close

मीनाको जस्तो प्रसूति प्रक्रिया अन्य बारेकोटेको नहोस्

मीनाको जस्तो प्रसूति प्रक्रिया अन्य बारेकोटेको नहोस्

Trulli
ADVERTISEMENT

काठमाडौं । एक महिला सडकको डिलमा प्रश्रव पीडामा छिन् । उनलाई अन्दाजी २२/२५ वर्षीया युवतीले अडेसा लगाइरहेकी छन् ।

प्रश्रव पीडितभन्दा  दायापट्टि बच्चा बोकेकी महिला प्रश्रव पीडामा रहेकी महिलालाई नियालेर हेरिरहेकी छन् भने अर्कीले अगाडिबाट डक्टरको भूमिका निभाएझै गरिरहेकी छन् । त्यसैगरी, पीडितको अगाडिबाट रगत बगिरहेको छ ।

यस्तै, रोडको बीचमा रहेर दुई महिला निकै गम्भीर र भावुक मूडमा हेरिरहेका छन् । ताकि यतिखेर उनीहरू पनि प्रश्रव पीडा भोगिरहेका छन् । तर, उनीहरूको प्रस्तुतिले पीडितका आफन्त नरहेको देखाउँछ । 

यो वर्णन कुनै चलचित्र,कथा,नाटकको नभई केही दिनअघि बारेकोट गाउँपालिका–३ मुलसाम गाउँकी २१ वर्षीया मिना नेपाली सहज रुपमा बच्चा पैदाका लागि अस्पताल जाँदै गर्दा बाटोमा बाटोमै असहज परिस्थिति सिर्जना भएपछिको हो । 

तस्वीरमा हरिया पाखा र पहाडी क्षेत्र छन् । यसले प्रश्रव पीडा भोगिरहेकी महिला पहाडी भेगकी भएको अनुमान लगाउन कुनै असहज हुँदैन । तर, सडकबाटो पुगेको छ । सडक पेटीमै उनी प्रश्रय पीडाको सामना गरिरहेकी छन् । र, एकजना पनि पुरुष छैनन् । 

तस्वीरका यावत कुराको वर्णन गरिहँदा के त्यो गाउँमा एम्बुलेन्स जाँदोरहेनछ, प्रश्रय पीडा भोगिरेहेकी महिलाको गाउँपालिका, छिमेकी पालिका जिल्लामा एउटा पनि एम्बुलेन्स थिएन, वा भएर एम्बुलेन्सले प्रश्रव पीडितलाई बोक्दैन, वा त्यो गाउँमा प्रजनन प्रक्रियालाई सामान्य रुपमा लिइन्छ जस्ता प्रश्न मनमा खेलिरहे जसको उत्तर आफैँले आफैँलाई दिने प्रयास गरे । तर, एउटै चित्त बुझ्दा भएनन् । 

अनि सम्झिए राष्ट्रपति महिला उत्थान कार्यक्रम, एकैदिन एक हजारभन्दा बढी उद्घाटित अस्पताल, जिल्ला अस्पताल, संविधानमा उल्लेखित स्वास्थ्यसम्बन्धी हक, प्रजननसम्बन्धी महिलाको अधिकार अनि समानता, समावेशीकरण र पिछडिएको क्षेत्र, हरेक वर्ष आउने तीनै तहका नीति तथा कार्यक्रम, बजेट र सरकारले दिने भनिएका निःशुल्क औषधिको संख्या ।

यतिले पुगेन सेवा प्रवाहका लागि कार्यान्वयनमा आएको संघीयता तीन तहका व्यवस्थापिका, कार्यपालिका अनि निर्वाचित वडाध्यक्ष । 
अनि सम्पर्क गरे, बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीलाई ।  गाउँमा सडक पुग्न नसक्दा नागरिकले समस्या भोग्नुपरेको बताउँदै पालिकामै प्रसूति गराउन मिल्ने गरी स्वास्थ्यचौकी बनाउने योजना उनले सुनाए । 

घटनालगत्तै स्वास्थ्य शाखालाई गाउँमा आवश्यक स्वास्थ्य सेवा पु¥याउन निर्देशन दिएको उनले पालिका खबरलाई जानकारी दिए । 
उनका अनुसार बारेकोट गाउँपालिकामा सेपुखोला, रामीडाँडा , नाइकबाँडालगायत गरी चार प्रसूति केन्द्र छन् ।जहाँ सामान्य प्रसूति गराउन सकिन्छ ।

अलि जटिल प्रसूति लिम्साको प्राथमिक स्वास्थ्य केन्द्रमा रिफर गरिने गाउँपालिका स्वास्थ्य विभागकी कल्पना रोकाया बताउँछिन् । सामान्य स्वास्थ्य सेवा लिन हरेक गाउँमा आधारभूत स्वास्थ्यचौकी छन् । प्राथमिक उपचार त्यहाँ भए पनि डाक्टरबाट परामर्श लिन भने मुल्सामबासी लिम्सा प्राथमिक स्वास्थ्यकेन्द्र पुग्नुपर्छ । 

नयाँ आधारभूत अस्पताल बनाउने घोषणा गाउँपालिकाले गरेको कल्पना रोकायाले बताइन् । गत वर्ष नै मुलसाम गाउँपालिकामा प्रसूति सेवासहितको स्वास्थ्यकेन्द्र बनाउने घोषणा भएको थियो । उनका अनुसार गाउँपालिकाको ३ स्थानमा प्रसूति केन्द्र स्थापना गर्ने योजना बनिसकेको छ । 

त्यसका लागि आवश्यक उपकरण व्यवस्था गर्न अध्यक्षबाट निर्देशन भएको पनि उनले बताइन् । उनका अनुसार पालिकामा दक्ष प्रसूतिकर्मीको अभाव छ । जसका लागि पालिकाले तालिमका लागि बजेटको व्यवस्था गरेको उनले बताइन् । 

अघिल्लो वर्ष पनि प्रसूतिसम्बन्धी तालिम प्रदान गरेको उनले जानकारी दिइन् ।  पालिकाका अनुसार आर्थिक वर्ष २०७८-७९ मा बारेकोट गाउँपालिकामा ४५५ जना प्रसूति भए । जसमध्ये ४२५ स्वास्थ्य संस्थामा र ३० जना घरमा सुत्केरी भए । 
पालिकाको तथ्यले अवस्था सामान्य देखाउँछ । यसले केही मात्रमा भएको स्रोत साधनको उचित प्रयोग हुन नसकेको, र समन्वयकाे अभाव पनि भएको हो कि भन्ने पनि आँकलनमा सहयोग गराउँछ । 

जे भए पनि २१ वर्षीया मीना नेपाली बाटोमै प्रश्रव पीडा खेप्न बाध्य भइन् । आगामी दिनमा उनीजस्तै बारकोटे नेपालीले यसखाले पीडा खेप्न नपरोस् ।