close

डेंगु नियन्त्रणका लागि के गर्दैछन् स्थानीय सरकार ?

डेंगु नियन्त्रणका लागि के गर्दैछन् स्थानीय सरकार ?

Trulli
ADVERTISEMENT

काठमाडौं । डेंगु संक्रमण निरन्तर उकालो लाग्दै गइरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को बुधबारसम्मको तथ्यांकअनुसार देशभर ३७ हजार १३१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । 

काठमाडौं उपत्यकासँगै मुलुकभरका अधिकांश क्षेत्रमा डेंगु रोगले प्रकोपको रुप लिएको छ । पछिल्लो समयमा संक्रमितको संख्या केही कमी आए पनि नियन्त्रण हुन सकेको छैन । 

डेंगु संक्रमणको संख्या बढेसँगै जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले संक्रमण नियन्त्रणका लागि मुलुकभरका स्थानीय तहलाई पत्राचार गरेको थियो । सोही अनुसार स्थानीय तहले संक्रमण नियन्त्रणको लागि विभिन्न उपाय अपनाउँदै आएका छन् । 

तर, डेंगु महामारीलाई शून्यमा झार्न स्थानीय सरकारसँगै नेपाल सरकार सफल हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सन्जय कुमार शाहका अनुसार डेंगु संक्रमणबाट हालसम्म मुलुकभर ४५ जनाको मृत्यु भइसकेको छ । 

मुलुकको ७७ वटै जिल्लामा डेंगु संक्रमित फेला परे पनि काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, धादिङ, सिरहा, दाङ, चितवन, रुपन्देही, काभ्रे र  तेह्रथुम गरी १० वटा जिल्लाम हाल पनि प्रकोपको रुपमा जोखिम रहेको प्रवक्ता शाहले बताए । 

उनका अनुसार संक्रमण सुरु भएको ५० हप्तापछि मात्रै डेंगु शुन्य संख्यामा झर्ने देखिएपनि हाल ३९ हप्ता पूरा हुन लागेको छ ।  उनले हाल मुलुकभर ३१ हजार ८०० जना सक्रिय संक्रमित रहेको बताए । तीमध्ये काठमाडौंमा ११ हजार, ललितपुरमा ८ हजार २६२ र मकवापुरमा ३ हजार ६०४ जना रहेको उनले बताए । 

संक्रमितको संख्या घटे पनि सुरक्षित नभएको उनको भनाइ छ । संक्रमणसँग जोगिनको लागि सुरक्षाको उपायहरू अपनाउनु पर्ने उनले बताए । 

लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने भएकोले लार्भा खोज र नष्ट गर अभियानमा स्थानीय तह व्यस्त छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले डेंगु रोग नियन्त्रणको लागि जनचेतनामूलक कार्यक्रमसँगै लार्भा खोज  र नष्ट गर कार्यक्रममा सञ्चालनमा ल्याएको जनाइएको छ । 

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख भागिरथ अधिकारीका अनुसार पालिकााभित्र हालसम्म एक हजार ९०८ जनामा संक्रमण देखिएको छ । संक्रमितको लागि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा एउटा वार्ड सञ्चालनमा ल्याइएको छ । 

उनका अनुसार नगरपालिका अस्पतालसँगै अन्य अस्पतालमा पनि बिरामीहरू उपचार सेवा लिँदै आएका छन् । ‘अरु अस्पतालसँग पनि हामीले समन्वय गर्दै आएका छौँ । तर वार्ड खाली नभएको जानकारी आएको छ,’ उनले भने, ‘आवश्यकताको आधारमा अरु अस्पतालमा पनि उपचार भइरहेको छ ।’ 

उनका अनुसार संक्रमण नियन्त्रणको लागि पालिकाभित्रका स्वास्थ्य स्वयम् सेविकाहरूलाई अभिमुखीकरण गर्दै आएको छ । ‘यहाँको भित्री र हाइवे नजिकको वस्तीमा डेंगु संक्रमणको जोखिम छ,’ उनले भने, ‘ती क्षेत्रसँगै पालिकाभित्र रहेको डम्पिङ साइटमा चुन छर्ने र पानी जम्ने स्थानमा पोखरी पुर्ने अभियान गर्दै आएको छ ।’ 

दशैं बिदापछि ती कार्यक्रम स्थगित भए पनि पुन: सञ्चालन आउने उनले पालिका खबरलाई बताए । काठमाडौं महानगरपालिकाले डेंगु संक्रमण नियन्त्रणको लागि विद्यालय र समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ । 

महानगरपालिकाका अनुसार सामुदायिक विद्यालयमा विहान प्रार्थना गर्ने समयमा डेंगुबाट बच्ने उपायबारे सचेतना गर्दै आएको छ । 

महानगरको स्वास्थ्य महाशाखा प्रमुख बलराम त्रिपाठीले डेंगुका बिरामीलाई सिटामोल अत्यावश्यक रहेकोले औषधि अभाव नहुनका लागि व्यवस्थापन गर्दै आएको छ । पालिकाभित्रका ५५८ जना महिला स्वास्थ्य स्वयम् सेविकाको सहयोगमा सिटामोल व्यवस्थापन भइरहेको छ ।

