close

मंसिर २२ देखि अरुण डाँडा महोत्सव

मंसिर २२ देखि अरुण डाँडा महोत्सव

Trulli
ADVERTISEMENT

पर्यटन प्रवर्द्धनका लागि मंसिर २२ देखि ‘अरुण डाँडा पर्यटन प्रवर्द्धन महोत्सव २०७९’ आयोजना हुने भएको छ । 

‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा बाह्य पर्यटन महोत्सव’ भन्ने मूल नारासहित पर्यटकीयस्थल पौवादुङमा–१ को अरुण डाँडामा छ दिनसम्म महोत्सवको आयोजना गर्न लागिएको हो । 
    
महोत्सवमा आगन्तुकलाई लक्षित गरी स्थानीय जातजातिका खानाका परिकार, कृषि सामग्री तथा उत्पादन प्रदर्शनी गरिनेछ । स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति पनि रहने अरुण प्रवर्द्धन समितिका अध्यक्ष सञ्जीव सुब्बाले पत्रकार सम्मेलनमार्फत् बताए । 

    उनले भने, ‘‘गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकास तथा प्रचारप्रचारका लागि महोत्सव आयोजना गरिएको हो । यसले यहाँका पर्यटकीय क्षेत्रसँगै भाषा, संस्कार र संस्कृतिको उत्थानमा समेत टेवा पुग्ने हामीले विश्वास लिएका छौँ ।’’

    महोत्सवमा पर्यटन प्रवर्द्धन गर्नेगरी विभिन्न सामग्रीका स्टल, विभिन्न भाषाभाषी र जातजातिको संस्कृति झल्काउने  प्रदर्शनी, स्थानीय  खाना तथा स्थानीयवासीको कृषि उत्पादन प्रदर्शन गरिने उनको भनाइ छ । 
    
    महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तु तथा सामग्रीलाई बजारीकरण गर्न सहयोग पुग्ने विश्वास छ । गाउँपालिकाको पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा प्रत्यक्ष लाभ पुग्ने समितिका सचिव सरोज चाम्लिङ राईले विश्वास जनाए ।

    गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले पर्यटन क्षेत्रको विकासमा गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको बताउँछन् । गाउँपालिकाले महोत्सव आयोजना गर्नका लागि रु १० लाख उपलब्ध गराएको छ । 

    ‘‘यस क्षेत्रको पर्यटकीय विकासमा गाउँपालिका योजनाबद्धरुपमा अगाडि बढेको छ”,उनले भने, “महोत्सवले गाउँपालिकाको आर्थिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”