close

बेनीमा डेंगुरोग नियन्त्रणका लागि ‘खोजी र नष्ट अभियान' सुरु

बेनीमा डेंगुरोग नियन्त्रणका लागि ‘खोजी र नष्ट अभियान' सुरु

Trulli
ADVERTISEMENT

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा डेंगु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सुरु गरिएको छ ।

बेनी नगरपालिका वडा ७ र ८ ले डेंगुको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समूदायलाई नै सक्रिय बनाएर डेंगु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रमम सञ्चालन गरेको हो ।

म्याग्दीमा संक्रमणको सङ्ख्या १३ जना पुगेको र एक जना डेंगु पोजेटिभलाई अस्पतालमा भर्ना गर्नुपरेका अवस्थामा डेंगु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको बेनी नगरपालिकाका प्रवक्ता एवं वडा ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए ।

बेनीबजारभित्रका दुवै वडामा आमा समूह, टोलसुधार समिति, नेपाल प्रहरी, युवाक्लब, विद्यालयका विद्यार्थीसहितको टोलीले शनिबार सरसफाइसहितको अभियानमा जुटेका थिए । स्वास्थ्य कार्यालय र भ्याली कलेज काठमाडौंको प्राविधिक सहयोगमा एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रमक सरुवा रोग खोज्ने र नष्ट गर्ने कामसहित डेंगु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखीकरणसमेत गरिएको थियो ।

जिल्लामा सबैभन्दा धेरै जोखिम बेनीबजार रहेकाले सर्च एण्ड डिस्ट्रोए कार्यक्रममा जोड दिनुपर्ने, विद्यालयस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन, बिरामीले हेलचेक्रयाइँ गर्न नहुने, स्वास्थ्यकर्मीसँग परार्मश नगरी औषधि सेवन गर्न नहुनेलगायत समुदायमा माइकिङसमेत गरिएको छ ।

डेंगुको संक्रमणबाट बच्न सुरुमा आफ्नै घर वरपर रहेको पानी जम्ने खाल्टाखुल्टी पुर्ने, गमलामा जम्मा भएको पानी फाल्ने र रामखुट्टेको लार्भा फाल्नका लागि सचेतनामूलक कार्यक्रम वडावडामा पुर्‍याउन थालिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिइ सफा तथा डेंगु बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ । डेंगुबाट जोगिन वनजंगलमा घाँस, दाउरा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । डेंगु भाइरसद्वारा सङ्क्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । रासस