उनले रोग पहिचानको लागि महानगरपालिकाले हटलाइन सेवा सञ्चालनमा ल्याएको बताए । उनले भने, ‘आफूलाई शंका लागेमा ११८० नम्बरमा सम्पर्क गर्न सक्नेछन् । फोनबाट लक्षण भनी रोग पत्ता लगाउन सक्नेछन् ।’

उनले पालिकाले आकस्मिक सेवाको लागि एम्बुलेन्स सेवा सञ्चालनमा लयाएको बताए । पालिकाद्धारा सञ्चालित चारवटा स्वास्थ्य क्लिनिकमा निःशुल्क परिक्षणको व्यवस्था गरेको महाशाखा प्रमुख त्रिपाठीले पालिका खबरलाई बताए । 

ललितपुरको महालक्ष्मी नगरपालिकाले डेंगु संक्रमण नियन्त्रणको लागि नेपाल सरकारको निर्देशन अनुरुप काम गर्दै आएको जनाएको छ । पालिकाभित्र रहेका ४५ जना स्वास्थ्यकर्मीलाई डेंगुबारे अभिमुखीकरण गराई स्थानीयलाई सचेतना कार्यक्रम गरिएको पालिकाले जनाएको छ । 

पालिकाको स्वास्थ्य शाखा प्रमुख भरत बोहोराका अनुसार संक्रमितको उपचारको लागि नगरभित्र रहेका स्वास्थ्य संस्थामा पारा सिटामोलको व्यवस्था गरिएको छ । 

‘डेंगुका लागि सिटामोल अत्यावश्यक औषधि हो । समयसमयमा अभाव हुन सक्छ,’ उनले भने, ‘त्यसैले हामीले सिटामोलको व्यवस्था गरेका छौँ ।’ 

उनका अनुसार संक्रमण फैलनबाट रोक्नका लागि जनप्रतिनिधि, स्थानीय राजनीतिक दल र सरोकारवाला निकायको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

उनले भने, ‘डेंगुको परिक्षण गरेका छौँ । निरन्तर रुपमा हामी काम गर्दै आएका छौ ।’ नगर अस्पताल सञ्चालन नभएकोले पालिकाभित्र संक्रमित संख्याको निर्धारण नभएको स्वास्थ्य शाखा प्रमुख बोहोराले बताए ।  ‘हाम्रोमा नगर अस्पताल सञ्चालन भएको छैन,‘ उनले भने, ‘तर छिमेकी पालिकामा सञ्चालन रहेको अस्पतालसँगको समन्वयमा हामीले उपचार गराउँदै आएको छ ।’

सिरहाको गोल बजार नगरपालिकामा डेंगु संक्रमितको संख्या तुलनात्मक रुपमा घट्दै आएको छ । पालिकाको स्वास्थ्य शाखा प्रमुख सरोज कुमार कर्णले नगरभित्र सञ्चालित स्वास्थ्य चौकीमार्फत स्थानीयलाई परामर्श दिँदै आएको बताए । 

केही साताअघि धरान उपमहानगरपाालिकामा डेंगु प्रकोप फैलिए पनि हाल विस्तारै नियन्त्रणमा आएको छ । उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश महताका अनुसार पालिकाभित्र डेंगु नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । 

‘हामीले प्रत्येक शनिबार सरसफाइ कार्यक्रम गर्दै आएका छौँ,’ उनले भने, ‘पानी जम्ने खाल्डो पुर्ने फोहोर थुपार्ने स्थानमा चुन छर्ने काम गर्दै आएका छौँ ।’  

उनले पालिकाभित्र सिटामोलको व्यवस्थापन गर्दै आएको बताए । पालिकामा नगर अस्पताल नभएकोले विपी कोइराला स्वास्थ्य प्रतिस्ठानमार्फत स्थानीयको उपचार भइरहेको उनको भनाइ छ । 

डेंगु संक्रमण घटेको हो । तर नियन्त्रण भएको होइन, उनले भने, केही स्थानमा जोखिम छन् । त्यसैले हामीले लार्भा खोज र नष्ट गर कार्यक्रमलाई सञ्चालन गर्दै आएका छौँ । आफूहरूसँग अरु विकल्प नरहेकोले सोही कार्यक्रमलाई सञ्चालन गर्दै आएको उनले बताए । 

डेंगु एक प्रकारको भाइरल इन्फेक्सन हो । एडिस एजिप्टी नामक लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्दछ । मानिसको भिडभाड हुने, फोहोर थुप्रर्ने र पानी जम्ने स्थानीमा सो लामखुट्टे सक्रिय हुने गर्दछ । 

डेंगु संक्रमित व्यक्तिहरूमा रुघाखोकी, तिव्र ज्वरो आउने, टाउको दुख्ने, आँखा रातो हुने, अनुहार गुलावी हुने, खलखली पसिना आउने, आँखामा दुखाई हुने, जोर्नी दुख्ने, वान्ता आउने जस्ता लक्षणहरू देखिन्छन् ।