close

कोरोना जोखिम भत्ता उपलब्ध गराउन माग गर्दै भीम अस्पतालमा आन्दोलन

कोरोना जोखिम भत्ता उपलब्ध गराउन माग गर्दै भीम अस्पतालमा आन्दोलन

Trulli
ADVERTISEMENT

रुपन्देही । भीम अस्पतालका स्वास्थ्यकर्मीले शुक्रबार बिहान दुई घन्टा ओपिडी सेवा बन्द गरेका छन् । 

सरकारले घोषणा गरेको कोरोना जोखिम भत्ता हालसम्म उपलब्ध नगराएको भन्दै उनीहरूले भैरवास्थित भीम अस्पतालमा उनीहरुले शुक्रबार ओपिडी सेवा बन्द गरेका हुन् ।

भीम अस्पताल संघर्ष समिति गठन गरेका स्वास्थ्यकर्मीले आजदेखि आन्दोलनका कार्यक्रम सुरु गरेका छन् । समितिले बिहीबार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

संघर्ष समितिका संयोजक तथा स्वास्थ्यकर्मी गोपाल उपाध्यायले आफूहरूले कोरोना महामारीको दोस्रो लहरमा जोखिममा रहेर काम गरे पनि सरकारले सोको कदर नगरेको बताए । 

उनले सरकार आफैँले घोषणा गरेको जोखिम भत्ता उपलब्ध नगराउँदा आन्दोलित हुनुपरेको उनको भनाइ छ । 

सरकारले आफ्नो कुरा सुनोस भन्नका लागि आफूहरू आन्दोलनमा उत्रिनुपरेको उनले बताए । आन्दोलन गर्दा बिरामीमा हुने असहजताप्रति सजग रहेको बताउँदै उनले भने, ‘अशक्त बिरामीलाई इमर्जेन्सीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जाहेर गरेका छौँ ।’

स्वास्थ्यकर्मीको माग सम्बोधन नगरिए आन्दोलन स्थगित नहुने उनले बताए । 

सरकारले कोरोना जोखिम भत्ता उपलब्ध गराउन कुनै किसिमको तदारुकता नदेखाएकाले भीम अस्पताल (कोरोना अस्पताल) मा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी विगत ११ दिनदेखि संघर्षका कार्यक्रम गर्दै आएको उपाध्यायले बताए । 

असार १८ गते अस्पताल परिसरमा सम्पूर्ण कर्मचारी धर्नामा बस्ने, १९ गते बिहान नौ बजेदेखि १२ बजेसम्म तीन घन्टा ओपिडी सेवा बन्द गर्ने, २० गतेदेखि ओपिडी सेवा पूर्ण रूपमा बन्द गर्ने समितिका सचिव जनकराज पन्तले जानकारी दिए ।

भीम अस्पताल संघर्ष समितिका कोषाध्यक्ष डा. सिद्धार्थ पाण्डेले ओपिडी सेवा दुई घन्टा होल्ड गरेको बताउँदै आफूहरूले बिरामीलाई दुःख दिनका आन्दोलन नगरेको बताए । 

संघर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायकाअनुसार भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी छ । 

भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्ताबापतको रकम पाएका छैनन् । 

भीम अस्पताल विकास समितिका अध्यक्ष कुलप्रसाद न्यौपानेले सरकारले ६ महिनाको कोरोना जोखिम भत्ता दिने घोषणा गरेको बताउँदै त्यहीअनुरूप जोखिम मोलेर स्वास्थ्यकर्मीले काम गरेको, तर जोखिम भत्ता नपाएको बताए । 

उनले भने, ‘स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले गरेको कामको प्रतिफल पाउनुपर्छ, सरकारले जुन आश्वासन दिएको छ, त्यो पूरा गर्नुपर्छ भन्ने मान्यता हाम्रो हो ।’