close

उपत्यकाका स्थानीय तहको फोहोर व्यवस्थापन गर्ने आआफ्नै शैली

उपत्यकाका स्थानीय तहको फोहोर व्यवस्थापन गर्ने आआफ्नै शैली

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरको फोहोर व्यवस्थापन धेरैको चासो र सरोकारको विषय बनेको छ । महानगरको फोहोर व्यवस्थापनस्थल बन्चरेडाँडा र सिसडोलमा विभिन्न बाहनामा स्थानीयले अवरोध गरेपछि फोहोर उठ्न नसक्दा महानगरको फोहोर व्यवस्थापन चासोको विषय बनेको हो । 

फोहोर व्यवस्थापनकै विषयलाई लिएर काठमाडौं महानगर प्रमुख बालेन्द्र साहको आलोचना पनि सुरु भएको छ । तर, उल्लेखित स्थलमा सिर्जित समस्या काठमाडौं महानगरको एकल समस्या होइन । 

काठमाडौं जिल्लाका अन्य स्थानीय तहसहित २३ स्थानीय तहको फोहोर बन्चरेडाँडा र सिसडोलमै व्यवस्थापन हुँदै आएको थियो । तर,  काठमाडौं महानगरको फोहोर अधिक र ठुलो महानगर भएकाले पनि फोहोर विसर्जनस्थलसँग जोडिँदा फोहोर व्यवस्थापनमा कठिनाइ भएको हो । 

केही समयअघि फोहोर व्यवस्थापनका लागि उपत्यका नगरपालिका फोरमको संयुक्त बैठकले कुहिने र नकुहिने फरक–फरक उठाइ रिसाइकलिङ गरी बहुउपयोगमा ल्याउने निर्णय गर्‍यो । 

तर, तत्काल कार्य प्रारम्भ हुन सकेको छैन । ठाउँ अभावका कारण महनगरलाई फहोर बन्चरेडाँडा र सिसडोल लैजान बाध्य छ । तर, केही स्थानीय तह नगरको फोहोर नगरमै विसर्जन कार्य / प्रक्रिया सुरु गरेको बताउँछन् । 

टोखा नगरपालिका 

उपत्यकाका अन्य स्थानीय तहको जस्तै टोखा नगरपालिकाको फोहोर पनि सिसडोल र बञ्चरेडाँडाको डम्पिङ साइटमा पुग्ने गर्छ । डम्पिङ साइटमा फोहोर पुग्नु समस्याको दीर्घकालीन समाधान नहुने टोखा नगरपालिकाको प्रमुख प्रकाश अधिकारी बताउँछन् । 

फोहोरको वर्गीकरण घरबाटै गरेर प्रकृतिअनुसार व्यवस्थापन गर्ने टोखा नगरपालिकाको योजना छ । कुहिने फोहोरलाई कम्पोष्ट मलमा रुपान्तरण वा बायोग्यास निकाल्ने भनेर अध्ययन भइरहेको उनले बताए । 

दोस्रो कार्यकालका लागि नगरप्रमुखको जिम्मेवारी सम्हालेका अधिकारीले पहिलो कार्यकालमा कुहिने फोहोरको व्यवस्थापनका गर्नका लागि आफूले कौसीखेतीको अभियान चलाएको बताए । 

तर, फोहोर धेरै निस्किने र कौसीखेती गर्ने ठाउँ थोरै हुँदा कौसीखेती कार्यक्रम पनि प्रभावकारी नभएको उनले बताए । कुहिने फोहोरको व्यवस्थापन घरमै गर्नसके नकुहिने फोहोर लामो समय घरमै भण्डारण गर्न सकिने उनको भनाइ छ । 

कम्पोष्ट मल बनाउनका जमिन खोज्ने काम भइरहेको बताउँदै उनले भने, ‘कुहिने फोहोरको व्यवस्थापनका लागि नयाँ प्रविधि भित्र्याउने योजनामा छौँ । जसका लागि धरानको एक कम्पनीलाई जमिन देखाएको, तर जमिन उपयुक्त भएन ।’

नगरपालिकाले विभिन्न कम्पनी तथा विज्ञसँग छलफल गरिरहेको बताउँदै उनले वडा नम्बरको ९का २०० घरधनीलाई कम्पोष्ट मल बनाउने तालिम दिने तयारी भइरहेको उनले बताए । 

नगरपालिकाले फोहोर वर्गीकरणका लागि नगरपालिकाको ७० प्रतिशत र स्थानीयले ३० प्रतिशतमा सेग्रिगेसन विन (बाल्टी) वितरण गर्ने निर्णय गरेको छ । 

