close

घरदैलो कार्यक्रममार्फत स्वास्थ्य सेवा अभियान

घरदैलो कार्यक्रममार्फत स्वास्थ्य सेवा अभियान

Trulli
ADVERTISEMENT

कपिलवस्तु । शिवराज नगरपालिकाले घरदैलो कार्यक्रममार्फत स्वास्थ्य सेवा दिने भएको छ । नगरपालिकाले गर्भवती, सुत्केरी र जेष्ठ नागरिकलाई लक्षित गरी घरदैलो कार्यक्रममार्फत् स्वास्थ्य सेवा प्रदान गर्न लागेको हो । 

नगरपालिकाको अनुसार पालिकामा  स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि  निशुल्क एम्बुलेन्सको सेवाका साथै स्मार्ट क्लीनिक सन्चालनको तयारीमा गर्दै आएको छ ।  नगरप्रमुख अजय थापाले प्रत्येक तीन महिलाको फरकमा घरदैलो कार्यक्रममार्फत् स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य कर्मी तथा कर्मचारीलाई निर्देशन दिएको बताए । 

नगरपालिकाको वडा नम्बर ५ चन्द्रौटामा स्मार्ट क्लीनिकको निर्माण भइरहेको भवनमा बैशाख १ गते औपचारिक सेवाको उद्घाटन गर्ने तयारी रहेको नगरप्रमुख थापाले बताए । 

सुविधाजनक भवन र सेवा मार्फत सबै खाले खोप सम्बन्धि कार्य एकै स्थानबाट गर्न थालिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताए । उनका अनुसार मुलुकको नमुना क्लिनिक निर्माण गर्ने अभियान सञ्चालन गर्दै आएको छ । 

राज्यले उपलब्ध गराएका सबैखाले उमेर समूहका व्यक्तिलाई दिइने खोप एकै ठाउँबाट व्यवस्थित ढंगले सेवा प्रदान गर्न थालिएको भट्टराईले बताए ।

यस्तै शिवराज आधारभूत हस्पिटलबाट चौविसै घण्टा सेवा दिने तयारीमा शिवराज छ । हस्पिटलमा आवश्यक जनशक्ति परिपूर्तिका लागि विज्ञापन खुलाइएको छ । आगामी आर्थिक बर्ष देखि एमडी चिकित्सकसहित हस्पिटलबाट नगरबासीलाई सेवा दिने तयारी रहेको नगर प्रमुख थापाले बताए ।

साथै स्वास्थ्य बीमा कार्यक्रमलाई समेत आगामी आवबाट थप प्रभावकारी बनाउने योजनामा आफूहरु रहेको उनले जनाए ।

नगरमा रहेका स्वास्थ्य संस्थाको सुदृढिकरण र सेवा प्रवाहलाई व्यवस्थित बनाउनका लागि एक चरणको छलफल सकेर योजना निर्माण थालिएको नगर प्रमुख थापाले बताए ।

थापाले शुक्रबार स्वास्थ्य क्षेत्रमा काम गर्ने मुख्य व्यक्तिलाई नगरमा बोलाएर छलफल गरेका थिए । आफ्नो मुख्य प्राथमिकतामा स्वास्थ्य क्षेत्र पनि परेको बताउँदै यसलाई कसरी प्रभावकारी र जनमुखी सेवा प्रदान गर्न सकिन्छ भनेर सम्बन्धित शाखाका कर्मचारीसंग नगर प्रमुख थापाले राय मागेका थिए ।

नगर प्रमुख थापाले मावि तहसम्मको निशुल्क शिक्षा , स्वास्थ्य सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने लक्ष्य लिएका छन् । हाल पालिकामा ९० जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।