close

लोप हुने अवस्थामा परम्परागत ‘बगनासे साँचो’

लोप हुने अवस्थामा परम्परागत ‘बगनासे साँचो’

Trulli
ADVERTISEMENT

पाल्पा । गनासकाली ९ चापपानीका टेकबहादुर विश्वकर्माले स्थानीय सामग्रीको प्रयोग गरेर साँचो (ताल्चा) बनाउन लागेको ५० वर्ष भयो । बगनासडाडाँका ८र१० घर परिवारले लामो समयदेखि साँचो बनाउँदै आएका छन् । 

विश्वकर्माका हजुरबुबादेखिको यो पेसा ७४ वर्षीय टेकबहादुर एक्लैले यो पेशा धान्दै आएका छन् । 'पहिला त सबैका घरमा बगनासे साँचो हुन्थे, विदेशसम्म जान्थ्यो', उनले भने, 'बहुदल आएसँगै सबै सामान विदेशबाट आउन थाले हामीले बनाएका साँचो बिक्री हुन छाडे ।'

फलाम, पाइन, स्वाग र पित्तलको मिश्रणबाट स्थानीय औजारको प्रयोग गरी यो साँचो बनाइन्छ । स्थानीय आरनमा फलाम तताएर पिटेपछि निश्चित् आकारमा साँचो बनाइने विश्वकर्माको भनाइ छ । 

घरको ढोका, बाकस, दराज लगायतमा लगाइने साँचो बजारमा पाइने अन्य साँचोको तुलनामा बलियो मानिन्छ । यो आधुनिकभन्दा केही ठूलो आकारको पनि हुन्छ । 

यस क्षेत्रमा २०१० सालबाट साँचो उत्पादन हुने गरेको इतिहास भेटिन्छ । स्थानीय चन्द्रवीर विश्वकर्मा लगायतले बगनासे साँचोको सुरुआत गरेका थिए । 

पुस्ता हस्तान्तरण एवं संरक्षणको अभावले गर्दा अहिले लोपन्मुख हुने अवस्था पुगेको उनीहरुको भनाइ छ । बजारमा आधुनिक साँचो आउनु अगाडि प्रचुर मात्रामा बगनासे साँचोको विक्री वितरण हुने गरेपनि पछिल्लो समयमा अन्य देशबाट आएका आयातित साँचोले गर्दा माग घटेको उनको अनुभव छ ।

'उमेर छँदा एकै दिनमा तीन वटासम्म बनाउन सकिन्थ्यो', उनले भने, 'अहिले मुस्किलले एक दिनमा एउटा तयार गर्छु ।' यहाँका ८÷१० घरमा स्थानीय आरन थिए । दैनिक ३० देखि ५० साँचो उत्पादन हुनेगर्दथे । 

जिल्लाका बराङ्ग्दी, खानिगाउँ, चापपानी, यम्घा, दर्लमदेीख जिल्ला बाहिरसम्म साँचो निर्यात हुने स्थानीय रवीलाल विश्वकर्माको भनाइ छ । साँचोको उत्पादनमा निरन्तरताका लागि यहाँको बगनासकाली गाउँपालिकाले सामान्य पहल गरे पनि त्यो पर्याप्त नभएको उनीहरुको भनाइ छ । 

गाउँपालिका अध्यक्ष सरस्वती चिदीले पालिकाका सबै सरकारी कार्यालयले अनिवार्य प्रयोग गर्नुपर्ने नियम बसालिएको बताए । चिदीका अनुसार गाउँपालिकाले उत्पादन लागत घटाउन ग्रेण्डर, वेल्डिङ मेसिन, घनलगायतका सामग्री सहयोग गरेको छ । 

नयाँ प्रविधिको प्रयोगबाट लागत मूल्य घटाउन र बजारीकरणमा ध्यान दिन स्थानीय तहको ध्यान जान नसकेको स्थानीयवासीको भनाइ छ । पाल्पामा परम्परागत सीप र प्रविधिको प्रयोगबाट पाल्पाली करुवा, माटाका भाँडा, फलामका औजार उत्पादन हुदै आएका छन् ।