close

उपत्यकामा हैजाको सङ्क्रमण बढ्दै

लामो समय नउठेको फोहर नै सङ्क्रमणको कारण

उपत्यकामा हैजाको सङ्क्रमण बढ्दै

लामो समय नउठेको फोहर नै सङ्क्रमणको कारण

Trulli
ADVERTISEMENT

काठमाडौँ । लामो समयसम्म काठमाडौँ उपत्यकामा उठ्न नसकेको फोहर मैलाको 'साइड इफेक्ट' को रुपमा दिन प्रतिदिन हैजाको सङ्क्रमण बढ्दै गइरहेको छ । 

फोहर व्यवस्थापनका लागि सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग सहमति भए पनि लामो समयसम्म काठमाडौँमै थन्किएको फोहर मैला अहिले पनि पूर्णरुपमा उठाइ सकिएको छैन । कतिपय स्थानमा अझै उठ्न नसकेका फोहरमा औषधी छर्किएर राखिएको देख्न पाइन्छ । जसका कारण पानीको वितरण प्रणालीमा यस्तै फोहरका डङ्गुरबाट निस्किएका सङ्क्रामक रोगका जीवाणु फैलिएको अनुमान गरिएको छ । 

त्यसमाथि लगातारको वर्षा तथा गर्मीका कारण पनि संक्रामक रोगका जीवाणुहरु फैलिने जोखिम बढाएको छ ।

गत साता पहिलो पटक बागबजारमा देखिएको हैजाको सङ्क्रमण अहिले चन्द्रागिरि, बुढानीलकण्ठ, कपन, डिल्लीबजार, बालाजु, बल्खुमा पनि देखिएको छ । हैजा भिब्रिओकोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हुने गर्छ । जसको प्रमुख स्रोत फोहर नै हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, राजधानी उपत्यकामा अहिलेसम्म १२ जनामा हैजाको सङ्क्रमण पुष्टि भइसकेको छ । 

झाडापखाला जस्तो देखिने हैजा गम्भीर प्रकृतिको हुने भएकाले यसको असर बढी हुने चिकित्सकहरू बताउँछन् । इ रोगको समयमै उपचार हुन नसकेको खण्डमा बिरामीको मृत्युसमेत हुने जोखिम रहन्छ । जीवाणुको सङ्क्रमण भएको केही घण्टामै यसको लक्षण देखिन थाल्छ ।

हैजा फैलिँदै गएपछि सरोकारवाला निकायले रोकथामका उपाय भने खोज्न थालेका छन् । जीवाणु फैलिएपछि रोकथामका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र सरकारले चासो देखाएको छ ।

स्वास्थ्य मन्त्रालयले स्थानीय तहहरूलाई निर्देशन दिँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । सोही अनुरूप ललितपुर महानगरपालिकाले पानी, चटपटे जस्ता खाद्य पदार्थको बिक्रीमा एक सातासम्म प्रतिबन्ध लगाएको छ । महानगरपालिकाले स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार प्रतिबन्ध लगाएको बताएको छ । 

उता उपत्यका खानेपानी लिमिटेडले प्रभावित क्षेत्रमा 'हाइपर क्लोराइड' वितरण गर्ने भएको छ । प्रभावित क्षेत्रमा उपत्यका खानेपानी लिमिटेडले उपभोक्ता तथा अन्य ग्राहकलाई नि:शुल्क क्लोराइड वितरण गर्न लागेको जानकारी दिएको छ ।

प्रभावित क्षेत्रका मानिसलाई दुई सय एमएल हाइपर क्लोराइड दिइने र एक लिटर पानीमा २ थोपा क्लोराइड राख्नुपर्ने लिमिटेडका प्रवक्ता प्रकाश राईले जानकारी दिएका छन् । क्लोराइड शाखामार्फत उपभोक्तालाई प्रदान गरिने छ ।

स्वास्थ्य कार्यालय काठमाडौँले प्रभावित क्षेत्रबाट सङ्क्रमित पत्ता लगाउने कार्य सुरु गरिसकेको छ । कार्यालयका अनुसार हैजा देखिएका प्रभावित क्षेत्रको खानेपानीको परीक्षण र स्याम्पल लिएर अनुसन्धान भइरहेको छ ।