close

गर्भ परीक्षण नै गराउँदैनन् राउटे महिला

अस्पतालमा बच्चा जन्माउन हुन्न भन्ने मानसिकता

गर्भ परीक्षण नै गराउँदैनन् राउटे महिला

अस्पतालमा बच्चा जन्माउन हुन्न भन्ने मानसिकता

Trulli
ADVERTISEMENT

दैलेख  । राउटे समुुदायकी १७ वर्षीया बाङ्गे शाही दोस्रो पटक चार महिने गर्भवती छिन् । १३ वर्षको उमेरमा विवाह गरेकी उनी १६ वर्षमा पहिलोपटक गर्भवती भइन् तर गर्भपतन भयो । तर, गर्भ जाँचका लागि उनी कहिल्यै स्वास्थ्य संस्थामा पुगिनन् । 

४२ वर्षीया फुल्लेरी शाही गर्भवती भएको सात महिना भयो । तीन वटा सन्तानकी आमा फुल्लेरीले सबै सन्तान घरमै जन्माइन्। उनी यो सन्तान पनि अस्पतालमा जन्माउने सोचमा छैनन्। 

बाङ्गे र फुल्लेरी जस्तै राउटे समुदायमा कुनैपनि महिलाले गर्भावस्थामा स्वास्थ्य संस्थामा परिक्षण गराउन जादैँनन् । राउटे समुदायका महिला कहिल्यै गर्भ जाँच नगराउने राउटे परियोजनामा कार्यरत जोडी शिक्षक दुर्गा खत्री बताउँछन्। 

यस समुदायका महिला गर्भ जाँच गर्न नमान्ने गरेको उनको भनाइ छ। ‘स्वास्थ्य संस्थामा गएमा सुई लगाउँछन् भनेर डराउँछन्’, उनले भने ‘हाम्रो पुर्खाले घरमै बच्चा जन्माए । हामी पनि अस्पतालमा बच्चा जन्माउन नजाने मानसिकता उनीहरुको छ ।’

 राउटे समुदाय घरभन्दा टाढा लगेर बच्चा जन्माउने गर्छन्। कुना काप्चा, खोलाखोल्सी वा कसैले नदेख्ने ठाउँमा महिलालाई सुत्केरी गराउँछन् । यो समुदायमा महिलालाई बस्तीबाट पाँच सात मिटर पर लिएर जन्माउने चलन रहेको जोडी शिक्षक लाल बहादुर खत्रीले बताए।

 
उनका अनुसार अन्य सामान्यतः बच्चा जन्मने बित्तिकै आमाको दुध चुसाइन्छ। तर, राउटे समुदायले नवजात शिशुलाई जन्मने बित्तिकै पुरै समुदाय र घरघरमा डुलाएपछी मात्र दुध चुसाउँछन्। उनले भने ‘बच्चाको सरसफाई नगरी समुदायमा डुलाउँदा बच्चालाई चिसो भएर शरीर सुनिने गर्छ ।’


बस्तीमा काम गर्ने व्यक्तिलाई कोही सुत्केरी भएको बेलामा प्रवेश गर्न समेत नदिने उनले बताए। उनले भने ‘अहिले व्यथा लागेको समयमा बस्तीसम्म प्रवेश गर्न दिन्छन् तर, बच्चा जन्माउने ठाउँमा जान दिदैँनन् ।’

स्वास्थ्य संस्था नजाँदा जोखिममा आमा र बच्चा 

नेपाल सरकारको नियमअनुसार गर्भावस्थामा कम्तिमा आठ पटक गर्भ जाँच गराउनुपर्छ । तर, राउटे समुदायका महिलाहरुले स्वास्थ्य संस्थाको अनुहार नै हेर्दैनन् । 

गर्भवती अवस्थामा स्वास्थ्य संस्था किन जानुहुँदैन? भन्ने प्रश्नमा राउटे समुदायकी फुल्लेरी शाही भन्छिन्, ‘हाम्रो पुर्खाले घरमै बच्चा जन्माए । हामी पनि घरमै जन्माउछौँ । स्वास्थ संस्थामा सुई लगाउँछन् ।’ 

त्यस्तै समुदायकै ४२ वर्षीया गमला शाही पनि स्वास्थ्य संस्था जान सहमत छैनन्। सुत्केरी व्यथा लागेको कसैले दुइ/तीन घण्टामा बच्चा जन्मिने उनी बताउँछिन्। ‘कसैलाई बिहानबाट साँझसम्म व्यथा लागेर बच्चा जन्माउँछन्’ उनले भनिन् । 

