close

यसरी व्यवस्थापन हुँदै छन्, महानगरका सडक मानव

यसरी व्यवस्थापन हुँदै छन्, महानगरका सडक मानव

Trulli
ADVERTISEMENT

काठमाडौँ । भविष्यको सपना बुनेर काठमाडौँ आउने अनि यहाँको भीडमा हराउनेको संख्या कम छैन । त्यसैले भन्ने गरिन्छ, काठमाडौँ सपनाको सहर हो । कतिले देखेको सपनाभन्दा बढी पाउँछन् अनि कतिपय सधैँ रित्तो हात रहन्छन् ।

काठमाडौँ अवसरका अनेकौँ उपाय छन् । कति आफ्नै खुट्टामा उभिएर केही गर्न चाहन्छन् भने कतिपय अरूको शरणमा परेर । पछिल्लो समय काठमाडौँ कुरूप पनि बन्दै छ । कुरूप बनाइँदै छ । काठमाडौँबासीले जीवनमा कहिल्यै नदेखेका माग्नेहरूको भीडले काठमाडौँका सडक र फुटपाथलाई झिँजो लाग्दो बनाइ रहेको छ ।

भिडभाड हुने सडकमा कतै गाडी रोकिनु हुँदैन, माग्नका लागि दुई हात तयार भएर बसेका हुन्छन् । काठमाडौँबासीलाई नौलो लाग्ने अनुहार र भाषा बोल्ने माग्नेहरूको भीड निकै बढेको छ ।

पर्यटन नै प्रमुख उद्योग रहेको काठमाडौँ जस्ता ठुला सहरलाई विश्वभर माग्नेको देशका रुपमा परिचित गराउन ती हातहरू नै पर्याप्त बन्दै गएका छन् ।

त्यही माग्नेहरूको भीडमा जीवन धान्ने केही उपाय नलागेपछि मागेर खानुको विकल्प नभएकाहरू पनि नरहेका होइनन् । तर, काठमाडौँ भेटिने हरेक सडक मानवको गाँस, बास र कपासको व्यवस्था गर्नु राज्यको दायित्व पनि हो । 

काठमाडौँमा मठ मन्दिर र सडकमा दुईथरी माग्ने भेटिन्छन् । एकथरी बाध्यताले माग्न बसेका छन् अर्कोथरी माग्नुलाई नै पेसा बनाइरहेका छन् ।

पछिल्लो समय काठमाडौँ महानगरपालिकाले भिक्षा माग्ने कार्यलाई व्यवसाय बनाउनेलाई नियन्त्रणमा लिएर बेसहारा जीवन बिताइ रहेकाहरूलाई बाँच्नका लागि सहज वातावरण बनाउने निर्णय गरेको छ ।  

शुक्रबार सूचना जारी गर्दै १० दिन भित्रमा सार्वजनिक स्थलमा भिख माग्ने र माग्ने काम लगाउने कार्यलाई प्रतिबन्ध लगाउने निर्णय महानगरपालिकाले गरेको हो । 

यो निर्णयसँगै काठमाडौँ महानगरपालिकाको सार्वजनिक स्थलमा भिख माग्न बन्देज लाग्ने छ । यसका साथै सनातन धर्मअनुसार घरघरमा गएर माग्ने सन्त, जोगी, भिक्षु र कुनै धार्मिक कार्यको लागि चन्दा माग्न भने महानगरपालिकाले छुट दिएको छ । 

तर, महानगरपालिकाले कसरी भिक्षा मागेर जीवन यापन गर्ने समूह र माग्ने व्यवसाय गरिरहेकाहरूलाई छुट्टाउने आधार भने बनाएको छैन । जसले गर्दा धर्मका नाममा माग्ने व्यवसाय नरोकिने हो कि भन्ने चिन्ता पनि व्यक्त गर्न थालिएको छ । 

काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्य समेत आफूहरूसँग धार्मिक आधार मै मागेर खाने तथा माग्नुलाई पेसा बनाउनेको तथ्यांक नरहेको स्विकार्छन् । हुनत नेपालमा अहिलेसम्म धार्मिकरुपमा भिक्षा माग्नेको तथ्यांक राख्ने निकाय पनि छैन । 

‘चोक–चोक र सडक–सडकमा भिखारी छन् । सार्वजनिक यातायातभित्र, सडकबत्तीमा गाडी रोकिएको बेला पीडा देखाएर माग्नेहरूको संख्या निकै छ,’ आचार्य भन्छन्, ‘मानवीय दृष्टिकोणले समेत सहरमा यस्ता कारुणिक दृश्य देखिनु हुँदैन । त्यसैले हामीले उहाँहरूको व्यवस्थापन गर्ने निर्णय गरेका हौँ ।’

मानव सेवा आश्रमसँग सहकार्य गरेर उद्धार गरिएका भिखारीको खाने, बस्ने र उपचारको व्यवस्था गरिने छ । साथै अशक्त, असहाय, बेवारिसे माग्नेलाई आश्रमको जिम्मामा लगाउने समेत उनले बताए । 

उनका अनुसार नै काठमाडौँमा दुई प्रकारका भिखारी छन् । घर, परिवार, अभिभावक वा संरक्षण गर्ने कोही नभएपछि सडकको सहारामा आउने एकथरी छन् । महानगरपालिकाले यस्तालाई आश्रममा राख्ने छ । 

माग्नुलाई पेसा बनाएका तथा अमानवीय ढङ्गमा माग्न लगाइएकाहरूको व्यवस्थापनमा भने केही चुनौती रहेको आचार्य बताउँछन् । 

‘यस्ता भिखारीहरू आश्रममा गएर बस्न मान्दैनन् । उनीहरूलाई आश्रममा राखे पनि निस्केर हिँड्छन् । त्यसैले त्यस्तालाई माग्नबाटै बन्देज गरिने छ । बरु आवश्यक परे उनीहरूलाई सीपमूलक काममा लगाइने छ,’ आचार्यले पालिका खबरलाई जानकारी दिए । 

बाटोमा भेटिएमा भिखारीहरू सबैलाई उद्धार गरेर मानव सेवा आश्रममा पुर्‍याउने उनले बताए । आश्रममा पुर्‍याएपछी उनीहरूको क्षमता र आवश्यकता अनुसार व्यवस्थापन गरिने महानगरपालिकाको योजना रहेको छ ।

सूचना अधिकारी आचार्य भन्छन्, ‘बाटोमा देखेको भरमा नै कसैको क्षमता के हो भन्ने थाहा हुँदैन । त्यसैले आश्रममा पुर्‍याएर मात्र कसलाई कसरी व्यवस्थापन गर्ने निर्णय गरिने भएको छ, आश्रममा रहन चाहने भिक्षुहरू सबैले बस्न पाउने छन् ।’

अर्कोतिर कतिपयले बालबालिकाहरूलाई बिहान सार्वजनिक स्थानमा छाडेर माग्न लगाउने तथा बेलुका लिएर जाने गर्छन् । त्यस्ता बालबालिकालाई भने परिवार खोजेरै सडकमा नछाड्ने सर्तमा जिम्मा लगाइने महानगरपालिकाले जनाएको छ । 

बालबालिकालाई पढाउनको लागि अभिभावकलाई सचेत गराउने तथा परिवारले पढाउन नसक्ने भए महानगरले जिम्मा लिने समेत आचार्यले बताए ।

नेपाली भाषा सम्म नजान्ने मानिसहरू सडकमा देखिने गरेको सूचना पाएको तथा त्यस्ता माग्नेहरू कहाँबाट आए भन्ने जानकारी पाउन कठिन हुने हुँदा व्यवस्थापनमा चुनौती थपिएको उनले बताए । उनीहरूलाई पनि आश्रममा पुर्‍याएर परिवारको खाजी गरिने छ । 

