close

जनताकाे मन जित्दा समेत पार्टीबाट तिरस्कृत एक जनप्रतिनिधि

'इमानको राजनीतिक निष्ठाभित्र रहँदा बेइमानी गर्न उक्साउने, नमाने धम्क्याउने चरित्रविरुद्ध लडेँ ।'

जनताकाे मन जित्दा समेत पार्टीबाट तिरस्कृत एक जनप्रतिनिधि

'इमानको राजनीतिक निष्ठाभित्र रहँदा बेइमानी गर्न उक्साउने, नमाने धम्क्याउने चरित्रविरुद्ध लडेँ ।'

Trulli
ADVERTISEMENT

नमोबुद्ध । आज २०७९ साल जेठ ५ गते अर्थात् ५ वर्षअघि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल समाप्त हुने दिन ।

 

पाँच वर्ष अघि विजयी भएर पालिका प्रमुख वा अध्यक्षको पदमा विराजमान कतिपय जनप्रतिनिधि यसपाली हार व्यहोरेर बिदा हुँदै छन् । कतिले जितसँगै आफ्नो अधुरा योजनालाई निरन्तरता पनि दिन पाउने छन् । नराम्रो काम गरेको भन्दै कतिपयले दोस्रो कार्यकालका लागि टिकट पनि पाएनन् ।

 

तर, ती जनप्रतिनिधिहरूको बिचमा केही यस्ता अनुहार पनि छन्, जसले राम्रो काममा गरे बापत पार्टीबाट स्याबासी होइन, पीडा पाएका छन् । राम्रो काम गर्दा गर्दै केही स्वार्थी नेताको आँखा बिझाउन पुग्दा त्यही पदमा दोहरिन पाएनन् ।

 

त्यही मध्ये हुन्, नमोबुद्ध नगरपालिकाका निवर्तमान मेयर टि‍.पी शर्मा तिमल्सिना ।

 

तिमल्सिनाले आफ्नो कार्यकालमा नमोबुद्धलाई वातावरणीय प्रदूषणबाट जोगाउन साहसिक निर्णय गरे । भकुन्डेबेसीमा रहेका इट्टा भट्टा हटाएर । उनको त्यो निर्णय इट्टा व्यापारीका लागि त असहज बन्यो नै त्यसभन्दा बढी उनकै पार्टीका चल्तापुर्जा नेताको आँखा पनि बिझायो । 

 

त्यसमाथि निवर्तमान मेयर तिमल्सिनाले नमोबुद्धलाई सडक मानवमुक्त नगरपालिका मात्रै बनाएनन्, नगरपालिका प्रमुख भए बापत मासिक पाउने पारिश्रमिकबाट बालबालिकाका लागि शिक्षाको जोहो समेत गराएका छन् ।

 

निवर्तमान हुँदा तिमल्सिनाले व्यक्तिगत हारको सामना गर्नु परेन । तर, एमालेको किल्ला मानिने नमोबुद्ध नगरपालिकामा पार्टीको त्यो साखलाई भने जोगाइ दिन सकेनन् ।

 

हुनत केही नेताका आँखाको कसिंगर बने पनि उनले आफ्नो पार्टी एमालेले नगरप्रमुखको उम्मेदवार बनाएका राजन भुर्तेलका लागि मत मागे । तर, जनताले उनको कुरा सुनेनन्, उल्टै काँग्रेसका कुनसाङ लामालाई अत्यधिक बहुमतले जिताइ दिए । अर्को एउटा लालकिल्ला भत्काइ दिए ।

 

निवर्तमान हुनुअघि, तिमल्सिनाले सामाजिक सञ्जालमा भने केही वेदना पोखेका छन् । 

 

‘सकियो समय, बेचिनँ इमान, कमाएँ माया र स्नेह

अब बाँचुन्जेल निभाउँछु, जिम्मेवारी र कर्तव्य

जय नमोबुद्ध ।’

 

तिमल्सिनालाई अहिले पनि जनताका लागि काम गर्न पाएकोप्रति गर्व लागेको छ ।

 

‘५ वर्ष अर्थात् लगभग १८२५ दिन मैले नगरवासीको हितबाहेक अरू सोचिनँ । नगरको सर्वाङ्गीण हित, नगरको विकास र नगरवासीको खुसीका खातिर विवेकसम्मत काम गरेँ,’ उनले सञ्जालमा लेखेका छन् ।

 

शायद, निवर्तमान मेयर तिमल्सिनाको भावनाभन्दा पनि बढी वेदना जनताको मनमा गडेको हुनुपर्छ । वडामा एमालेका उम्मेदवारहरूलाई मत हाल्ने जनताले प्रमुखमा भुर्तेललाई मत दिएनन् । नगरको लागि काम गरेको नेताको टिकट खोसिँदा रुष्ट बनेका जनताले एमालेसँग बदला लिए, मत परिणामले यही भन्छ । 

 

‘गणतान्त्रिक नेपालको पहिलो मेयर भएका नाताले आधार निर्माण गर्नु मेरो पहिलो जिम्मेवारी थियो,’ निवर्तमान मेयर तिमल्सिनाको धारणा छ, ‘कार्यालय तथा कर्मचारी व्यवस्थापन, विधिको शासनका लागि कानुन निर्माण, जनसेवाका लागि संरचना निर्माण, नगरवासीलाई सहज सेवा प्रवाह, आन्तरिक श्रोत पहिचान र प्राप्त स्रोतको व्यवस्थापन लगायतका चुनौती सामुन्ने थिए । १सय ८ वटा कार्यपालिका बैठक, १० वटा नगर सभा सम्पन्न भइरहँदा त्यसको कालजयी प्रभावबारे नयाँ पुस्ताले समीक्षा गर्ला नै ।’

 

हुनत उनले नगरमा भएका कामको एक्लो जस लिने प्रयास समेत गरेका छैनन् । 

 

‘म एक्लैले केही गरेको होइन र सकिँदैन पनि । मैले नेतृत्व गरेको हुँ, तपाईँ सबैको उत्तिकै साथ, सहयोग र समर्थन पाएँ । र त आज कार्यसम्पादनका क्रममा जिल्लाकै उत्कृष्ट र मुलुकभरिमा १३ औँ उत्कृष्टमा नमोबुद्धको नाम छ । यसमा गर्व छ ।’  

 

नगरप्रमुखमा दोहरिन नपाउँदा उनले चित्त दुखाएका छैनन् । बरु झन् आत्मविश्वासी बनेको सन्देश दिएका छन् ।

 

‘राजनीतिले मलाई सेवा गर्ने मौका दियो । मानवसेवा नै धर्म हो भन्ने मेरा पिताजीको संस्कार नै मेरो शक्ति हो । यही शक्तिले मलाई गलत सोच, विचार र निर्णय गर्न दिएन,’ उनी भन्छन् । 

 

उनले अन्त्यमा भनेका छन्, ‘इमानको राजनीति नै मेरो निष्ठा हो । यही निष्ठाभित्र रहँदा बेइमानी गर्न उक्साउने, नमाने धम्क्याउने चरित्रविरुद्ध लडेँ । राजनीतिको जोड घटाउको समीकरण मिलाउन इमान बेचिनँ । मेरो राजनीतिक भविष्य नहेरी नगरवासीको भविष्यका खातिर गलत पात्र र प्रवृत्तिविरुद्ध उभिइरहेँ, लडिरहेँ । र त आज नगरवासीको अथाह स्नेह लिएर जाँदै छु । आउँदो नेतृत्वलाई पनि नमोबुद्धको इमानको राजनीतिक संस्कारलाई कायम राख्न अनुरोध गर्दछु ।’