close

चौतारी संरक्षण गर्न जुट्दै बेनी नगरपालिका

चौतारी संरक्षण गर्न जुट्दै बेनी नगरपालिका

Trulli
ADVERTISEMENT

म्याग्दी । बेनी नगरपालिकाले चौतारीको संरक्षण  गर्न  थालेको छ । नगरपालिकाले वडा नम्बर ७ को पहलमा पालिकामा रहेका चौतारीको संरक्षण कार्य सुरु भएको हो । 

दुई दशक अघिसम्म भरिया र बटुवाले भरिभराउ हुने चौतारी संरक्षणको अभावले पछिल्लो समय सुनसान बन्दै गएको थियो । कुनै समय गाउँघरमा भेला, बैठक, कचहरी, सभा चौतारीमै बस्ने गरेको स्थानीयहरुले बताए ।  

धर्मका लागि चौतारी चिन्ने, वर र पीपलका रुख रोप्ने, पानी धारा बनाउने, पोखरी खन्ने चलन थियो । सडक यातायातको विकास र समाजमा आएको परिवर्तनसँगै चौताराको प्रयोग घटेको छ । सार्वजनिक जग्गा जमिन र खाली ठाउँ नभएको म्याग्दी सदरमुकाम बेनी बजारमा रहेका परम्परागत चौतारीलाई संरक्षण र व्यवस्थित गर्न जनप्रतिनिधिले चासो दिएका छन् । बेनी नगरपालिका–७ मा पर्ने चौतारीको संरक्षण थालिएको छ । 

वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बजारवासीलाई शीतलता र बटुवालाई विश्रामका लागि पुराना चौतारीलाई व्यवस्थित गरेर प्रतीक्षालयमा रुपान्तरण गर्न थालिएको बताए । 'अहिलेका प्रतीक्षालयजस्तै पहिलेका चौतारीको महत्व छ', उनले भने, 'धार्मिक, जैविक विविधताको संरक्षण र विश्रामको सुविधाका लागि जीर्ण चौतारीको पुनःनिर्माण गर्न थालेका हौँ ।'  

बेनी नगरपालिकाको वडा नम्बर ७ मा १८ वटा चौतारी र एक वटा पोखरी छन् । चौतारी मर्मतका लागि चालु आर्थिक वर्ष २०७९/८० मा बेनी नगरपालिकाले रु चार लाख ५० हजार विनियोजन गरेको छ । सो बजेटबाट नगरपालिकाको प्रवेशद्वार, बेनी सामुदायिक र जिल्ला प्रशासन कार्यालय अगाडिको चौतारी संरक्षण गर्न थालिएको छ । 

गत आवमा विनियोजन भएको रु एक लाख २७ हजार बजेटबाट मालपोत कार्यालय अगाडिको चौतारी मर्मत गरिएको थियो । सो चौतारीको नजिकै बेनी बजार अवस्थित बेनी नगरपालिकाको ७ र ८ नम्बरबाहेकका वडाको पहिचान झल्कने होडिङ बोर्ड राख्ने तयारी भएको छ । 

पीपलको रुखको फेदीमा पूजा गर्न र बत्ती बाल्न सहज होस् भनेर पालासमेत राखिएको छ । नगरपालिकाको प्रवेशद्वारअघिको चौतारीसँगै म्याग्दीका छ वटा स्थानीय तहको पहिचान झल्कने होडिङ बोर्ड राख्न लागिएको वडाध्यक्ष श्रेष्ठले बताए । होडिङ बोर्डबाट म्याग्दी जिल्लाको प्रचारप्रसारमा सहयोग पुग्ने उनको भनाइ छ ।  

चौतारी बनाएका दातासँग समन्वय गरेर मर्मत थालिएको हो । परम्परागत समाजमा धर्म र पुण्यका लागि चौतारा बनाउने चलन थियो । त्यसबेला बनाएका पोखरी अहिले झाडीमा परिणत भएका छन् । फेरिएको परिवेशमा चौतारीलाई विश्रामस्थल, प्रतीक्षालय र धार्मिकस्थलको रुपमा विकास गराउने योजना रहेको वडाध्यक्ष श्रेष्ठले बताए । चौतारीसँगै पूजा गर्ने ठाउँ बनाएमा मानिसले फोहोर नगर्ने र सरसफाइ कायम गर्न सकिने उनले बताए।