close

जनप्रतिनिधिको श्रमदान : विकास मोडेल हो कि पपुलिजम् ?

जनप्रतिनिधिको श्रमदान : विकास मोडेल हो कि पपुलिजम् ?

Trulli
ADVERTISEMENT

काठमाडौं । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ निर्वाचित भएको केही दिनदेखि नै खानेपानीको अल्पकालीन समाधान गर्न भन्दै पकुवा, सर्दु र सेउती खोलामा स्थानीयसँगै खटिए । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका धरानवासीले उनलाई होस्टेमा हैंसे गरे ।

खानेपानीको पाइप बिछ्याउन उनले सामाजिक सञ्जालमासफत श्रमदानका लागि आव्हान गरे । उनको आव्हानमा स्थानीयले भीरको बाटोमा पाइप बिछ्याउन र तान्नको लागि साथ पनि दिए । 

नगरप्रमुख आफैंले ढुंगा बोक्ने, पाइप बिछ्याउने र पाइप तान्न थाले । जुन स्थानीयको लागि एउटा पाठ बन्यो । अन्तत: धराने मेयर र धरानवासी पानी झार्न सफल भए । नगरप्रमुख साम्पाङको नेतृत्वको श्रमदानमा लामो समयदेखि तिर्खाएका धरानबासीले पानी पिउन पाए । तर दीर्घकालीन समाधान भने यो नभएको मेयर साम्पाङ स्वीकार्छन् ।

साम्पाङले स्थानीय निर्वाचनमा खानेपानी समस्यालाई मुख्य एजेण्डा बनाएका थिए । सोही अनुसार पालिकाको सर्दु–खर्दु जलाधारको संरक्षणमा विगतदेखि नै लागेका थिए । खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि सप्तकोसीको पानी ल्याउन आवश्यक अनुसन्धान पनि भइरहेको साम्पाङ बताउँछन् । 

उनको श्रमदानमा धरानबासीले बाँदर आतंकबाट बच्ने प्रयासमा समेत एकजुट छन् । बाँदर आतंकबाट आजित भएका कृषकको राहतको लागि साम्पाङले जंगलमा वृक्षारोपणको योजना ल्याए । उनी आफैं खटेर ६ लाखभन्दा बढी बिरुवा रोपेका छन् ।  

उनले श्रमदानलाई विद्यालय शिक्षासँग जोड्ने प्रयाससमेत गरे । केही दिनअघि मात्रै मेयर साम्पाङले कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीले अनिवार्य रुपमा श्रमदान गर्नुपर्ने निर्णयसमेत गरे । जुन स्थानीय सरकार सञ्चालन ऐन २०७४ को आधारमा प्रयोग हुने देखिन्छ । 

टेलिफोनमार्फत पालिका खबरसँग सम्पर्कमा आएमा उपमहानगर प्रमुख साम्पाङले भने, ‘हाम्रो काम कस्तो छ भनेर नजिकबाट नियाल्न आउनुस् । हामी काममा रम्ने मान्छे हौं । काम गर्नु छ ।’पालिकाको विकासको लागि थोरै बजेट भएकोले श्रमदानमार्फत विकास गर्नुपर्ने बाध्यता रहेको नगरप्रमुख साम्पाङको दाबी छ । 

त्यस्तै, म्यादीको बेनी नगरपालिकाको-३ का वडाध्यक्ष पदम पुन केही दिन अगाडि श्रमदानकै लागि सडकमा पुगे । बेनी भम्किली सडक निर्माणको लागि पालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर सो रकमले निर्धारित १७ किलोमिटर सडक निर्माण नहुने देखेपछि उनको नेतृत्वमा स्थानीयले श्रमदान गरे । श्रमदानबाट थोरै बजेटमा पनि धेरै काम हुने र विकासको आपनत्व हुने उनको विश्वास छ । 

यता काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ जनतासँगै श्रमदान गर्न सडकमा पुगे । सुटबुटसहित खोपासी–ताल्ढुंगा सडक मर्मतका लागि श्रमदानमा जाँदा कसैले विश्वास गरेका थिएनन् । तर उनले श्रमदानस्थलमा पुगेर गरेको कामबाट स्थानीयलाई हौसला मिल्नुका साथै सहभागी सबैले विकासमा आफ्नो पसिना बगाउँदा सबैलाई यो विकास मेरो लागि हो भन्ने भावनाको विकास भएको दाबी गरे । 

सर्लाहीको हरिवन नगरपालिकाको नगरप्रमुख कमल बुढाथोकी (रमेश) ले ‘शनिबार श्रमदान अभियान’ सञ्चालनमा ल्याएका छन् । तर शनिबार मात्रै नभई अरु दिन पनि श्रमदान गर्ने गरेको उनले पालिका खबरलाई बताए । उनी हरेक साताको शनिबार अनिवार्य श्रमदानमा व्यस्त हुन्छन् । अभियानमा स्थानीयले समेत सहयोग गरेको उनको अनुभव छ । केही दिन अघि मात्रै नगरप्रमुखको नेतृत्वको श्रमदानमा हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्ने पुल पुनर्निर्माण भयो । पुल पुनर्निर्माणको क्रममा उनी आफैं सहभागी भएर ढुङ्गा बोके । 