‘बच्चाको नाभी के ले काट्नुहुन्छ?’ को जवाफमा बच्चा जन्मिसकेपछि नाभी चक्कु लगायत घरेलु हतियारले काट्ने गरेको उनले बताइन्। 
सानै उमेरमा विवाह गर्ने चलन रहेको राउटे समुदायमा परिवार नियोजन सम्बन्धी ज्ञान पनि छैन। कलिलो उमेरमा गर्भधारण गर्दा महिलाको पाठेघर, मानसिक, शारीरिक विकास राम्रोसँग भएको हुँदैन ।

शारीरिक तथा मानसिक रुपमा परिपक्व नभएका कारण उनीहरुमा एनेमिया(रक्तअल्पता), रगतको कमी हुने, संक्रमण बढी हुने, बच्चा जन्मिने बेला लामो समयसम्म व्यथा लाग्ने, रगत धेरै बग्ने लगायतका समस्या हुन सक्ने कर्णाली केयर अस्पताल सुर्खेतमा कार्यरत प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा सजिप्ता पन्त बताउँछिन्। 

यस्ता समस्याको जानकारी पाउन स्वास्थ्य संस्थामा पुगेर निरन्तर गर्भ जाँच गर्नु आवश्यक रहेको उनको भनाइ छ । उनी भन्छिन्, ‘स्वास्थ्य संस्थामा गएमा सानो उमेरमा गर्भवती हुनुहुँदैन भनेर चेतना हुन्थ्यो । तर, उनीहरु अस्पताल नै नगइ कसरी जान्छन् यी सब कुराहरु?’ 

गर्भवती भएको अवस्थामा स्वास्थ्य संस्था पुगे पाठेघरमा केही समस्या छ की भनेर जाँच गराउनुपर्ने डा पन्तको भनाइ छ । ‘थाइराइड, सुगर वा अन्य कुनै शारीरिक मानसिक रोगका कारणले गर्दा आमा र बच्चा दुबैको स्वास्थ्यलाई खतरा हुन्छ। जाँच गर्दा यस्ता समस्या भएको पाइएमा त्यही अनुसार औषधी उपचार गर्नुपर्छ,’ उनले भनिन्, ‘गर्भमा रहेको बच्चाको तौल कति छ ? पानीको मात्र कस्तो छ ? बच्चा उल्टो वा सुल्टो पल्टेको छ ? त्यो स्वास्थ्य संस्थामा जाँच गराएर मात्र थाहा हुने कुरा हाे ।'


उनको अनुसार सुत्केरी व्यथा लागेको समयमा बच्चा उल्टो वा तेर्सो बसेको अवस्थामा लामो समयसम्म व्यथा लाग्छ। यतिमात्र नभइ बच्चा जन्मिन नसक्ने, पाठेघर फुट्ने हुनसक्ने उनले बताइन्। 

उनी भन्छिन्, ‘राउटे समुदायमा लामो समयसम्म व्यथा लागेर बच्चा नजन्मिएको अवस्थामा खुट्टा मात्र बाहिर निस्केछ भने बच्चा तान्दिने हुन्छ । जस्ले गर्दा बच्चाको ज्यान जान सक्ने, पाठेघर फुट्ने, धेरै रगत बग्ने समस्या बढी हुन्छन् ।’

नौ महिनासम्म गर्भजाँच गर्न जाँदा दुइवटा डोज टिटानसको सुइ लगाइने र यसले गर्भवती अवस्थामा बच्चालाई टिटानसको रोगबाट बचाउने उनले बताइन्। स्वास्थ्य संस्थाले प्रदान गर्ने आइरन क्याल्सियम चक्किले आमाको शरीरमा रगतको कमी हुन नदिने र बच्चाको हड्डिको विकासका लागि सहयोग पु¥याउने पन्तले जानकारी दिइन्। 


राउटे समुदायमा स्वास्थ्य संस्थामा जाने परम्परा नरहेको र स्वास्थ्य संस्था समुदाउको पहुँचमा नभएको सोसेक नेपालका कार्यकारी निर्देशक हीरा सिंह थापा बताउँछन्। उनले भने, ‘ राउटेहरु महिना र समयअनुसार बस्ती सार्ने काम गरिरहने हुँदा पनि स्वास्थ्य संस्था नजिक हुँदैनन् ।राउटे समुदायका गर्भवती महिलाहरुका लागि संस्थाले एकजना अनमी नै नियुक्त गरेको उनको भनाई छ।