close

पहिलो पटक वाइड बडी चढेर भैरहवा अवतरण हुँदा...

पहिलो पटक वाइड बडी चढेर भैरहवा अवतरण हुँदा...

Trulli
ADVERTISEMENT

काठमाडौँ । बिहीबार साँझ संघीय राजधानी काठमाडौँको तापमान झन्डै २२ डिग्री सेल्सियस थियो । सबैले गर्मी महसुस गरी नै रहेका थिए । त्यसमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अगाडि यात्रुको भीड सामान्यभन्दा बढी नै थियो ।

 

भीड पनि किन नहोस् त । नेपालमा पहिलो पटक ठुलो विमानले देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्दै थियो । नेपाल एयरलाइन्सको वाइड बडी विमान तम्तयार अवस्थामा रहे पनि निर्धारित समयमा उड्न सकिरहेको थिएन । कारण थियो, सधैँ विवादमा आइरहने पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको व्यस्तता । त्यही भएर निर्धारित समयमा विमानस्थल पुगेका सबै जना भलाकुसारी मै व्यस्त देखिन्थे ।

 

अरू बेला आन्तरिक यात्रु कै चाप थेग्न मुस्किल हुने आन्तरिक टर्मिनलमा एकै पटक साढे २ सयभन्दा बढी मानिस जम्मा हुँदा माहौल नै फरक देखिन्थ्यो । नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारी, पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रतिनिधि एवं व्यवसायी तथा सञ्चारकर्मीको भीडले विमानस्थल उकुस मुकुस देखिन्थ्यो तर पनि सबैको मनमा उत्सुकता भने निकै थियो ।

 

त्यसमाथि बेला बेलामा सबै जना मन्त्री आले कति बेला आइपुग्लान् भनेर नजर दौडाइ रहेका देखिन्थे । विमानबाट मन्त्री आलेसँगै पर्यटन सचिव महेश्वर न्यौपाने, प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीलगायत विशिष्ट व्यक्ति एवं चालक दलका सदस्य सहित २ सय ६० भैरहवा जाँदै थिए ।

 

३ बजे उड्ने कार्यक्रम रहे पनि विमान साँझ ५ बजेर १२ मिनेट जाँदा मात्रै मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो । विमान त्यहाँ ५ बजेर ५५ बजे अवतरण भयो ।

 

काठमाडौँबाट भैरहवा २७ मिनेटको उडान भए पनि ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’  भएकाले जहाजले धावनमार्ग नजिकबाट ओभरसुट गर्दै भैरहवामा चक्कर लगाएर मात्रै अवतरण गरिएको थियो । 

 

वाइड बडी जहाजको चालक दलका सदस्यको नेतृत्व वरिष्ठ क्याप्टेन श्रवण रिजालले गरेका थिए । उनले मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा वाइड बडी जहाज अवतरण गराउन पाउँदा आनन्द अनुभूति गरेको बताए । अब नेपालको लुम्बिनीलाई संसारभर चिनाउन यसले टेवा पुग्ने उनको भनाइ थियो ।

 

त्यति बेला भैरहवाको तापमान ३८ डिग्री सेल्सियस थियो । गर्मी कुनै परवाह नगरी विमानस्थलमा ओर्लिएको जत्थाका माहौल थप उल्लासमय बन्यो । स्थानीयको उपस्थिति, सङ्घ संस्थाका प्रतिनिधि, व्यवसायी, सुरक्षाकर्मी आदिको बाक्लो उपस्थिति थियो । वाइड बडी जहाजले प्रसिद्ध लुम्बिनी क्षेत्रलाई चक्कर मारेर अवतरण गर्दा जहाजभित्र निरन्तर ताली बज्दै थियो ।

 

जहाज अवतरण भएपछि पानीका फोहोरालाई स्वागत गरियो । विमानस्थल वरिपरि र भित्र जहाज हेर्ने र फोटो, भिडियो, सेल्फी खिच्नेको भीड देखियो ।

 

सामान्य अवस्थामा ४० हजारभन्दा माथि फिटमा उडान भर्ने वाइड बडी जहाजलाई १७ हजार फिटबाट उडान भर्नु पर्ने आदेश थियो । 

 

वाइड बडी जहाजको चालक दलका सदस्यको नेतृत्व वरिष्ठ क्याप्टेन श्रवण रिजालले गरेका थिए । उनले मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा वाइड बडी जहाज अवतरण गराउन पाउँदा आनन्द अनुभूति गरेको बताए । अब नेपालको लुम्बिनीलाई संसारभर चिनाउन यसले टेवा पुग्ने उनको भनाइ थियो ।

 

‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’  सफलतापूर्वक सम्पन्न भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट, प्रोसिउडर डिजाइनिङ कुनैमा समस्या छैन,’ उनले भने ।

 

विमानस्थलको धावनमार्ग काठमाडौँबाट आउने २–८ र पश्चिमतर्फ लुम्बिनीबाट आउने १–० रुटको दुवैतर्फबाट वाइड बडीले अवतरणको प्रयास गरेको थियो । दुवैतर्फबाट जहाज सहजरुपमै अवतरण गर्न सकिने क्याप्टेन रिजालको भनाइ छ । काठमाडौँबाट आएको वाइड बडी जहाज २–८ बाट अवतरण भएको थियो । अहिलेको लागि १–० रुट नै सहज हुने क्याप्टेन रिजालले बताए । 

 

अब अन्तर्राष्ट्रिय उडानका जहाज नेपालको हवाई प्रवेश बिन्दु सिमराबाट प्रवेश गरेर नारायणघाट हुँदै गौतमबुद्ध विमानस्थलमा अवतरण गर्नेछन् । यो सँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि  अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।

 

विमानस्थलमा करिब दुई घण्टाको औपचारिक कार्यक्रमपछि काठमाडौँबाट गएको मन्त्रीसहितको टोली वाइड बडी जहाजमार्फत नै राति साढे १० बजे काठमाडौँ फर्किएको थियो ।

 

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बहुप्रतिक्षित गौतमबुद्ध गौतमबुद्ध विमानस्थलमा आगामी जेठ २ गतेदेखि २४ घण्टा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनेछ । रासस