close

मूर्तिले धानेको जीवन

मूर्तिले धानेको जीवन

Trulli
ADVERTISEMENT

सहजपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का अमर सुनार परिवारको जीविकोपार्जन मूर्ती बनाएर जिविकाेपार्जन गर्दै आएका छन् । सानैदेखि बुबाबाट मूर्ति बनाउन सिकेका उनी त्यसैलाई आफ्नो व्यवसाय बनाएका छन् ।

 

 सत्र वर्षको उमेरदेखि नै उनी निरन्तर रुपमा मूर्ति बनाउँदै आएकाे बताउँछन् । 'बुबाले सुनारको काम गर्नुहुन्थ्यो तर बीचबीचमा उहाँले कसैले अर्डर दिए मूर्तिहरु पनि बनाउनुहुन्थ्यो', अमरले भने, 'बुबाले मूर्ति बनाएको देखेर नै मैले पनि सिकेँ । म स्कुलमा पढ्दै गर्दादेखि नै मूर्ति बनाउँदै आएको छुु ।'

 

उनले अहिले मागअनुसार मूर्ति बनाउने गरेको बताउँछन् । माग आए जस्तोसुकै मूर्ति बनाउन सक्ने उनको भनाइ छ । यही पेशाबाट उनको सातजनाको परिवार चलेको छ ।

 

उनले सानैदेखिको आफ्नो रुचि भएकाले मूर्ति बनाउने काममा आनन्द आउने गरेको बताए । उनले कृष्णपुर नगरपालिका–५ मा रहेको आफ्नै घरमा मूर्ति निर्माणको काम गर्दै आएका छन् । सुरुमा घरघरमा गएर मूर्ति बनाउँदै आएको भए पनि १० वर्षअघि देखि मात्रै पसल खोलेर यो काम गरेको उनको भनाइ छ ।

 

सुदूरपश्चिमका सबै जिल्लाबाट यसको माग आउँछ । उनले भने, 'अर्डरकर्ताले आवश्यक परेको मूर्तिको फोटो ल्याउँछन्, त्यही हेरेर बनाउँछु ।' मासिक २५ देखि ३० हजारसम्म कमाउने उहाँले मूर्तिको आकार हेरे मूल्य निर्धारण गर्नुहुन्छ । 'मूर्तिको आकार हेरेर पैसाको कुरा गर्छु, किनकि ठूलो मूर्ति बनाउन समय र खर्च बढी लाग्छ', उनले भने, 'समय र खर्चको आधारमा मूर्तिको मूल्य निर्धारण गर्छु, कुनै मूर्ति बनाउन त तीनदेखि चार महिनासम्म लाग्छ ।'

 

 महेन्द्रनगरमा रहेको पोखरी कटेजले अर्डर दिएको राना थारूको संस्कृति झल्काउने मूर्ति बनाउन उनलाई तीन महिना लागेको थियो । उनले सो मूर्ति बनाएबापत आफूले रु एक लाख २० हजार लिएको बताए । उनले पृथ्वीनारायण शाहको पनि मूर्ति बनाए । तेघरीस्थित नेपाली सेनाको ब्यारेकमा राख्न उक्त मूर्ति बनाउन अर्डर आएको र टेन्डर नहुँदा मूर्ति लिन नआएको उनले बताए ।

 

करिब चार महिनामा बनाउने सो मूर्तिको मूल्य एक लाख ५० हजार छ ।  मूर्ति बनाउन आवश्यक पर्ने सामग्री पनि आफैँले बनाउने गरेको उनले बताए । 'मूर्तिका सामग्री बजारमा पाइँदैनन् त्यसैले आफैँले बनाउँछु', उनले भने। मूर्ति कोर्न थालेको करिब ३० वर्षभन्दा बढी भइसक्दा पनि हालसम्म कुनै ठाउँबाट तालिम नलिएको उनले बताए ।

 

उनले स्थानीय सरकारले अन्य व्यवसायमा तालिम सञ्चालन गरे पनि मूर्ति बनाउने विषयमा हालसम्म चासो नदिएको गुनासो गरे । 'मूर्ति बनाउन इच्छुक धेरै मानिसहरु छन्, तर त्यस्ता मानिसलाई सिकाउन प्रशिक्षण दिने काम भएको छैन,' उनले भने, 'व्यावसायिक रुपमा मूर्तिको बजार राम्रो छ ।'