close

काठमाडौँका फुटपाथ : व्यापारी लखेटिँदा सवारीसाधनको रजाइँ

काठमाडौँका फुटपाथ : व्यापारी लखेटिँदा सवारीसाधनको रजाइँ

Trulli
ADVERTISEMENT

काठमाडौंँ। काठमाडौँ महानगरले केही स्थानका फुटपाथबाट पसल हटाएको छ । तर, फुटपाथबाट व्यापारीको अतिक्रमण हटेसँगै सवारी साधनको अघोषित पार्किङस्थल बन्न थालेको  छ । जसका कारण पैदलयात्रुको सहज आवत जावतमा देखिने समस्या यथावत् नै छ।  

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले पछिल्लो ८ वर्षमा जथाभावी पार्किङ गर्ने २ लाख ३६ हजार ६९९ वटा सवारीधनीलाई कारबाही गरेको छ । आव २०७८/७९ मा मात्रै ४१ हजार ९०५ सवारीसाधन जथाभावी पार्किङका कारण कारबाहीमा परेका छन् । जुन एक दिनमा औसत ११५सवारीसाधन हुन्छ । तर, पार्किङस्थान नहुँदा सवारी साधनधनीलाई पनि समस्या नै छ । 

ट्राफिक प्रहरी र नगरपालिकाको समन्वयमा फुटपाथमा पार्किङ गरिएका सवारीसाधनलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्ट बताउँछन् । तर, महानगरले भाडामा लगाएका पार्किङको चर्को शुल्क अनि भनेको बेला पार्किङ नै नपाइने समस्यामा परेका सवारीधनीको कुरा सुन्ने निकाय भने छैन जस्तै छ ।

सडकमा पार्किङले दुर्घटनाको जोखिम उच्च बनाउने एसएसपी भट्ट बताउँछन् । ‘सडकमा पार्किङ गर्दा गाडी हिड्ने ठाउँ थोरै हुन्छ । त्यसले गर्दा दुर्घटनाको सम्भावना बढी हुन्छ  । फुटपाथमा पार्किङ गर्दा पैदलयात्रीलाई अवरोध हुन्छ । पैदलयात्री सडकमा हिँड्दा झन जोखिम बढ्छ,’ भट्ट भन्छन् ।   

जथाभावी पार्किङले दुर्घटना बढाउने मात्र होइन सहरलाई पनि असभ्य देखाउँछ । काठमाडौंमा पार्किङको समस्या नयाँ हैन । व्यवस्थित र पर्याप्त पार्किङ सुविधा नहुँदा सर्वसाधरणले दु:ख भोगिरहेका प्रहरीको बुझाइ छ । फुटपाथमा सवारी पार्किङ गरिएको विषयमा ध्यानाकर्षण भएको काठमाडौँ महानगरपालिकाका सार्वजनिक विकास निर्माणका निर्देशक रामबहादुर थापाले बताए । 

सार्वजनिक सडकमा पार्किङ क्षेत्र नै छैनन् । केही सडकमा पार्किङस्थल बनाउने विषयमा नगरपालिकाले अध्ययन गरिरहेको उनले बताए । ‘गाडी गुड्नुपर्ने सडकमा नै पार्किङ गर्नुपर्ने बाध्यता छ । यस विषयमा महानगरको ध्यानाकर्षण भएको छ । सडकमा रहेका पार्किङलाई समेत निजी र सरकारी भवनको पार्किङ स्थलमा सार्ने योजना महानगरपालिकाको छ ,’ उनले पालिकाखबरसँग भने । 

काठमाडौँमा पार्किङको समस्या समाधान गर्न महानगरपालिकाले काम गरिरहेको उनी बताउँछन् । ‘न्युरोड, दरबारमार्ग क्षेत्रमा स्मार्ट पार्किङ  सञ्चालनमा छ । अन्य क्षेत्रमा पार्किङको सम्भावनाको बारेमा अध्ययन गर्ने तयारीमा छौँ,’ उनले भने, ‘बबरमहलका सरकारी कार्यालय, ठूलाठूला रेष्टुरेण्टहरूमा पब्लिक पार्किङको व्यवस्था मिलाउने काम सुरु भइसकेको छ ।’

यस आर्थिक वर्ष २०७९/८० मा पार्किङ शुल्कबाट १० करोड आम्दानी हुने अनुमान महानगरपालिकाको छ । महानगरपालिकाबाट सञ्चालित स्मार्ट पार्किङको राजश्वबाट उक्त आम्दानी हुने महानगरपालिकाले अनुमान गरेको हो । तर, महानगरले भाडामा लगाएका पार्किङहरुको शुल्क अचाक्ली रहेको सवारीधनीहरुको गुनासो छ ।  

‘निजी तथा सरकारी भवन, आपार्टमेन्टका अण्डरग्राउण्डमा पार्किङ गर्ने स्वीकृति दिइएका छन् । ति पार्किङ प्रयोगमा आएपछि फुटपाथमा पार्किङ भएर पैदलयात्रीले भोगेको समस्या समाधान हुन्छ,’ निर्देशक थापाले भने । 

पार्किङ उपलब्ध गराउने भवनलाई करमा सहुलियत दिने महानगरले बताएको छ । पार्किङको लागि नै भवन बनाएमा भवन निर्माणको मापदण्ड, नक्सापासमा समेत सहुलियत दिइएको छ । जग्गा भाडामा लिएर पार्किङ स्थल बनाई व्यवसाय बनाउन चाहनेलाई पनि सहयोग महानगरले प्रदान गर्ने उनले बताए  । 

निजी क्षेत्रबाट सञ्चालनमा आएका पार्किङ स्थलको दर्ता वडामा हुने भएकाले नगरपालिकासँग कति पार्किङ स्थल छन् भन्ने विवरण छैन । पार्किङ गरेबापत कति रकम लिने भन्ने प्रावधान नगरपालिकाले बनाएको छैन । महानगरपालिकाले कर मात्र उठाउने गरेको निर्देशक थापाले बताए । त्यसैले निजी क्षेत्रबाट सञ्चालित पार्किङमा जथाभावी शुल्क असुल्ने समस्या यथावत्  रहने सम्भावना रहन्छ नै । 

हाल सवारी पार्किङको समस्या हटाउन निजी भवनमा भएका पार्किङलाई सार्वजनिक रुपमा प्रयोगमा ल्याउन सूचना जारी गरिएको छ । सूचना जारी भएको ३५ दिन भित्रमा निजी भवन पार्किङका लागि उपलब्ध गराउन महानगरले आग्रह गरेको छ । 

यस्तै मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि बानेश्वरको फुटपाथको अवलोकन गर्दै अण्डरग्राउण्डमा रहेका पसल हटाउन निर्देशन दिएका थिए ।