पुल पुनर्निर्माणको लागि मात्रै होइन । पालिकाको विद्यालय निर्माण, सरसफाई, खानेपानी विस्तार, बाटो निर्माण लगायतका विकास निर्माणको कार्यमा पनि श्रमदान गर्न जुटेको उनले सुनाए । नगरपालिकाको नीति तथा कार्यक्रममा पनि श्रमदानलाई समेटेको उनले पालिका खबरसँग बताए । 

‘हामीले नीति तथा कार्यम्रममा नै श्रमदानलाई समेटेका छौँ । योजनामा अनिवार्य रुपमा हप्ताको एक दिन श्रमदान गर्नुपर्छ,’ उनले भने, ‘तर हप्ताको दुई दिन हामी श्रमदानमै हुन्छौँ ।’ 

नगरप्रमुख हुँदैमा काम गर्नु हुँदैन भन्ने मानसिकताको अन्त्य हुनुपर्ने उनको जिकिर छ । ‘मेयर भएपछि २४ सै घण्टा कार्यालयमा बस्नु पर्छ भन्ने मानसिकता छ । तर त्यस्तो होइन । मेयर आफैँ पनि काम गर्नुपर्छ ।,’ उनले प्रश्न गरे, ‘मेयरले श्रमदान गर्दैमा सानो हुन्छ र ?’

श्रमदान गर्दा विकासमा आपनत्व हुने विश्वास नगरप्रमुख बुढाथोकीको छ । ‘ठेकेदार प्रणालीबाट काम गर्दा खर्चिलो हुन्छ । आर्थिक अभावले गर्दा नै विकासको कार्य अधुरो हुन सक्छ । तर श्रमदान गर्दा कम खर्चमा विकास हुन्छ । त्यसैले हामीले श्रमदानलाई योजनामा समेटेका हौँ,’ उनले भने । 

आफूले पपुलिजमको लागि नभई समाज रुपान्तरणको लागि श्रमदान गरेको उनले बताए । ‘पपुलिजमको लागि मिडियामा गए पुग्छ । काम गर्नुपर्दैन । मेरो श्रमदान पपुलारिजम‍्को लागि होइन, विकासको लागि हो,’ उनले भने । 

स्थानीय तहको विकासमा जनसहभागिता महत्त्वपूर्ण विषय हो । विकासमा जनताले अपनत्व लिएन भने निर्माण कार्यमा गुणस्तरियता हुन सक्दैन । त्यसैले यो महत्त्वपूर्ण हुने पूर्वसचिव तथा विकासविद् मुधुसुदन अधिकारीको भनाइ छ । उनका अनुसार विकास निर्माणमा जनसहभागिता एक महत्त्वपूर्ण मोडेल हो । 

स्थानीय तरमा हुने विकासमा जनसहभागिता हुँदा दिगो विकास, भ्रष्टाचारको नियन्त्रण र स्रोत साधनको पूर्णसदुप्रयोग पनि हुने उनको तर्क छ । उनका अनुसार समग्रतामा श्रमदानमा विकास  प्रभावकारिता राम्रो देखिएको उनी बताउँछ्न।  

पहिले स्रोत साधनको अभावले गाउँको विकास हुन सकेको थिएन । आवश्यक बजेट हुँदैनथ्यो । त्यसैलै श्रमदान र जनसहभागिताबाट विकास गर्नु पुरानो मोडेल हो । ०४५ सालतिर बाटाघाटा गोरेटो बाटो बनाउनका लागि यो मोडेल आएको थियो । 

विश्व बैंकले ‘कामको लागि खाद्यान्न’ भन्ने कार्यक्रम ल्याएको थियो । यसले पनि केही न केही रुपमा जनतालाई राहत पुगेको थियो । त्योभन्दा अगाडि उर्दीमा गाउँका मुखियाहरूले काम गराउने चलन थियो । उनका अनुसार त्योबेला जनसहभागिताबाट स-साना काम गर्ने चलन थियो । बीचमा यो मोडेल हराउँदै गयो र उपभोक्ता मोडेलको विकास भयो । 

गत बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि केही स्थानीय तहले अभ्यास गरेका जनसहभागितासहितको विकास राम्रो मोडेल भएको उनी स्वीकार्छन् । उनले पालिका खबरसँग भने,'यसले विकासमा दीर्घकालीन प्रभाव राख्छ । यता सरकार र ठेकेदारले गरेको काममा जनताले अपनत्व लिँदैनन् ।' 

उनका अनुसार धरानका मेयर साम्पाङले जनसहभागितासहितको विकास स्थायी हुन्छ भन्ने बुझाइको विकास गर्न खोजेका छन् । आफूले खोजेको र आफ्नो विकास गर्ने मोडेल यही हो भनेर प्रमाणित गराउन चाहेका उनको बुझाइ छ ।