम्लालाई राष्ट्रियस्तरमा पहिचान दिएका छन् । कर्णालीका (जुम्ला) हरेक दुख समस्या, अभाव, उत्पादित (स्याउ) बस्तुको बारेमा गीत संगीतबाट बजारीकरण तथा समस्या दर्शाउँदै आएका छन् । 

यस्तै, विमला शाही पनि जुम्लाकी लोकप्रिय लोकदोहोरी गायिका हुन् । उनले पनि रेडियो नेपालमा गीत गाएकी छन् । एल्बम निकाल्ने तयारी गरे पनि आर्थिक अभावका कारण आफूले एल्बम निकाल्न नसकेको उनले गुनासो सुनाइन् । 

‘कलाकारलाई मान प्रतिष्ठान सम्मान छैन । राज्यको लगानी नहुँदा लोकप्रिय कलाकार पनि हराउँदै जानुपर्ने स्थिति हुँदोरहेछ,’ उनले भनिन् । 

यस्तै, पञ्चकली बुढा पनि जुम्लाकै लोकदोहोरी नवगायिक हुन् । दुर्गम भेग पातारासी गाउँपालिकाकी बुढा आफ्नो नो प्रतिभा प्रस्फुटन गर्दैछिन् । हालै सुर्खेतमा राष्ट्रिय तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको प्रदेशस्तरीय एकल प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरेकी छन् । 

प्रथम स्थान हासिल गरेकी बुढाले सम्मानपत्रसहित २५ हजार नगद प्राप्त गरेकी छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्ला शाखाकी महिला उपाध्याक्षसमेत रहेकी बुढाले गीत संगीतमा चासो देखाउँदै आएकी छन् । 

‘अवसर प्राप्त भए पछि पर्ने छैनौँ । गीत संगीतकै माध्यामबाट जुम्लालाई राष्ट्रियस्तरमा चिनाउने जिम्मेवारी हाम्रो काँधमा छ,’ बुढाले भनिन् ।