close

मत दिने मन छ तर, छैन मताधिकार

मत दिने मन छ तर, छैन मताधिकार

Trulli
ADVERTISEMENT

सिन्धुली । सिन्धुलीकी गौरी तामाङले उमेरले ६ दशक पार गर्दै छिन् । सिन्धुलीमा हुर्केकी उनी जिविकोपार्जनको लागि पोखराको रामघाटमा बालुवा बोक्न पुगिन्। त्यही बसेर उनले आफ्नो ४० औँ बसन्त पार गरिसकेकी छन्। 

बालुवा बोकेर मजदुरी गर्दै आएकी उनलाई चुनावको कुनै प्रभाव परेको छैन। मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको लागि चुनावी प्रचारप्रसार भइरहँदा पनि उनलाई कुनै वास्ता छैन। 

'मेरो भोट दिने अधिकार छैन । तर पनि मसँग भोट माग्न आउछन्,' उनले भनिन्, 'उनीहरुलाई मैले भोट दिन पाउँदैन भन्ने थाहा नभएर होला ।' 

गौरीका श्रीमानले कान्छी श्रीमति लिएर हिँडेको १७ वर्ष पुगिसक्यो । न उनीसँग नागरिकता छ न मतदाता परिचय पत्र नै । श्रीमानले अर्की श्रीमति लिएर हिँडेपछि तीन छोरी र एक छोरा पाल्ने जिम्मेवारी गौरीको काँधमा छ । 

छोराछोरीलाई पालनपोषण र शिक्षा दिनकै लागि गौरीले प्रत्येक दिन बिहान ६ बजेदेखि साँझसम्म रामघाटमै बालुवा बोक्छिन् । 'मेरो जीवन बालुवामै गयो, मेरो जिम्मेवारी बालुवा बोकेर छोराछोरी पाल्ने हो', उनले भनिन् ।

पोखराको सेती नदी किनारको रामघाटदेखि माथि डिलसम्म बालुवा ल्याए वापत ठेकेदारले दिएको पैसाले उनले परिवार पाल्दै आएकी छन्। 'बालुवा बोकेरै पढाएका दुई छोरीको विवाह भइसक्यो', उनले भनिन्, 'भोट हाल्ने रहर थियो तर भोट दिने कुनै कागज नै छैन ।'

पोखराको रामघाटमा बालुवा बोक्दै आएकी खोटाङ जिल्ला निवासी ४७ वर्षे उदय मगर नेताहरुले मजदुरका माग पूरा गर्ने आश्वासन दिए पनि त्यो पूरा नभएको बताउँछन्। 

'कति चुनाव आए र गए तर हामीले रामघाटमा बालुवा बोक्ने बाहेक अन्य काम पाएका छैनौँ', उनले भने, 'अहिले त महङ्गीका कारण बालुवा बोकेरै परिवार पाल्न नसक्ने अवस्था आएको छ ।'

युवा उमेर छँदा केही वर्ष आफू पनि गाउँमै राजनीति गरेको भए पनि त्यसमा सफलता हात नलागेपछि मजदुरीमा आएको उनको अनुभव छ। पत्नी हिराकुमारी पनि उनीसँगै बालुवा बोक्दै आएकी छन्। 

'केही दिनअघि थला परेर १५ दिन सुत्दा मलाई हेर्न कोही आएन' उनले भने, 'चुनाव आएपछि नेता भोट माग्न आउँछन् तर भोट दिन खोटाङसम्म पुग्ने खर्च पनि छैन।' प्रत्येक निर्वाचनमा नेताले मजदूरलाई रोजगारी दिन्छौँ र महङ्गी नियन्त्रण गर्छु भने पनि त्यो आश्वासन पूरा नभएकोमा उनले दुखेसो पोखे।

धादिङका ४३ वर्षीय सोमबहादुर गुरुङ पैसा नभएकै कारण मतदानमा घर फर्कन नपाउने गुनासो गर्छन् । उनी पाेखराकै रामपुरमा लामाे समयदेखि बालुवा बाेक्दै ‌ आएका छन्।