close

हरेक चुनावसँगै निराशामा बदलिन्छ सुकुम्बासीका आशा

“नेताहरूसँग हाम्रो ठुलो अपेक्षा छैन, आधारभूत आवश्यकता पूरा गरिदिए हामी नै जसोतसो जीविका चलाउन सक्थ्यौँ, जाडो सुरु हुन थाल्यो, लत्ताकपडाको समस्या हुन्छ, खाना र अरूको कुरा त सबै समस्याको विषय भयो, यहाँ त खानेपानीको पनि निकै समस्या छ, यहाँका केटाकेटीले पढ्न पनि समस्या छ, औषधोपचार पाउनै गाह्रो छ ।”

हरेक चुनावसँगै निराशामा बदलिन्छ सुकुम्बासीका आशा

“नेताहरूसँग हाम्रो ठुलो अपेक्षा छैन, आधारभूत आवश्यकता पूरा गरिदिए हामी नै जसोतसो जीविका चलाउन सक्थ्यौँ, जाडो सुरु हुन थाल्यो, लत्ताकपडाको समस्या हुन्छ, खाना र अरूको कुरा त सबै समस्याको विषय भयो, यहाँ त खानेपानीको पनि निकै समस्या छ, यहाँका केटाकेटीले पढ्न पनि समस्या छ, औषधोपचार पाउनै गाह्रो छ ।”

Trulli
बागलुङको सुकुम्बासी बस्ती
ADVERTISEMENT

बागलुङ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आउन अब एक साता मात्रै बाँकी छ। मतदाताका अगाडि पुग्दा उम्मेदवारहरू उनीहरूका समस्या समाधान गरेरै छाड्ने दाबी गर्छन्। लाग्छ, चुनाव जितेपछि उम्मेदवारको हातमा जादु छडी आउने छ । अनि सबै समस्या फुमन्तर गरेर समाधान हुनेछन् ।

यस्ता कल्पनाभन्दा यथार्थ निकै भिन्न छ। अहिले उम्मेदवारले पुरा गर्छु भनेका कतिपय माग विगतमा पनि पुरा गर्छु भन्ने धेरै देखिए । तर, जनताका दुखमा कहिल्यै मलहम लागेन। एउटा चुनाव जित्दा गरिएका वाचा फेरि अर्को चुनावको एजेन्डा बन्नु नौलो पनि हुन छाडिसक्यो। हरेक निर्वाचनसँगै उम्मेदवारका आश्वासनमा पखेँटा पलाउँछ कि भन्ने आसमा बसिरहेका छन्, बागलुङमा सुकुम्बासीहरु।

“हाम्रो आफ्नो घर, जग्गा, जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि यो गाउँमा  नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर होला नेताहरू दिनदिनै भोट माग्न आउँछन्,  आस देखाएर जान्छन्, चुनाव जितेपछि फर्किएर आउँदैनन्,” पैतृक सम्पत्ति केही नभएका बागलुङ नगरपालिका–१२ अमलाचौरका ७५ वर्षीय युसुफ मियाँ भन्छन्।

मियाँलाई हरेक चुनावमा लालपुर्जा दिलाउने सपना बाँडियो। तर, उनको हातमा कहिल्यै लालपुर्जा परेन। उनी गुनासो बाहेक केही पोख्न सक्दैनन्। आफ्नो जग्गा, जमिन र बस्ने बाससमेत नभएको हुँदा अरूको घरमा आश्रय लिएर बस्नुपरेको बताउँछन्। सुकुम्बासी बस्तीमा आउँदा भोटका लागि आत्मीयता प्रकट गर्दै अनेकौँ आश्वासन दिने नेताहरू चुनावपछि मियाँ जस्ता भुइँमान्छेलाई सम्झिन समेत चाहँदैनन्।

“अहिलेसम्म दर्जनौँ नेताले सुकुम्बासीलाई जग्गा व्यवस्थापन गरेर लालपुर्जा दिन्छौँ भनेर आश्वासन दिएका छन्, हामी पनि गर्छन् की भन्ने आसमा बस्यौँ तर अहिलेसम्म न जग्गा पाइयो, न लालपुर्जा नै। धेरै व्यवस्था र अवस्था फेरियो तर, हाम्रो कष्ट उस्तै छ, कहिल्यै फेरिएन, दिनदिनैको बढ्दो महँगी उस्तै, निकै दुःख पाएका छौँ”, उनले भने, “चुनाव आउने बेला जहिले पनि सुकुम्बासीको समस्या समाधान गर्न चुनावमा उठेका भन्छन्, जितेपछि यो गर्छौँ र त्यो गर्छौँ भन्छन् तर जितेर गएपछि एकपटक पनि फर्केर आउँदैनन्, हाम्रा आशाहरू यसरी नै मर्दैछन्।”

आफ्ना ६ भाइ छोरामध्ये कान्छो छोराले मात्रै घडेरी किनेर घर बनाएको तथा अन्य पाँच भाइ सुकुम्बासी नै रहेको मियाँले बताए। वर्षौँदेखि सरकारसँग गाँस, बास र कपासको ग्यारेन्टीका लागि माग गरे पनि कुनै सुनुवाइ नभएको गुनासो उनको छ। त्यही कारण वर्षौँदेखि मजदुरी गरेर जीविका चलाइरहेको उनको गुनासो छ।

