close

डेंगु संक्रमण : एभरेस्ट अस्पतालमा जनरल वार्ड सञ्चालन, विपन्नलाई निशुल्क उपचार

डेंगु संक्रमण : एभरेस्ट अस्पतालमा जनरल वार्ड सञ्चालन, विपन्नलाई निशुल्क उपचार

Trulli
ADVERTISEMENT

काठमाडौं । डेंगु संक्रमण फैलिएसँगै काठमाडौंका अस्पतालहरूमा बिरामीको चाप बढेको छ ।

संक्रमणको समय मध्यम तथा न्यून आय भएका मानिसलाई सहयोग पुर्याउने लक्ष्यसहित नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालले जनरल वार्ड सञ्चालनमा ल्याएको छ । यस वार्डमा विशेषज्ञ डाक्टरसहितका स्वास्थ्यकर्मी चौबिसै घण्टा खटिएका छन् ।

‘‘सर्वसाधारणलाई उपचारमा आर्थिक समस्या नहोस् भनेर हामीले जनरल वार्ड सञ्चालनमा ल्याएका हौँ,’ अस्पतालका निर्देशक तथा प्रशासकीय प्रमुख दीपकचन्द्र बरालले भने, ‘‘यहाँ अति न्युन शुल्कमा बिरामी भर्ना हुनसक्छन् । आर्थिक अवस्था कमजोर भएकालाई उपचारमा थप सहुलियत तथा अति विपन्नलाई निशुल्क उपचार पनि गर्छौँ । उपचार नपाएर कोही मर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो।’’

एभरेस्ट अस्पतालमा डा. नीरज नेपाल, डा. निमेष पौडेल, डा. सरोज गौडेल, डा. रामनारायण शाह, डा. प्रताप नारायण शाह, अदिप श्रेष्ठलगायत वरिष्ठ चिकित्सक तथा स्वास्थ्यकर्मी सम्मिलित मेडिकल टिमले डेंगुको उपचार गरिरहेको छ ।

एभरेस्ट अस्पतालमा परीक्षणका लागि आएकामध्ये ६० प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको निर्देशक बरालले बताए ।

‘‘हाम्रोमा यस महिना भदौ १ गतेदेखि अहिलेसम्म १ हजार ६० जना डेंगु परीक्षणका लागि आएकोमा ८ सय २३ जनामा सङ्क्रमण देखिएको छ,’’ बरालले भने, ‘‘डेंगु प्रकोपकै रूपमा देखिएकाले सर्वसाधारणलाई धेरैभन्दा धेरै सुविधा कसरी प्रदान गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ।’’

‘‘देशमा भैपरी आएका बेला तथा महामारीका रूपमा स्वास्थ्य समस्या आएका बेला हामी यसरी नै सक्रिय हुन्छौँ,’’ बरालले भने, ‘‘कोभिड महामारीमा बिरामीको अत्यधिक चापका बाबजुद हामीले सबैलाई सेवा पुर्याउनका लागि ओपिडी कक्षलाई समेत जनरल वार्डमा बदलेर काम गर्यौं। सबै बिरामीले स्वास्थ्य उपचार पाउनुपर्छ भन्नेमा हामी दृढ छौं।’’

सरकारले डेंगुको परीक्षण निशुल्क गर्न सके धेरैभन्दा धेरै बिरामी उपचारको दायरामा आउने र महामारी नियन्त्रणमा सहयोग पुग्ने उनले बताए । त्यस्तै, वडास्तरमा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानलाई पनि प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।

२०१९ यताकै उच्च बिन्दुमा संक्रमण

पछिल्लो विवरणअनुसार डेंगुबाट यस वर्ष देशभर ९ हजारभन्दा धेरै जना संक्रमित भइसकेका छन्, जो सन् २०१९ पछिको उच्च महामारी हो ।

२०१९ मा १७ हजारभन्दा धेरैजनामा सङ्क्रमण देखिएको थियो । त्यसैगरी २०१६ मा १५ सय ११ र २०१७ मा २१ सय ११ जनामा डेंगु देखिएको थियो । २०१९ मा महामारी फैलँदा सुनसरी, चितवन, कास्की र काठमाडौं मुख्य गरी प्रभावित भएका थिए ।

अहिले भने ललितपुर र काठमाडौंमा सबैभन्दा ठूलो असर देखिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको आँकडाअनुसार ललितपुरमा तीन हजार ६ सय २२ र काठमाडौंमा दुई हजार चार सय १४ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।