भिक्षा माग्ने काम बन्द नगरे मुलुकी ऐन आचारसंहिताको दफा १२६ अनुसार कारबाही हुने महानगरले चेतावनी दिएको छ । 

पहिलो पटक भिख मागेकोलाई भिख मागेको भए १ हजार जरिवाना वा एक महिना जेल सजाय र दोस्रो पटकदेखि हरेक पटक २ हजार रुपैयाँ जरिवाना वा दुई महिना कैद हुने आचारसंहितामा उल्लेख छ । 

यस्तै माग्न लगाउनेहरूलाई १० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म जेल सजाय वा दुवै सजाय हुनसक्छ भने दोस्रो पटकदेखि माग्न लगाएको पाइएमा हरेक पटक ३० हजार रुपैयाँ जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ । 

३ वर्ष अगाडी पनि काठमाडौँलाई चाँडै सडक मानवमुक्त सहर बनाउने घोषणा भएको थियो । मानव सेवा आश्रमसँगको सहकार्यमा महानगरपालिकाले काठमाडौँलाई सडक मानवमुक्त बनाउने घोषणा गरेको थियो । देशव्यापी रूपमा पनि भिखारी रहित सडक बनाउने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि घोषणा गरेका थिए । उनले कोही पनि भोको बस्न नपर्ने र भोकले मर्न नपर्ने दाबी गरेका थिए । 

प्रदेशहरूले पनि यस्ता घोषणा गर्दै आएको भए पनि यसको प्रभावकारी कार्यान्वयन भएको भने देखिँदैन । 

यता, मानव सेवा आश्रमले भने बेसहारा मानिसको सेवाको लागि आफू तयार रहेको बताएको छ । मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले हाल उपलब्ध भएको क्षमता अपुग भएमा आश्रमको क्षमता बढाउँदै लैजाने बताए । 

वास्तविक दुःख पाएका मानिसहरूको उद्धार गरी कसैलाई पनि सडकमा बस्न नपर्ने व्यवस्था गर्न महानगरपालिकासँगको सहकार्यमा भिखारीरहित महानगर बनाउने आश्रमको भनाइ छ । 

काठमाडौँ उपत्यकामा आश्रमका रानीवन र सामाखुसीमा गरी दुई वटा केन्द्र रहेका छन् । रानीवनमा १७० जना र सामाखुसीमा  ४० जना बेसहारालाई आश्रय दिँदै आएको छ ।  

‘बेसहारा मात्र हैन कुलतमा फसेर सडकमा जीवन बिताइरहेका मानिसहरू पनि प्रशस्त छन् । तर, उनीहरूलाई आश्रममा ल्याएर राख्न पनि निकै मुस्किल छ,’ अधिकारीले भने । 

आश्रममा आएका श्रम गर्न सक्ने तर बेसहारा मानिसहरूलाई जीवन उपयोगी तालिम दिएर आयआर्जनको काममा लगाउने उनले बताए । 

‘हेटौँडाको सेवा केन्द्रमा तरकारी र फलफूल खेती गरिएको छ । जग्गा भएका ठाउँमा खेतीपाती, गाई पालन गरिएको छ,’ उनले बताए । साथै आश्रमले फूल, रुद्राक्षको माला बनाउने तालिम दिएर आत्मनिर्भर बनाउन जोड दिएको उनले बताए । मानव सेवा आश्रमले स्वावलम्बी बनाएर परिवारसित पुनर्मिलन गराउने कार्य समेत गरिरहेको छ ।   

हाल नेपालभरिका १९ जिल्लाको २२ ओटा सेवा केन्द्रबाट मानव सेवा आश्रमले सेवा प्रदान गर्दै आइरहेको छ । १६ सय भन्दा बढी असहाय मानिसले आश्रमबाट सेवा लिइरहेका छन् ।