close

जसले मल र बीउ दिन्छ, मर्चवारबासीको मत उसैलाई

जसले मल र बीउ दिन्छ, मर्चवारबासीको मत उसैलाई

Trulli
ADVERTISEMENT

रुपन्देही । प्रदेश र प्रतिनिधिसभाको हुन अब ६ दिन मात्र बाँकी छ। मंसिर ४ गते हुने निर्वाचनको अन्तिम तयारीमा उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्। आफ्नो पक्षमा माहौल बनाउन उम्मेदवारले कुनै कसर बाँकी राखेका छैनन्।

रुपन्देही-४ कौ दक्षिणी क्षेत्र पर्ने मर्चवारमा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्त छन्। मर्चवारमा अपेक्षाकृतरुपमा कम विकास भएको स्वीकार गर्ने उम्मदेवारहरु आफूले जिते यो क्षेत्रको विकासका लागि काम गर्ने आश्वासन बाँड्दै छन्। बाटो, सिँचाइका ठुला आयोजना, ठुला अस्पताल निर्माणको आश्वासन दिँदै हिँडेका उम्मेदवाले मर्चवारका सामान्य मतदाताको मन आकर्षित गर्न सकिरहेका छैनन्।

मर्चवारबासीले विभिन्न उम्मेदवारका ठुला आश्वासनभन्दा पनि समयमा मल र बीउको उपलब्ध गराउन सक्नेलाई मत दिने बताउँदै आएका छन्। अन्न भण्डारको रूपमा रहेको मर्चवारमा समयमा मल र बीउ उपलब्ध गराउने उम्मेदवारलाई आफूले चयन गर्ने उनीहरूको भनाइ छ।

कोटहीमाई गाउँपालिका–६ बोगडीकी ७५ वर्षीया मोहबती हरिजनको मर्चवारबासीले बर्सेनि मल र बीउको लागि सास्ती भोग्दै आएको बताउँछिन्। अझै पनि सीमावर्ती भारतीय बजार नौतनवाबाट बीउ र मल खरिद गरेर रोपाइँ गर्नु परिरहेको गुनासो उनको छ।

भन्छिन्, “स्थानीय जनप्रतिनिधि आए केही आराम हुन्छ, हाम्रो लागि काम गर्छन् भन्ने लागेको थियो। तर केही गरेनन्, हामी आफैँ पारी गएर मल र बीउ ल्याउँछौँ, मेहनत गरेर रोप्छौँ।”

सरकारले गरिब र पीडितको लागि पठाएको राहत नपाएको गुनासो समेत उनको छ। “सरकारले गरिब विपन्नको राहतको लागि भनेर सामान पठाइदिन्छ रे,” उनी भन्छिन्, “त्यो पनि छानीछानी आफ्नै मान्छे तथा कार्यकर्तालाई बाँड्छन, हाम्रो कोही छैन ।” त्यसकारण जसले सहजरुपमा मल र बीउबिजन उपलब्ध गराउने प्रतिबद्धता गर्छ उसैलाई आफ्नो भोट दिने वृद्धा हरिजनको भनाइ छ।

मर्चवारी गाउँपालिका–६ बगौलीकी सुनिताकुमारी यादवको भनाइ पनि हरिजनको जस्तै छ। स्थानीय नेताहरू आफ्नो मान्छे छानीछानी बीउ र मल दिएको गुनासो उनको पनि छ। “गहुँ छर्ने बेला भएको छ, वडाले २ बोरा गहुँको बीउ दिने भनेको थियो अहिले चार–पाँच किलो दिन्छु भन्छ, त्यति बीउले हामीले के गर्ने ?” उनको गुनासो छ, “हामीमाथि चरम भेदभाव भएको छ।”

अहिले उम्मेदवारहरू घरमै आएर विभिन्न आश्वासन दिने गरे पनि जितेर गए पछि भेदभाव गर्ने गरेको आरोप उनको छ। नेता र दलले हरेक नागरिकको मतलाई सम्मान गर्नुपर्ने तथा वर्गका आधारमा भेदभाव गर्न नहुने मर्चवारबासीहरु बताउँछन्। मर्चवारका उम्मेदवारले पनि स्थानीय समस्यालाई ध्यानमा राखेर कृषिलाई प्राथमिकता दिनुपर्ने मर्चवारका मतदाताको भनाइ छ।

कोटहीमाई गाउँपालिका–५ का कृषक रामअवध पासवानले उम्मेदवारलाई ठुला विकासे योजनाभन्दा पनि कृषकको समस्यालाई ध्यानमा राखेर एजेन्डा बनाउन सुझाव दिए। “चुनाव त एक दिनमै सकिन्छ, कृषि भनेको सधैँ सबैको बाँच्ने र बचाउने आधार हो।” उनी भन्छन्, “त्यसै कारण पनि सरकारले किसानका समस्या ध्यानमा राखेर नीति नियम बनाउनुपर्छ।”

उम्मेदवारहरू अहिले ठुला ठुला आश्वासन लिएर आउने गरे पनि कृषकको समस्याको दीर्घकालीन रूपमा हल हुने गरी कसैले एजेन्डा नल्याएको उनी बताउँछन्। रोपाइँका बेला पनि निकै कम मात्रामा मल आउने गरेको गुनासो पोख्दै उनी दीर्घकालीन समाधानको लागि नीतिगतरुपमै निर्णय हुनुपर्ने सुझाव दिन्छन्। “कृषिको लागि जसले दीर्घकालीन समाधानको उपाय ल्याउँछ, मेरो भोट उसैलाई जान्छ,” उनले स्पष्ट पारे।

अहिले खेतीपातीकै समय हो। यस्तो बेला निर्वाचन गरेर किसानलाई थप समस्यामा पारिदिएको गुनासो समेत उनको छ। सरकारले कहिल्यै पनि कृषकको समस्या बुझ्न नसकेको उनी बताउँछन्। मर्चवारी, कोटहीमाई, सम्मरीमाई, मायादेवी र सियारी गाउँपालिका सहित लुम्बिनी सांस्कृतिक नगरपालिका केही वडा गरी ३१ वडा रहेको निर्वाचन क्षेत्र नम्बर ४ मा एक लाख पाँच हजार छ सय ५९ मतदाता रहेका छन् ।

यस क्षेत्रमा नेपाली काँग्रेसबाट प्रमोदकुमार यादव, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल, जनमत पार्टीबाट भोपेन्द्रप्रसाद यादव, नेकपा (एमाले)को समर्थनमा जसपाका ओमप्रकाश यादव  लगायतले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।