गोकर्णेश्वर नगरपालिका

गोकर्णेश्वर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि जापानिज प्रविधि प्रयोग गरेर नकुहिने फोहोर व्यवस्थापन गरिरहेको छ । इन्सिनेटर मेसिनबाट दैनिक १० टन नकुहिने फोहोर जलाएर नष्ट गरिरहेको गोकर्णेश्वर नगरपालिकाको प्रमुख दीलिपकुमार रिसालले बताए । 

नगरप्रमुख हुनुपूर्व उनी नगरपालिकाको प्रमुख सल्लाहकार थिए । जापानको स्थलगत अध्ययन गरेर इन्सिनेटर मेसिन भित्र्याएको उनले बताए । ‘यो प्रविधि भित्रिएपछि फोहोर व्यवस्थापन सहज बनेको छ,’ उनले पालिकाखबरसँग भने । 

फोहोरको दीर्घकालीन रूपमा व्यवस्थापन गर्न कुहिने फोहोरको व्यवस्थापन गर्न जरुरी रहेको उनको भनाइ छ । यस्तै, भक्तपुरमा कुहिने फोहोरबाट मल बनाउन जापानिज सिएनबिएम प्रविधिको प्रयोग भइरहेको छ । 

कुहिने फोहोर व्यवस्थापनका लागि गोकर्णेश्वर नगरपालिकाले जापानिज सिएनबिएम प्रविधि प्रयोगमा ल्याउन लागेको उनले बताए । 

कम्पोष्ट मल बनाउन १० रोपनी जग्गामा टहरा बनाउने काम भइरहेको बताउँदै उनले दुईदेखि तीन महिनामा फोहोर व्यवस्थापन गर्ने नगरप्रमुख रिसालले बताए । 

कीर्तिपुर नगरपालिका

कीर्तिपुर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि आफ्नै डम्पिङसाइट बनाएको छ । सिसडोल र बञ्चरेडाँडाकै भर परेर फोहोर फाल्नुपर्ने बाध्यता नरहेको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी बताउँछन् । 

‘सडकमा फोहोर थुपारेर राख्नुपरेको छैन । हामी आफ्नो नगरपालिकाभित्रको फोहोर व्यवस्थापन आफैँ गरिरहेका छौँ,’ उनले भने । 

विभिन्न एनजिओ र आइएनजिओसँग मिलेर फोहोर व्यवस्थापनको वैकल्पिक माध्यमको खोजिरहेको उनले बताए । 

भक्तपुर नगरपालिकाले जापानिज प्रविधिबाट कम्पोष्ट मल बनाइरहेको छ । उसले नकुहिने फोहोर बेच्छ । मनोहरा नदीको किनारमा डम्पिङसाइट बनाएर फोहोर फाल्छ । भक्तपुर नगरपालिका आफ्नो नगरपालिकाको फोहोर बाहिर नपठाइ व्यवस्थापन गरिरहेको छ । 

उपत्यकाबाट मात्र नभई काभ्रेको बनेपादेखि सिसडोल र बन्चरेडाँडामा फोहोर विसर्जन हुन पुग्छ । फोहोर व्यवस्थापनका लागि उपाय खोजी रहेको नगरप्रमुख शान्तिरत्न शाक्यले बताए । 

‘काभ्रेपलाञ्चोक जिल्लाका नगरपालिकाहरू मिलेर कम्पोष्ट मल र रिसाइकलिङ एकै ठाउँमा गर्ने योजना बनेको छ । अब यो योजनालाई कार्यान्वयनमा ल्याउन काम गछौँ,’ उनले टेलिफोन सम्पर्कमा पालिकाखबरसँग भने । 

उपत्यकाका मेयर आफ्नो स्थानीय तहको मात्र नभई उपत्यकाकै फोहोर व्यवस्थापन हुनुपर्ने बताउँछन् । उपत्यकाकै समस्या समाधान गर्न उपत्यकाका सबै स्थानीय तह मिलेर अघि बढ्नुपर्ने उनीहरूको तर्क छ । 

फोहोर व्यवस्थापनका लागि खुला जमिन चाहिन्छ । तर, घना बस्तीका कारण खुला जमिन पाउन मुस्किल रहेको नगरपालिकाको भनाइ छ ।

दीर्घकालीन समाधानको खोजी भइरहेकाले समय लागेको उनीहरूको स्विकारोक्ति छ । अनावश्यक अवरोधबिना काम गर्न पाए फोहोरको समस्या समाधान गर्न सकिन्छ । चाँडै सिसडोल र बञ्चरेडाँडाको भर नपर्ने दाबी उपत्यकाका नगरप्रमुखहरूको छ ।