स्थानीय आमुला खातुन चुनावका बेला आश्वासन दिने नेताले सुकुम्बासीका लागि रोजगारको व्यवस्था मिलाइदिए दैनिकी चलाउन सहज हुने बताउँछिन्। रोजगारीसमेत नहुँदा दैनिकी चलाउनसमेत निकै गाह्रो पर्ने गरेको गुनासो उनको छ। सरकारले युवालाई रोजगारी दिए मात्रै पनि परिवार चलाउन सहज खातुनको भनाइ छ। सुकुम्बासीको समस्यामा राज्यको नजर पुग्न नसकेको उनको अनुभव छ।

“सांसद, मन्त्रीहरू भएका सबै जना हामीहरूले मत दिएर जितेका त हुन् नि, उनीहरूलाई हामीले माथि पुर्‍यायौँ, तर हाम्रा लागि कसैले केही गरेनन् । चुनावका बेला भोट माग्न आएर यो गर्दिन्छौँ र त्यो गर्दिन्छौँ भन्नेले केही गरेनन्। सुकुम्बासीलाई रोजगारको व्यवस्था मात्रै गरिदिए त आफैँ कमाएर जीवन चलाउन सकिन्थ्यो नि”, उनले भनिन्, “काम केही गर्न पर्दैन, भाषण मात्रै गर्छन्, जितेर गए भने पाँच वर्ष फर्किएर गाउँ आउँदैनन्, यस्ता नेतालाई के भोट दिनु? हाम्रो भोट मात्रै खेर गइरहेको छ।”

बागलुङका सुकुम्बासी बालबालिका, वृद्धवृद्धालाई थप समस्या रहेको गुनासो उनको छ। सुकुम्बासीहरू अरूको आश्रयमा बसेको हुँदा खाना, बस्न र औषधोपचारमा बढी समस्या हुने गरेको उनको भनाइ छ। सरकारले सुकुम्बासीका लागि निःशुल्क स्वास्थ्योपचार र खाद्यान्नको व्यवस्था गरे आफूहरूलाई ठुलो राहत मिल्ने उनी बताउँछिन्।

भन्छिन्, “नेताहरूसँग हाम्रो ठुलो अपेक्षा छैन, आधारभूत आवश्यकता पूरा गरिदिए हामी नै जसोतसो जीविका चलाउन सक्थ्यौँ, जाडो सुरु हुन थाल्यो, लत्ताकपडाको समस्या हुन्छ, खाना र अरूको कुरा त सबै समस्याको विषय भयो, यहाँ त खानेपानीको पनि निकै समस्या छ, यहाँका केटाकेटीले पढ्न पनि समस्या छ, औषधोपचार पाउनै गाह्रो छ ।”

स्थानीय यज्ञबहादुर क्षेत्री सुकुम्बासी बन्नुपरेको धेरै समय भएको छैन। ५ वर्षअघिसम्म उनको आफ्नै व्यवसाय थियो। परिवार राम्रैसँग चलेको थियो। कमाइ गर्न बैंकबाट ऋण लिएर गाडी किनेको केही समयै दुर्घटनामा परेपछि क्षेत्रीको घर, सम्पत्ति र व्यवसाय सबै डुब्यो। बैंकले घर जग्गा कब्जा गरेपछि क्षेत्री परिवार सुकुम्बासी बन्यो।

आफू सुकुम्बासी भएपछि नेताहरूले घरबासको व्यवस्था गरिदिने आश्वासन दिएपनि कहिल्यै काम नगरेको गुनासो उनको छ। अहिले भोट माग्न आउने उम्मेदवारलाई आफूजस्ता सुकुम्बासीको समस्या समाधान नगरेसम्म मत नदिने बताउने गरेको उनी सुनाउँछन्।

भन्छन्, “नेताले त कुरा मात्रै गर्ने हुन् काम गर्दैनन्, यो गाउँमा यति धेरै सुकुम्बासी छन्, जसको मत पाउँदा जित्ने सम्भावना बलियो हुन्छ। त्यसैले चुनावका बेला मात्रै गाउँ आउँछन्, जितेपछि कहाँ जान्छन्, थाहा हुँदैन, हामी पीडामा छौँ, त्यहीमाथि चुनावका बेला आएर आश्वासन दिन्छन्, दुखको घाउमा नुन छर्किए झैँ लाग्छ। केही गर्छन् कि भन्ने आस त लाग्छ तर केही नगर्दा सधैँ निराश बन्छौँ, यिनीहरूलाई भोट दिएर काम छैन, हाम्रो अवस्था कहिल्यै फेरिएन, उनीहरूलाई किन भोट दिने?”

अमलाचौर गाउँमा मात्रै करिब १५ भन्दा बढी घरपरिवार सुकुम्बासी छन्। आफूहरूलाई स्वास्थ्य, शिक्षा, खानेपानीको निकै समस्या रहेको उनीहरू बताउँछन्। यो चुनावमा आफ्ना समस्या समाधान गरिदिने नेतालाई मात्रै भोट दिने योजनामा उनीहरु एकजुट बनेका छन्।