close

पृथ्वीराजमार्ग विस्तार : ४ हजारभन्दा बढी रुख काटियो, अझै काटिने

पृथ्वीराजमार्ग विस्तार : ४ हजारभन्दा बढी रुख काटियो, अझै काटिने

Trulli
ADVERTISEMENT

तनहुँ । पृथ्वी राजमार्ग विस्तारलाई तीव्र बनाउन ४ सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिङ–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका ४ हजार २०५ रुख कटान गरिसकेको छ ।

आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उनले बताए।  “सबै रुख नकाटिन पनि सक्छन्”, उनले भने, “काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने रुख बचाउनेतर्फ आयोजनाले योजना बनाएको छ ।”

सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बनेका छन् । उक्त सडक खण्डमा २ हजार ४ सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनु पर्ने उनको भनाइ छ। सडक विस्तारका क्रममा सडकका दायाँबायाँ रहेका घर गोठ भत्काउन साढे आठ करोड क्षतिपूर्ति वितरण गरिसकेको ढकालले जानकारी दिए ।

व्यक्तिगत संरचना ७६७ र हाउसहोल्ड ८१० वटा भत्काइएका छन् । आइपिएसमार्फत क्षतिपूर्ति रकम भुक्तानी गरिएको छ । उनले भने, “आर्थिक पारदर्शिताका लागि आयोजनाले उक्त प्रणाली अपनाएको हो ।” जग्गाधनी पुर्जा भएका र नभएकाबीच कुनै विभेद नगरी क्षतिपूर्ति दिइने योजना बनाइएको ढकालले बताए। क्षति भएका व्यक्तिलाई पुनर्वास योजनामा राखी आयमूलकतर्फ केन्द्रित गरिने उनको भनाइ छ । 

आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासीलगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने योजना रहेको ढकालले जानकारी दिए।