close

असक्तलाई घरमै स्वास्थ्य सेवा

असक्तलाई घरमै स्वास्थ्य सेवा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता भएका व्यक्ति)हरूको घरमै स्वास्थ्य सेवा अभियान थालेको छ । उनीहरूलाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनका लागि घर–घरमै स्वास्थ्य सेवा अभियानको सुरुवात गरेको हो ।
  
गाउँपालिकाले प्रत्येक वडामा प्रत्येक महिनाको एक दिन अभियानका रूपमा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता भएका व्यक्ति)घरमै स्वास्थ्य सेवा अभियान सुरुआत गरेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए । मैवाखोला–४ साँघु ओदकबाट ६८ वर्ष उमेर पूरा गरेको ज्येष्ठ नागरिक र ‘क’ र ‘ख’ वर्गका शारीरिक असक्त भएका व्यक्तिका घर–घरमै पुगेर प्राथमिक स्वास्थ्य परीक्षण र स्वास्थ्य परामर्श सेवा सुरु भएको उनले बताए । 

अभियानअन्तर्गत सेवाग्राहीलाई पालिकाले प्राथमिक औषधिले भरिएको एक–एक थान किट बक्ससमेत उपलब्ध गराएको मैवाखोल गाउँपालिकाका प्रवक्ता चन्द्र  तामाङले बताए । स्वास्थ्य परीक्षणमा क्रममा देखिएको स्वास्थ्य समस्याका आधारमा न्यूनतम प्राथमिक औषधिले भरिएको किट बक्स उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

पालिकाभित्र रहेका ६८ वर्ष उमेर पूरा भएका जेष्ठ नागरिक र ‘क’ र ‘ख’ वर्गका शारीरिक असक्त व्यक्तिको तथ्याङ्क  एकीकृत सूची तयार गरेर प्रत्येक महिना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली घर–घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।