close

मनाङ जाने सडक : डेथ रोडभन्दा पनि डरलाग्दो

मनाङ जाने सडक : डेथ रोडभन्दा पनि डरलाग्दो

Trulli
ADVERTISEMENT

काठमाडौँ । एडभेन्चर वा साहसी खेल रमाइलो लाग्नेलाई मनाङ यो मौसममा गन्तव्य बन्न सक्छ । किनकि यहाँ आउने सडकले दक्षिणी अमेरिकी देश बोलिभियाको संसार प्रसिद्ध डेथ रोड वा मृत्यु सडकलाई मात दिने मजा दिन सक्छ। बाटोको बीच बीचमा भेटिने दुर्घटनाग्रस्त गाडीहरूले साहसलाई दोब्बर बनाइदिन सक्छ।

तर, मुटु कमजोर भएका मानिसले अब मनाङ जाने आँट नगरे हुन्छ। मर्मत तथा सम्भार नगरेकाले मनाङ जाने एकमात्र बेसीशहर–चामे सडक यति डरलाग्दो बनेको छ की हरेक घुम्तीमा आङ सिरिङ्ग हुन्छ,  डरले म किन आएछु जस्तो पनि लाग्न सक्छ।

भौगोलिक रूपमा विकट हिमाली जिल्ला मनाङको मेरुदण्ड मानिएको सडकखण्ड बेसीशहर–चामे मर्मत तथा सम्भार गर्न समस्या भएपछि जोखिम बढ्दै गएको छ। सडक निर्माण तथा मर्मत गर्ने अत्यन्त कम समय उपलब्ध हुने भएकाले बाढीपहिरोले क्षति पुर्‍याएको सडक खण्डमा वर्षेनी जोखिम बढ्दै गएको छ।

यो सडकखण्डमा वैकल्पिक मार्ग नहुँदा मर्मत तथा सम्भारमा ढिलाइ हुने र समयले पनि अवरोध गर्ने गरेको छ। सडक मर्मत सम्भारका क्रममा वैकल्पिक सडक नहुँदा मनाङमा सामग्री ढुवानीमा समस्या आउन थालेको छ।

भुलभुले, निगालो घारी, बगरछाप, दानाक्यु, एक्लोभट्टी लगायतका बढी जोखिम भएको क्षेत्रमा सडक मर्मतको काम भएको थियो । तर, त्यही समयमा वर्षाले समस्या दिएको डुम्रे–बेसीशहर–चामे सडक योजना कार्यालयका प्रमुख इन्जिनियर अच्युत विलास पन्त बताउँछन्।

“वर्षाको समय छ। वर्षाको क्रम जारी नै छ। यतिबेला माटो खुकुलो हुन्छ। सुरक्षित तवरबाट सडक मर्मत सम्भार गर्नुपर्छ। सबैभन्दा जोखिम क्षेत्रमा पनि मर्मत सम्भारको काम गर्न सकेका छैनौँ,” उनले भने, “काम गर्ने प्रयास भइरहेको छ।  वैकल्पिक बाटो नहुँदा पनि मर्मत सम्भारमा अवरोध हुने गरेको छ।"

बेसीशहर–चामे सडक खण्डको मर्मत सम्भार गर्ने सम्झौताको अवधि बाँकी नै रहेको पन्तले जानकारी दिए। उनका अनुसार आगामी असार मसान्तसम्म सडक मर्मत सम्भार गर्ने समयावधि छ। सो सडक खण्डको जोखिम क्षेत्रमा सडक मर्मत सम्भारका लागि तीन वटा ठेक्का परेको र समयानुकूल अवस्थामा मर्मतको काम भइरहेको उनको दाबी छ।

जोखिमयुक्त सडकको मर्मत गर्न वैकल्पिक बाटो नहुँदा गाडी रोकेर नै गर्ने गरेको भएपनि यसले मनाङमा सवारीसाधन आवतजावतमा निकै अवरोध भएको उनले बताए। सो सडक खण्डको जोखिमयुक्त क्षेत्रमा मर्मत सम्भार गर्न नाना कन्सल्टेन्सी प्रा.लि.ले ठेक्का पाएको छ। सडक खण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मत सम्भारका लागि  ६/६ करोड रुपैयाँमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे–बेसीशहर–चामे सडक योजना कार्यालयले जनाएको छ।

जिल्ला समन्वय समिति मनाङका प्रमुख चिन घलेले उक्त सडकखण्डको जोखिमयुक्त क्षेत्रको सडक मर्मत भए दुर्घटना जस्ता कार्य न्यूनीकरण हुने बताए। सडक सहज बनाउन सडक कार्यालयले समयमा मर्मत तथा सम्भार गर्नुपर्ने समेत उनी बताउँछन्।

“उक्त सडक खण्डअन्तर्गत स्यागेमा बढी जोखिम छ। त्यही स्थानमा मर्मत तथा सम्भार समयमा नहुँदा दुर्घटना बढेको देखिन्छ। यस्ता जोखिमयुक्त क्षेत्रमा सडक कार्यालयले छिटो भन्दा छिटो मर्मत गर्नुपर्छ। मनाङवासीलाई सहज बनाउने कार्यमा भूमिका खेल्नुपर्छ,” प्रमुख घले भन्छन्।

हुनत नयाँ परियोजनाको रूपमा डुम्रे–बेसीशहर–चामे सडक खण्ड चार लेन बनाउने योजना छ। डुम्रे–बेसीशहर–चामे सडकखण्डको पक्की र दीर्घकालीन बनाउन पूर्व राज्यमन्त्री टेक बहादुर गुरुङको पहलमा संघ सरकारले ६० करोड रुपैयाँ विनियोजन गरेको छ। बहुवर्षीय योजनाका रूपमा मनाङको मेरुदण्डको विकासका लागि बजेट छुट्याइएको हो।

आगामी ५ वर्षको अवधिमा डुम्रे–बेसीशहर–चामे सडकखण्डलाई चौडा, कालोपत्रे, पक्की नाला सहित सुरक्षित बनाउने योजना सहित बजेट विनियोजन भएको डुम्रे–बेसीशहर–चामे सडक योजना कार्यालयका प्रमुख पन्तले जानकारी दिएका छन् ।

गत वर्ष यस सडकखण्डका अधिकांश भागमा बाढीपहिरोले क्षति पुर्‍याएको थियो। बाढीपहिरोले क्षति पुर्‍याएको सडक खुलाउन समस्या भएपछि हवाई यातायातलाई मात्र सहारा लिनुपर्ने भएको थियो। -आइएनएस